मानव इतिहासको दिशा परिवर्तन

मानव इतिहासको दिशा परिवर्तन

हामीले भन्दै–सुन्दै आएका हाम्रा उत्पत्तिका कथा सत्य होइनन्। सामाजिक असमानतालाई मूर्तरूप दिनबाहेक यिनको भूमिका अरू केहीमा छैन। कृषि क्रान्तिबारे सुनिँदै आएका मिथ किन यथावत् रहे भनी ग्रेबर र वेंग्रो प्रश्न गर्छन्। र बहस गर्छन्— हामीले हाम्रा पुर्खाबाट अझ धेरै सिक्न बाँकी छ।


शाब्दिक सूत्रपात

कैयौं शताब्दीसम्म सामाजिक असमानताको उत्पत्तिका सामान्य कथा हामीले सुन्दै र सुनाउँदै आयौं। इतिहास हेर्ने हो भने लामो समय मान्छे ‘हन्टर–ग्यादरर’का साना तर समतावादी झुण्डमा बाँच्यो। त्यसपछि आयो कृषि। साथैमा आयो निजी सम्पत्तिको अवधारणा। अनि, बन्दै गए सहर र हँदै गयो सभ्यताको उदय। सभ्यता अर्थात् युद्ध, कर, प्रशासन, पितृसत्ता, गुलामी। त्यसका साथै साहित्य, विज्ञान, दर्शनलगायतका उपलब्धि पनि।

यो कथा मोटामोटी सबैलाई थाहा छ। मानव इतिहासको आकार र दिशा कस्तो हुनुपर्छ भनी रुसोका पालादेखि धेरैले राम्ररी थाहा पाउँदै गए। राजनीतिक सम्भावनाको हाम्रो बुझाइबारे बताउने भएकाले पनि यो सिद्धान्त महत्त्वपूर्ण छ। सभ्यतासँगै आउने असमानतालाई धेरैले एक दुःखद आवश्यकताका रूपमा हेर्छन्। केही आदर्शमा मात्र सीमित आनन्दको कल्पना गर्छन्— आदिम साम्यवादको औद्योगिक स्वरूपदेखि लिएर आदिम मानव बन्नेसम्मका कल्पना। तर, कथाको आधारभूत संरचनालाई चुनौती दिनेतर्फ कोही ध्यान दिँदैन।

समस्या त्यहीँ छ। किनभने ती सबै सत्य होइनन्।

४० हजार वर्षको मानव इतिहासलाई हामी कसरी हेर्छौं तर यो खासमा कस्तो देखिन्छ भनी पुरातात्त्विक तथा मानवशास्त्रीय प्रमाण केलाई तुलना गर्न सकिन्छ। वास्तवमा हाम्रो प्रजाति साना झुण्डमा बसेन, सामाजिक क्रान्तिका लागि कृषिको ठूलो भूमिका छैन र सुरुमा बसेका सहर मुख्यतः समतावादी थिए। थुप्रै अध्येता–अनुसन्धानकर्ता यी निष्कर्षमा पुगे पनि तथ्य सार्वजनिक गर्न भने अधिकांश इच्छुक देखिएनन्। त्यसैले सामाजिक असमानताको उत्पत्तिबारे रुसोको प्रश्नलाई नै ज्यारेड डाइमन्ड, फ्रान्सिस फुकुयामा, इयान मोरिसलगायतले आफ्ना अध्ययनको सुरुआत बिन्दु बनाएका छन्।

प्रश्नलाई यस्तो ढाँचामा ढाल्दा यहाँ केही सम्भावना रहन जान्छन्। पहिलो, समाजमा असमानता विद्यमान छ। दोस्रो, असमानता समस्या हो। र तेस्रो, समाजमा असमानता नभएको कुनै समय थियो।

२००८ को वित्तीय दुर्घटना र त्यसले निम्त्याएको उथलपुथलपछि सामाजिक असमानतालाई राजनीतिक विमर्शका विषयका रूपमा हेर्न थालियो। असमानताका विषय नियन्त्रणबाहिर गइसकेको र संसारमा आइपर्ने अधिकांश समस्या यिनैले निम्त्याउने गरेको निष्कर्षमा बौद्धिक तथा राजनीतिक समूह पुगे। शक्ति संरचनाका लागि यो ठूलो समस्याका रूपमा देखा परेको छ।

‘समानता’ शब्दको सुरुआत नै सम्झौता वा समन्वय भनी बुझाउन भएको हो। राज्यबाट पुँजीवाद उन्मूलन हुनसक्ला, तर असमानताको उन्मूलनबारे कल्पना पनि गर्न सकिँदैन। किनभने सबै मान्छे एकनाश छैनन् र होऊन् भन्ने इच्छा पनि राख्न सकिँदैन।

प्रौद्योगिक दृष्टिले हेर्ने हो भने सामाजिक समस्यालाई ढाँचाबद्ध गर्ने तरिका नै असमानता हो। सामाजिक रूपान्तरणको वास्तविक दर्शनमा लामो समयदेखि राजनीतिक विमर्श नभएको दर्साउँछन् प्रौद्यिगिक सुधारकहरू। तथ्यांकसँग छेडखानी, गिनी गुणांक र यसका गुण–दोष, कर समायोजन तथा समाज कल्याण संयन्त्रसम्बन्धी कार्य गर्ने मात्र होइन, समाजका सबै पाटाले अधोगति लिँदैछन् भनी त्रास पैदा गर्नसम्म अनुमति दिन्छ प्रौद्योगिकीकरणले। न असमानताका अवयवलाई सम्बोधन गर्छन्, न त त्यसको सम्भावित परिणामलाई।

समाज संरचनामा पुँजीलाई शक्तिमा परिणत गर्नसक्नेदेखि लिएर निरर्थक रुचि राख्ने भनिएकासम्मको भूमिका छ। पछिल्लो वर्गलाई तिनको जीवनको कुनै मूल्य नरहेको भान गराइन्छ। यही हो असमानताको प्रभाव। ठूला, जटिल तथा प्राविधिक हिसाबले परिस्कृत समाजमा बस्दाका प्रभाव। निर्दोषताको काल्पनिक युगले निम्त्याएको अन्त्यहीन आक्रमणले दिने राजनीतिक सन्देश यही हो। अस्थायी समाधानका केही उपाय भए पनि यसको दीर्घकालीन समाधान हो— पुनः साना झुण्ड निर्माण गरी उही आदिम संरचनामा फर्किनु।

निराशाको यो भाव सुदृढ पार्न मूलधारमा समाज विज्ञानका विभिन्न आयाम परिचालित छन्। महिनैपिच्छे प्रकाशित हुने अनेकौं लेखले सम्पत्ति वितरणसँग वर्तमान समाजको आशक्ति र सोही वितरणको ढुंगे युगसँगको सम्बन्ध र समतावादी समाजमा यी सबको महत्त्वबारे भ्रामक विश्लेषणलाई स्थान दिइरहेका छन्।

यस लेखका दुई प्रयोजन छन्। पहिलो, सन् १७६० तिर फ्रान्स र स्कटल्यान्डका विद्वान्हरूले आफ्ना विचारलाई तथ्यका रूपमा स्थापित गरे भनी देखाउनु। दोस्रो, नितान्त भिन्न तरिकाले यस विषयको विश्लेषण गर्नु।

प्रश्न जटिल छन्, मुद्दा प्रभावशाली छन्। सटिक विश्लेषण गरी नयाँ तथ्य स्थापना गर्न वर्षौं लाग्ला। तर, यसको अर्थ आदिम अबोधपन वकालत गर्दै मानव मुक्तिको बाटो समातेको भने पक्कै होइन। यस्तै वैचारिक हत्कडीलाई अस्वीकार गर्दै वास्तविकता आत्मसात् गर्ने हो भने मानव इतिहासका पाटा रोचक लाग्दै जान्छन्।

रुसोको पुनरागमन

सिकार र कन्दमूलका भरमा बाँच्ने आदिम मानवका लागि विपत्को एउटै समाधान थियो— भाग्नु। मानवताले बामे सर्दै गरेको त्यो समय जोखिम मात्र होइन, सम्भावनाले समेत भरिएको थियो। अस्तित्वको खोजी जारी थियो तर प्रभुत्वको लालच कसैमा थिएन, कम्तीमा देखिने गरी। १८औं शताब्दीमा ‘स्टेट अफ द नेचर’मा रुसोले यही कुरा स्पष्ट पारे।

जात, वर्ग, वंशानुगत नेता, केन्द्रीय सरकार नभएका ती समाज नै वास्तविक समाज थिए। तर त्यो सौहार्दपूर्ण समाजको अन्त्य हिमयुगको उत्तराद्र्धतिर भयो।

कृषिको सुरुआत भयो। क्षेत्रीय लगाव र निजी स्वामित्वको महत्त्व बढ्दै गयो। कृषिले खानाको समस्या मात्र समाधान गरेन, हातहतियारका लागि चाहिने कच्चा पदार्थ उत्पादनमा समेत टेवा पुर्‍यायो। कृषिको स्तरोन्नति त भयो तर त्यससँगै समाजमा जरो गाड्यो असमानताले।

समयक्रममा सहर बन्दै गए, कन्द्रिीकरणको अवधारणा मौलाउँदै गयो। सेवाहरूको सहज प्रवाह सुनिश्चित गर्नका लागि कार्यालयीय शैलीमा आफूलाई ढाल्दै जाने वर्गको सुरुआत भयो। कुनै समय प्रत्येक सामाजिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने महिलाको धरातल घरमै सीमित भयो। युद्धबन्धक दास बनाइए। असमानताको विकल्प देखिन छाड्यो।

तर पनि भन्नेले भन्छन्, सहरी सभ्यताको उदयका सबै पाटा खराब छैनन्। राज्यखाता राख्नका लागि लेखनको सुरुआत भयो। विज्ञान, प्रविधि, कला मौलाउँदै गए। त्यसैमा हामी रमायौं।

‘द ओरिजिन्स अफ पोलिटिकल अर्डर : फ्रम प्रिह्युमन टाइम्स टु द प्रेन्च रिभुल्युसन’मा फ्रान्सिस फुकुयामा लेख्छन्— प्रारम्भिक चरणमा मानव राजनीतिक संगठन र चिम्पान्जीको समूहमा खासै फरक थिएन... राजनीतिक असमानताको उत्पत्ति कृषिको विकासमा रहेको औंल्याउने रुसो धेरै हदसम्म सही थिए... पूर्वकृषिकालीन समाजमा आफ्नो भनेर चिनाउन सकिने सम्पत्ति कसैसँग थिएन। त्यसैले अतिक्रमण हँदा बसाइँसराइको विकल्प हुन्थेन... कुनै व्यक्तिमा निहित नेतृत्वशक्ति, बुद्धिमत्ताजस्ता गुण एकबाट अर्कोमा सर्दै जान्छन्।

त्यस्ता आदिम समूह नभएका भए सामाजिक समानताको आवश्यकताबोध गर्न नसकिने धारणा ‘वर्ल्ड बिफोर यस्टर्डे : ह्वाट क्यान वी लर्न फ्रम ट्रेडिस्नल सोसाइटिज’मा ज्यारेड डाइमन्ड व्यक्त गर्छन्।

यी तीनैजना एकै निष्कर्षमा पुगेका छन्— समानताको अन्त्यको प्रमुख कारण कृषिको थालनी र यसले धान्नु परेको उच्च जनसंख्या हो। मानिसका ती झुण्डले समयक्रममा जातको रूप लिन थाले।

यी सब कथनमा आधारित हुन्, वैज्ञानिक प्रमाण केही छैनन्। साना समूह समतावादी हुन्छन् भन्ने पनि होइन, ठूला समूहमा नाइके हुनैपर्छ भन्ने पनि छैन। अराजकतावादीले मात्र होइन, यथास्थितिको विकल्प खोज्ने सबैले यो बुझ्न आवश्यक छ।

फुकुयामा र डाइमन्ड दुवै यस क्षेत्रमा दक्षता भएका व्यक्ति होइनन्। एक राजनीतिशास्त्री हुन् भने अर्काले पित्ताशयको क्रियामा पीएचडी गरेका हुन्। तर यस क्षेत्रमा अध्ययन गर्न चाहने जोकोही यी दुई हँदै रुसोका सिद्धान्तमा गई ठोकिन्छ।

फ्लेनरी र मार्कस तर्क गर्छन्— हिमयुगका हाम्रा पूर्खा वंशक्रम र दासत्वबारे अन्जान थिएनन्। यसको अनुभव तिनलाई पारलौकिक शक्तिसँग जुध्दा मात्र भयो। कृषिले कुललाई जन्म दियो जसपश्चात् आत्मालाई सांसारिक शक्ति अनुभूति गर्न वातावरण सिर्जना भयो।

के भयो, यिनले भने। तर कसरी भयो, भनेनन्।

यिनका अनुसार आरोग्यसाधक, योद्धाजस्ताले आफ्नो प्रतिभा अरूलाई नभई आफ्ना सन्ततिलाई मात्र सिकाउँदा असमानताको थालनी भयो। सहर, राजतन्त्र, दासत्व र साम्राज्य यसरी नै बन्दै गए।

‘फोरेजर्स, फार्मर्स एन्ड फोसिल फ्युल्स : हाउ ह्युमन भ्याल्युज इभल्भ’मा ठीक उल्टो विचार राख्छन् इयान मोरिस। उनका खोज मानवशास्त्र, इतिहास वा पुरातत्त्वमा नभई अर्थशास्त्रमा आधारित छ। असमानताको अध्ययन गर्न सुरुमा एक समान मापन स्थापना गर्ने सुझाव दिन्छन् उनी। यसका लागि हन्टर–ग्यादरर र कृषकका आचरणलाई अहिलेका अर्थशास्त्रीका स्वभावसँग तुलना गर्छन्। त्यसैले उनको अध्ययन अध्यात्मसँग नभई भौतिकवादका अनेक आयामसँग सम्बन्धित छ। तर भौतिक सम्पत्तिमा कुलीन वर्गको वर्चश्व हुने तथ्यलाई भने उनले नकारेका छन्।

फेरि सोच्ने समय

मानिसको आधारभूत चरित्र कस्तो हो : असल कि खराब, सहयोगी कि प्रतिस्पर्धात्मक ? यसको उत्तर खोज्नका लागि अहिलेका लेखक प्रागैतिहासिक सामग्रीको अध्ययन अपरिहार्य ठान्छन्। त्यसबाट निचोड निस्कन्छ— इतिहासको ९५ प्रतिशत समय मानव समाज अहिलेको जस्तै थियो। क्लोड लेवी स्ट्रस भन्छन्, ‘शारीरिक रूपमा मात्र होइन, मानसिक तथा बौद्धिक रूपमा समेत आदिम र आधुनिक मानवबीच खासै भिन्नता छैन।’ अझ, परापूर्वकालीन मानवलाई उनी अहिलेका मानिसभन्दा सामथ्र्यवान् मान्छन्।

असमानताका अवधारणा यसरी बाहिर आउन थालेपछि वर्गअनुसारका चालचलन, रीतिथिति, भगवान्, राज्य र राजाका अवधारणा पनि सँगै आए। यति विस्तृत अध्ययन–अनुसन्धान हँदाहँदै पनि तीमध्ये कुनै तथ्य भने होइनन्— तथ्यका रूपमा स्थापना गर्न खोजिएका विचार मात्र हुन्। त्यसैले यस विषयमा हुने विमर्शमा सधैं एकै प्रश्नमा गई हामी रोकिन्छौं— सामाजिक असमानताको वास्तविक उद्गम के हो त ? फुकुयामा, डाइमन्ड, मोरिसलगायतका निराशाजनक खोजभन्दा पर छन् यी उत्तर।

असमानताको अध्ययन गर्दै जाने क्रममा मानव विकासको अध्ययन, आधुनिक मानवको विकास, घरेलुकरण, धातुकर्म, सहरीकरण र सभ्यताका अवधारणा भ्रामक लाग्न सक्ने अनुमान ७० को दशकमा क्याम्ब्रिजका पुरातत्त्वविद् डेभिड क्लार्कले गरे। अहिले देख्दा लाग्छ— उनी ठीक थिए।

सञ्चार सहज भएसँगै अनुसन्धानकर्ताहरू जातिविज्ञान र ऐतिहासिक सामग्रीको विस्तृत अध्ययन गरी नयाँ नतिजा प्रकाशमा ल्याउन लागिपरेका छन्। यीमध्ये अधिकांश हामीले सुन्दै आएका कथनभन्दा नितान्त भिन्न देखिएका छन्। तर जेजति नतिजा निस्किए पनि हामी घुमिफिरी विशेषज्ञका खोज र वैज्ञानिक प्रकाशनलाई नै उल्लेखनीय मान्छौं।

कृषिको उत्पत्ति र विस्तारसँगै उत्पन्न भएको पँजीको असमान केन्द्रीकरणलाई असमानताको मात्र होइन, सम्पन्नताको समेत कारण मान्नुपर्छ। यामपिच्छे फरक बाली लगाउने काइदा जान्ने सम्पन्न हँदै गए, बाँकी जहीँको त्यहीँ रहे।

व्यक्तिगत सम्पत्ति थुपार्दै जाने क्रममा असमानताको अवधारणालाई समेत अगाडि सार्न सक्ने सामथ्र्य राख्ने अवधि र जटिलताको प्रक्रिया हेर्ने हो भने ‘कृषिक्रान्ति’ शब्दको प्रयोग खासमा निरर्थक छ।

अर्को कुरा, सभ्यता प्याकेजका रूपमा आउने होइन। केही निश्चित स्थान संगठित भएर संसारका प्रारम्भिक सहर बनेका होइनन्। तिनमा सरकार र कर्मचारी प्रणाली निर्धारण भएको पनि होइन।

चीनको एल्लो नदीवरपरको बस्तीलाई उदाहरणका रूपमा लिऔं। इपू २५०० हाराहारीतिर तीन सयभन्दा बढी हेक्टर जमिन नदीको तटमा थियो। राजवंश सुरु हुनुभन्दा एक हजार वर्षअघिको कुरा हो यो। त्यही समय वरपर प्रशान्त महासागरको अर्को छेउमा रहेको पेरुको रियो सुपे डुबानमा परेको थियो। यो कुरा इन्का साम्राज्य सुरु हुनुभन्दा हजारौं वर्षअघिको हो।

अहिले तिनै क्षेत्र सहरमा परिणत भएका छन्। तानाशाही सरकार र साक्षर प्रशासनको उपस्थितिमा मात्र सहरीकरण सम्भव हुने विचारलाई यी उदाहरणले ठाडै उल्ट्याइदिएका छन्। मेसोपोटामिया, सिन्धु, मेक्सिको सभ्यताको इतिहास हेर्ने हो भने असमानताको नारा बोकी विकासपथमा ती अघि बढेका होइनन्।

फरक कोणबाट विश्व इतिहासको व्याख्या गर्न यी अध्ययन गरिएका हुन्। कति ठाउँमा आफ्ना पूर्वाग्रहमाझ बाँधिएका हामी यिनको मूल आशय बुझ्दैनौं वा बुझ्न चाहँदैनौं। जस्तै— आजकल प्रजातन्त्र, सामाजिक समानताको वकालत गर्ने एउटा ठूलो समूह छ। त्यो समूहलाई लाग्छ— प्रजातन्त्र र सामाजिक समानताको दायरा कार्यकर्ताको बुझाइमा मात्र सीमित छ; समाज, सहर, क्षेत्र र राज्यभन्दा माथि उठ्न सकेको छैन (र सक्दैन पनि)। तर त्यो सम्भव छ भनी महसुस गर्न हामी सक्षम छौं।

समतावादी समाज, संघीय क्षेत्र हाम्रा लागि सामान्य हँदै गइरहेका छन्। तर, समतावादी परिवार र कुटुम्बले त्यही गति लिन सकिरहेका छैनन्। ऐतिहासिक अधिमत आएपछि हामीले सायद महसुस गर्नेछौं, मानव स्वतन्त्रताको सबैभन्दा कष्टकर क्षति निकै सानो मापदण्डबाट सुरु भयो। लैंगिक तथा घरेलु सम्बन्धका स्तर, आत्मीयता र संरचनात्मक हिंसाका प्रकारको समावेशीता यसकै विशेषता हुन्।

सम्पत्ति कसरी शक्तिमा परिणत भयो र समाजमा असमानता सिर्जना गर्न त्यसको भूमिका के–कस्तो रह्यो भनी बुझ्न हामीले ध्यान दिनैपर्ने कुरा यिनै हुन्। तर, यी पनि तथ्य होइनन्, हाम्रो अनुमानका उपज हुन्।


अनुवादक विभु लुइटेल पोन्डीचेरी विश्वविद्यालयमा दक्षिण एसियाली अध्ययनकी विद्यार्थी हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.