मुस्ताङमा फालो पर्वको रौनक
मुस्ताङ : मुस्ताङ घरपझोङ– ५ ठिनीका थकाली समुदायले फालो पर्व विभिन्न कार्यक्रमका साथ मनाएका छन् । थकाली पात्रोअनुसार बुधबारदेखि सुरु भएको फालो दुई दिनसम्म मनाइयो ।
ठिनीका थकालीले गाउँमा परम्परागत फालो पर्व देखाएका छन् । ठिनी गाउँको फालो अवलोकन गर्न तल्लो मुस्ताङ्गी ठिनीमा जम्मा भएका थिए । यसअघि लगातार तीन दिनसम्म नियमित विविध कार्यक्रम गरी मनाइँदै आएको यो पर्वलाई छोट्ट्याउँदै पछिल्लो समय स्थानीयले दुई दिन मात्र मनाउन थालेका हुन् । बर्खायाममा खेतीपातीको काम सकेर फुर्सदिलो महिनामा थकाली फालो मनाइने ठिनीका स्थानीय नारायणप्रसाद थकालीले जानकारी दिए । थकाली पात्रोको आठौं महिनालाई फालो महिना भनिने उनले बताए । फालो पर्व भदौ महिनामा पर्ने भएकाले यसलाई ठिनी भदौ मेला भन्ने पनि गरिन्छ ।
परापूर्वकालमा तिब्बतियन मुलुकका तीनआँखे राजा थर्कोचेनका दाजुभाइ चारै दिशातर्फ फैलिने क्रममा राजा थर्कोचेन ठिनी गाउँमा प्रवेश गरेको स्थानीय कुलबहादुर थकालीले सुनाए । उनका अनुसार राजा थर्कोचेन मुस्ताङ आउने क्रममा याकमा खाने, बस्नेलगायत बन्दोबस्तीका सामान लिएर ठिनी प्रवेश गरेको भनाइ छ । त्यो समय ठिनी गाउँ आएका राजा थर्कोचेनले भारी बोकाएर ल्याएको याक ठिनी गाउँमै थचक्कै रोकियो । त्यसपछि लामो समय ठिनीमै बसेर उक्त याक कुछ्प तेरंगा गुम्बातर्फ मोडियो । याकले त्यहीँ वि श्राम लिएकाले त्यहाँ थर्कोचेन राजाका इतिहास अझै जीवित छन् । ऐतिहासिक ठिनीका राजाले याक लिई ठिनी गाउँ आएको सम्झना गर्र्दै ठिनीका थकाली समुदायले फालो पर्व हर्षोल्लासका साथ मनाउने गरेको थकालीको भनाइ छ ।
फालो पर्वमा शदीयौं पुरानो ऐतिहासिक विशेषता झल्कने सांस्कृतिक गतिविधि देखाउने चलन छ । फालो पर्वमा ठिनीका उमेर नाघेका थकाली समुदायका महिला र पुरुषले आफ्नो भेषभूषामा विवाह व्रतबन्धमा गरिने चलनचल्तीलाई थकाली भाषामै गीतका माध्यमबाट उजागर गर्ने चलन छ । भदौमा फालो पर्व मनाए पछि जाडो मौसमको सुरु हुने बुझाइ छ । ठिनीका थकालीले थकाली वर्षको आखल्हा र त्युङ्ल्हा पर्व पनि विशेष रूपमा मनाउने गर्छन् । ठिनीका थकालीको गाउँ माथि कुलदेवता छन् । त्यहाँ महिलालाई पूजा गर्न बन्देज छ । फालो पर्वअघि स्थानीयले कुलदेवताको पूजाआजा गर्दै पितृलाई सम्झने गर्छन् ।
फालो पर्वमा तीनआँखे राजा थर्कोचेनका युद्ध कौशल तथा याक देवताको नाच देखाउने चलन छ । फालोमा व्यंग्यात्मक याकनृत्य, जोगी नृत्य र विभिन्न प्रहसन देखाइन्छ । राजा थर्कोचेनको उपस्थितिमा उनका सेनाले त्यो समय धनुषबाण, खुकुरी र ढाल लिएर गरिने मनोरञ्जनात्मक सांस्कृतिक नाटक अवलोकनका लागि स्थानीयको उल्लेख्य उपस्थिति थियो ।