आन्तरिक संगीत

आन्तरिक संगीत

गड्यौलाको पनि मन हुन्छ। कुनै गड्यौलाले सेयर बजारबारे चिन्ता लिएर रातभरि नसुतेको कुरा आजसम्म मैले सुनेको छैन।


बौद्धमार्गीका रूपमा मैले सबभन्दा पहिले प्राप्त गरेको एउटा ज्ञान हो— हरेक चेतन जीवको अस्तित्वका तीन आधारभूत विशेषता हुँदा रहेछन्। ती हुन्— शरीर, वचन र मन। (चेतनाको अत्यन्त आधारभूत तत्त्व भएका सरलतम् प्राणीका निम्ति समेत यही कुरा लागू हुन्छ।) शरीर त हाम्रो अस्तित्वको भौतिक आधार नै भइहाल्यो— जो निरन्तर परिवर्तन भइरहेको छ। यो जन्मन्छ, हुर्कन्छ, बिरामी पर्छ, बूढो हुन्छ र आखिरमा मर्छ। यहाँ ‘वचन’ भनेको चाहिँ हाम्रो बोल्ने क्षमताको मात्रै कुरा हैन। कुनै पनि किसिमको आवाज, शब्द, भावभंगिमा, इसारा यसैभित्र पर्छन्। कतिसम्म भने केही जनावरले एकअर्कासँग संवाद गर्न र एकअर्कालाई प्रभावित पार्नका निम्ति निकाल्ने गरेको फेरोमोन् भनिने रसायनहरूद्वारा हुने अन्तक्र्रियासम्म पनि वचनकै रूप हुन्। शरीरजस्तै वचन पनि अनुभूतिको अर्को एउटा अनित्य पक्ष हो। यसका माध्यमबाट हुने सूचना आउँछन्, जान्छन्। जब शरीर मर्छ, वचनको सामथ्र्य पनि त्योसँगै मर्छ।

मनको वर्णन गर्न भने अलि गाह्रो छ। शरीर वा वचनलाई झैं मनलाई सजिलै औंल्याउन सकिन्न। अस्तित्वको यो पक्षलाई जतिसुकै गहिरिएर अध्ययन गरे पनि मन भनेर ठम्याउन सकिने कुनै चीज हामी कतै पहिल्याउन सक्तैनौं। अस्तित्वको यो तिलस्मी पक्षबारे सयौं–हजारौं पुस्तक लेखिएका छन्। तर यो मन भन्ने चीज के हो र कहाँ छ भन्ने कुरा पहिल्याउने प्रयत्नमा यति धेरै समय र शक्ति खर्चिसक्दा पनि न कुनै बौद्धमार्गीले न त कुनै वैज्ञानिकले नै ढुक्क भएर ‘लौ, मैले त मन फेला पारेँ है !’ भन्न सकेका छन्। अहिलेसम्म कसैले ‘यी यहाँनेर हुँदो रहेछ मन। यस्तो हुँदो रहेछ। अनि यसले काम गर्नेचाहिँ यसरी रहेछ’ भन्न सकेका छैनन्।

शताब्दीयौंदेखि भइरहेका अनुसन्धानबाट हामीलाई थाहा हुन सकेको के मात्रै हो भने मनको कुनै निश्चित थलो हुँदैन रहेछ। मुटु, फोक्सो वा रक्तसञ्चार, मेटाबोलिज्म जस्ता अत्यावश्यक शारीरिक क्रियालाई नियन्त्रण गर्ने अन्य अंगहरूको झैं यसको कुनै आकार, रूप, रंग हुँदैन। परिभाषा गर्न यति सारो अप्ठ्यारो यो मन भन्ने चीजको अस्तित्व नै छैन भन्न पाए पनि हाइसन्चो नै हुन्थ्यो होला। यो मन भन्ने चीजलाई पनि भूत प्रेत वा देवदूतजस्ता काल्पनिकीहरूकै दुनियाँमा ठेलिदिन पाए पनि आनन्दै हुँदो हो !

तर साँच्चै वस्तुपरक भएर हेर्दा त यसको अस्तित्वलाई कसरी अस्वीकार गर्न सकिन्छ र ? हामी सोच्छौं। हामी अनुभूत गर्छौं। ढाड दुखेको वा खुट्टा निदाएको थाहा पाउँछौं। आफू थाकेको वा चनाखो भएको, खुसी वा दुःखी भएको थाहा हुन्छ हामीलाई। कुनै पनि घटनाप्रवृत्तिलाई परिभाषित गर्न वा ठम्याउन नसक्नुको अर्थ त्यसको अस्तित्व नै छैन भन्ने त हुँदैन ! यसको यति मात्रै अर्थ लाग्छ कि त्यसको कुनै तर्कसंगत मोडेल प्रस्तावना गर्नका निम्ति आवश्यक सूचना प्राप्त गर्न हामीले अझै पनि सकेका रहेनछौं। एउटा सरल विम्ब खोज्ने हो भने विद्युतीय ऊर्जालाई बुझ्नुजस्तै हो मनको वैज्ञानिक बुझाइ पनि। बत्ती बाल्नैका निम्ति वा टीभी खोल्नका निम्ति हामीलाई विद्युत् सर्किट वा विद्युत् चुम्बकीय ऊर्जाको विस्तृत ज्ञान आवश्यक हुँदैन। बत्ती बलेनछ भने चिम फेर्छौं। टीभी खुलेन भने तार जाँच्छौं वा केबल बक्स हेर्छौं। केही लाग्दै लागेन भने कुनै प्राविधिकलाई बोलाउँछौं। हामी जे गरौं, त्यसको पछाडि बिजुलीको अस्तित्व छ र त्यसले काम गर्छ भन्ने एउटा आधारभूत ज्ञान वा विश्वास हुन्छ।

मनको कुरा पनि त्यस्तै हो। विज्ञानले बौद्धिक, भावनात्मक, संवेदनात्मक आदि गतिविधिसँग सम्बन्धित स्नायु प्रणालीका प्रक्रिया र कोषिकाहरूको संरचनाबारे धेरै कुरा पत्ता लगाएको छ। यी सबै मनसँग जोडिएका छन् भन्ने मानिन्छ। तर मन स्वयं चाहिँ केले बनेको छ त भन्नेबारे भने अझै केही थाहा छैन। वास्तवमा मानसिक क्रियाकलापको जति गहिरिएर अध्ययन गर्‍यो, विज्ञान उति नै बौद्धमार्गीय ज्ञानको नजिक पुग्ने गरेको छ। अर्थात् यो कुनै निश्चित पहिचान भएको कुनै चीज नभएर निरन्तर परिवर्तित भइरहेको घटना हो।

बौद्ध ग्रन्थका सुरुका अनुवादले मनलाई समकालीन वैज्ञानिक जानकारीको सीमाभन्दा परको कुनै निश्चित ‘चिज’का रूपमा पहिचान गर्ने प्रयत्न गरे। तर यी गलत अनुवाद पुरानो पाश्चात्य मान्यतामा आधारित थिए जसअनुसार सबै खाले अनुभूतिहरू अन्ततोगत्वा कुनै न कुनै शारीरिक गतिविधिसँग जोडिएकै हुनुपर्छ भन्ने थियो। बौद्ध ग्रन्थका समकालीन व्याख्याचाहिँ आधुनिक विज्ञानको मनबारेका नयाँ अवधारणासँग बढी नजिक देखिन्छ। यसअनुसार ‘मन’ भनेको यथार्थमा परिवर्तनको अविरलतामा रहेको घटनाक्रम हो जो स्नायुप्रणालीय स्वभाव र तत्क्षणका अनुभूतिहरूका अप्रत्याशित तत्त्व बीचको अन्तर्कियाबाट उब्जिन्छ।

बौद्धमार्गी र वैज्ञानिकहरू के कुरामा एकमत छन् भने मन वा चित्त हुनुले नै चित्तधर प्राणीलाई निर्जीव ठानिने ढुंगा, चकलेटको खोल, सिमेन्टको ढिक्काजस्ता चिजबाट छुट्ट्याउँछ। यी चित्तधर प्राणीको सबभन्दा महत्त्वपूर्ण पक्ष पनि यही मन नै हो। गड्यौलाको पनि मन हुन्छ। मानिसको जत्तिको विकसित नहोला तर त्यसको पनि आफ्नै फाइदा छ। कुनै गड्यौलाले सेयर बजारबारे चिन्ता लिएर रातभरि नसुतेको कुरा आजसम्म मैले सुनेको छैन।

बौद्धमार्गी र अधिकांश समकालीन वैज्ञानिकहरूबीच मतैक्यता भएको अर्को कुरा के छ भने सबै चित्तधर प्राणीको निःसर्गको सर्वाधिक महत्त्वपूर्ण तत्त्व पनि मन नै हो। शरीर र अनेक किसिमका अन्तर्कियाहरू त फगत कठपुतली मात्र हुन्, तिनलाई खेलाउनेचाहिँ मन नै हो।

आफैंमा परीक्षण गर्न सकिने कुरा हो यो। जस्तै— तपाईं नाक चिलाएर कन्याउन थाल्नुभयो रे। अब यो नाक चिलाएको थाह पाउनेचाहिँ वास्तवमा को हो त ? शरीर स्वयंले थाहा पाउँछ कि पाउँदैन होला ? ‘ल, उठेर नाक कन्याउन जा !’ भनेर शरीरले हातलाई अह्राउन सक्छ होला त ? अझै भनौं— हात, नाक र चिलाउनु बीचको भिन्नता खुट्याउन शरीर सक्षम होला कि नहोला ? त्यस्तै, तिर्खा लागेका बेला पनि सबभन्दा पहिले थाहा पाउने त मनले नै हो। अनि उसैले हातलाई गिलाससम्म पुग्न लगाउँछ, गिलास उचालेर मुखसम्म पुर्‍याउन लगाउँछ, मुखको पानीलाई घुटुक्क निल्ने आदेश पनि त्यही मनले दिन्छ र अन्ततः एउटा शारीरिक आवश्यकता पूरा भएकामा खुसी मान्ने पनि उही मन नै हुन्छ।

कहिल्यै देखा नपर्ने मन वास्तवमा हरपल त्यहीँ हुन्छ, हरपल क्रियाशील हुन्छ। रूख र घरका बीच, वर्षा र हिउँका बीच, सफा र बदली लागेको आकाशबीच भिन्नता थाहा पाउने हाम्रो जुन क्षमता छ, त्यसको स्रोत नै मन हो। तर हाम्रो अनुभूतिको आधार नै मन भएकाले हामी यसको वास्तै गर्दैनौं। हामी कहिल्यै आफैंलाई सोध्दैनौं, ‘यो सोच्नेचाहिँ कसले हो ? ’ भनेर। हामी त ‘मलाई भोक लाग्यो’ भन्छौं, ‘म अब हिँड्नु पर्‍यो’ भन्छौं, ‘म थाकेँ, बस्छु’ भन्छौं। मन शरीरभित्रै कतै छ कि योदेखि पर, यो कुनै बिन्दुमा सुरु हुने, कतै केही समय रहने र अर्को बिन्दुमा पुगेर रोकिने हुन्छ ? यसको कुनै आकार वा रङ हुन्छ ? वास्तवमा मन भन्ने कुनै कुरा साँच्चै हुन्छ कि यो केवल समयसँगै निश्चित स्वभाव विकास गरेका मस्तिष्कका कोषिकाहरूको गतिविधि मात्र हो ? हामी सामान्यतया यस्ता प्रश्न आफैंलाई गर्दैनौं। तर दैनिक जीवनका अनेक दुःख, पीडा र असहजतालाई चिरेर अघि बढ्ने हो भने, मन भन्ने केही हुनुको महत्त्वलाई पूर्ण रूपले आत्मसात् गर्ने हो भने मनको अवलोकन गर्ने र यसका विविध आयामलाई छुट्याउने प्रयत्न गर्नैपर्छ।

साँच्चै भनूँ भने यो काम खास गाह्रो पनि छैन। झट्ट हेर्दा मात्रै हो अप्ठेरो लाग्ने। त्यो पनि किन भने यति धेरै सुन्दर वस्तु र रमाइला अनुभूतिले भरिएको यो जगत्लाई औंला देखाएर ‘ऊ त्यहाँ छ’ भन्ने बानी परेको छ हामीलाई। यो बानीले गर्दा जब हामी आफ्नै मनलाई हेर्न खोज्छौं, त्यसैगरी कतै बाहिर खोज्छौं। अनि मनलाई हेर्नु भनेको कुनै ऐनाको सहारा नलिईकन आफ्नै टाउकाको पृष्ठ भागलाई हेर्न खोजेजस्तो हुन पुग्छ।

यसरी आफूलाई नानीदेखि लागेको बानीका आधारमा मनको अवलोकन गर्न खोज्दा आइलाग्ने समस्या बुझ्नका लागि एउटा सानो परीक्षण गरी हेरौं है त ! धन्दा मान्नु पर्दैन, यो परीक्षामा कोही पनि अनुत्तीर्ण हुँदैन। यसको उत्तर लेख्नका निम्ति दुई नम्बरको सिसाकलम खोज्नु पनि पर्दैन।

खान बसेका बेला आफैंलाई सोधिहेर्नोस्, ‘यो मीठो छ वा नमीठो छ भनी सोच्ने को हो ? खाँदै गरेको कुरा थाहा पाउने को हो ? ’ तत्कालको उत्तर त स्पष्टै देखिन्छ, ‘मेरो मस्तिष्क नि !’ तर आधुनिक विज्ञानका नजरले मस्तिष्कलाई हेर्ने हो भने उत्तर त्यति सहज रहेनछ भन्ने थाहा हुन्छ।

के चाहिँ भइरहेको छ त ?

हामी सबैले चाहने भनेको त खुसी हुनु हो, मस्तिष्कबारे किन जान्नुपर्‍यो ? सुखद कुरा सोच्ने, आफ्नो शरीर सेतो प्रकाशले भरिएको कल्पना गर्ने, कोठाका भित्तालाई इन्द्रेणी र खरायोका तस्बिरले ढाक्ने अनि रमाउने गरे हुँदैन र ? खै, हुन पनि सक्ला !

तर दुःखको कुरा के छ भने चित्तको अवलोकन गर्न खोज्दा जहिले पनि हामी एउटा अवरोधको सामना गर्न पुग्छौं। त्यो के भने ‘हामी जन्मजात यस्तै हौं, केही गरे पनि फेरिन सक्दैनौं’ भन्ने अन्धविश्वास। मैले पनि आफ्नो बाल्यकालमा यही निराशा र निरर्थकता अनुभव गरेको थिएँ। संसारभरि अनेक व्यक्तिसँग काम गर्ने क्रममा त्यस बखतको मेरो त्यही निराशा उनीहरूबाट बारम्बार प्रतिविम्बित हुने गर्छ। सचेत भएर सोच्नसम्म पनि नभ्याउँदै ‘मन त कहाँ फेर्न सकिन्छ र’ भन्ने सोचले प्रयत्नका सबै बाटा छेकिदिन्छ।

सकारात्मकता, प्रार्थना, काल्पनिकी आदिका सहाराले परिवर्तनको प्रयत्न गरिरहेका मानिसहरूसँगको कुराकानीमा उनीहरू स्वीकार गर्छन्— एक–दुई दिन वा केही हप्तासम्ममा पनि कुनै परिवर्तन भएको नदेखेपछि सबै प्रयत्न नै छाडिदिन्छन् रे। तत्काल कुनै उपलब्धि नपाएपछि हो न हो चित्तबारे गरिने साधना त किताब बेच्नका लागि गरेको कुनै विज्ञापनजस्तो पो रहेछ भनेर पन्छाइदिन्छन् रे।

बौद्ध भिक्षुको चीवर धारण गरेर अनि एउटा आकर्षक उपाधिसमेत भिरेर संसारभरि प्रवचन दिँदै हिँड्दा मलाई एउटा फाइदा छ। त्यो के भने सामान्य मानिसलाई हत्पती समय नदिने ठूला मानिसहरूसमेत कत्ति न महत्त्वपूर्ण मान्छेसँग झैं मसँग कुरा गर्न तयार हुन्छन्। त्यसै भएर मैले संसारका धेरै वैज्ञानिकसँग कुराकानी गर्ने मौका पाएको छु। उनीहरूसँग कुरा गर्दा थाहा पाएको एउटा कुरा मलाई साँच्चै गज्जब लागेको छ। त्यो के भने मानव मस्तिष्कको संरचना नै यस्तो छ कि हामीले दिनानुदिन गर्ने अनुभूतिमा समेत साँच्चैको परिवर्तन सम्भव हुँदो रहेछ।

विगत एक दशकदेखि स्नायुविज्ञान, जीवविज्ञान र मनोविज्ञानका विद्वान्सँगको कुराकानीमा मैले अनेक चाखलाग्दा अवधारणा सुन्ने मौका पाएको छु। यीमध्ये कुनैले मेरो आफ्नो बाल्यकालदेखि नै सुन्दै हुर्केका केही अवधारणालाई नै चुनौती दिएका छन्। अरू कुनै कुराले भने— अलि फरक दृष्टिकोणबाटै सही— मैले पाएको ज्ञानलाई सत्य साबित गरिदिएका छन्। वार्तालापका क्रममा कुनै बेला हाम्रो कुरा मिल्यो होला, कुनै बेला मिलेन पनि होला। तर यी वार्तालापबाटै मैले एउटा अत्यन्त महत्त्वपूर्ण कुरा थाहा पाएँ। त्यो के भने मानव मस्तिष्कको संरचना र क्रियाकलापबारे आंशिक ज्ञान मात्र हुँदा पनि बौद्धमार्गका ज्ञानले कसरी काम गरेका होलान् भनी बुझ्न वैज्ञानिक आधार मिल्दो रहेछ।      

क्यालिफोर्निया विश्वविद्यालयको स्नायुविज्ञान विभागका संस्थापक अध्यक्ष डा. रबर्ट लिभिङ्स्टोनले सन् १९८७ मा भएको ‘माइन्ड एन्ड लाइफ इन्स्टिच्युट’को पहिलो सम्मेलनमा मानव मस्तिष्कलाई सिम्फोनीसँग दाँजेका थिए— जो लयात्मकता र अनुशासनले भरिएको हुन्छ। उनले प्रयोग गरेको यो विम्ब मलाई सबभन्दा मजा लागेका विम्बमध्येको एक हो। रबर्टले भनेअनुसार सिम्फोनी अर्केस्ट्राका वाद्यवादकहरूजस्तै मानव मस्तिष्कमा पनि अनेक ‘कर्ता समूह’ एउटै परिणामका निम्ति लागिपरेका हुन्छन्— शरीरको कुनै अंग चलाउनका निम्ति होस्; कुनै विचार, भाव, स्मृति निर्माण गर्नका लागि होस् वा शारीरिक संवेदना बोध गर्नलाई होस्। कसैले हाई काढिरहेको, आँखा झिम्क्याइरहेको, हाँच्छिऊँ गरिरहेको वा हात उठाइरहेको देख्दा हामीलाई एकदमै स्वाभाविक लाग्छ। तर यस्ता अति सामान्य लाग्ने गतिविधिका निम्ति समेत यथार्थमा मस्तिष्कभित्रका अनगन्ती ‘कर्ता’हरू संलग्न भइरहेका हुन्छन्। र उनीहरूबीचका अनेक अन्तर्किया अकल्पनीय रूपमा जटिल हुन्छन्।

डा. लिभिङ्स्टोनले भनेका कुरा अझै राम्ररी बुझ्न मैले आफ्नो पहिलो पश्चिम यात्राका बेला जम्मा भएका पुस्तक, पत्रिका र अन्य सामग्रीहरू भित्रका विषयवस्तु बुझ्नुपर्ने भयो। तर धेरै कुरा अत्यन्त प्राविधिक चरित्रका भएकाले सबै बुझ्न मलाई सहज थिएन। त्यो सब पढ्ने र बुझ्ने प्रयत्न गर्दा मेरो मनमा चिकित्साशास्त्रका विद्यार्थी र युवा वैज्ञानिकप्रति साँच्चै करुणा जाग्न थाल्यो— बिचराहरू रातोदिन कसरी पढ्दा हुन् यति जटिल विषय !

भाग्यवश यी क्षेत्रका जानिफकारहरूसँग संगत गर्न पाएकाले उनीहरूले यी वैज्ञानिक शब्दावलीलाई मैले बुझ्ने भाषामा अनुवाद गरिदिए। यो कामका निम्ति जति समय र मेहनत उनीहरूले खर्चे, त्यो मेरा निम्ति त काम लाग्ने हुने नै भयो, उनीहरूकै निम्ति पनि उत्तिकै उपयोगी भयो होला भन्ने मलाई लाग्छ। मेरो अंग्रेजी शब्द भण्डार त बढ्यो नै, मस्तिष्कले कसरी काम गर्दो रहेछ भन्नेबारे पनि जनसाधारणको भाषामा केही बुझ्न सकेँ। यी यावत् विषयमा मेरो बुझाइ गहिरिँदै जाँदा लाग्न थाल्यो— बौद्ध परम्परादेखि बाहिर हुर्केका मानिसले बौद्ध ध्यानविधिले किन र कसरी काम गर्ने रहेछन् भन्ने कुरा विशुद्ध शरीरविज्ञानकै तहमा बुझ्न चाहने हो भने डा. लिभिङ्स्टोनले उल्लेख गरेका मस्तिष्कभित्रका विविध ‘कर्ता’हरूका बारे बुझ्नैपर्ने रहेछ।

म आफैंमा पनि त ठूलो परिवर्तन आएको थियो ! मेरो मस्तिष्कमा चाहिँ त्यस्तो के भएको रहेछ जसका कारण एउटा भयग्रस्त व्याकुल बच्चा विश्व भ्रमण गर्दै सयौं शिक्षार्थीका अगाडि निसंकोच प्रवचन दिने मानिस बन्यो त ? वैज्ञानिक दृष्टिकोणबाट समेत यो कुरा बुझ्न पाउँदा आफैँलाई पनि रमाइलो लाग्यो। मेरा धेरै गुरु तथा सहकर्मीहरू साधनाबाट चेतनामा आउने परिवर्तनमा नै सन्तुष्ट हुनुहुन्छ। मलाई भने यस्तो परिवर्तनको प्रक्रियाबारे शरीरविज्ञानले के भन्दो रहेछ भन्ने कौतूहल जाग्यो। केले जाग्यो, म भन्न सक्तिनँ। पूर्वजन्ममा म कहीँ मेकानिक त थिइनँ ?

तर फेरि मस्तिष्ककै कुरामा फर्कौं— जनजिब्रोकै भाषामा भन्दा मस्तिष्कका अधिकांश गतिविधि न्युरोन भनिने विशेष किसिमका कोषिकाहरूका कारण हुँदो रहेछ। यी न्युरोनहरू अत्यन्त ‘सामाजिक’ स्वभावका हुन्छन्— गफ गर्न खुब मन पर्छ तिनलाई। एक किसिमले स्कुलका छुकछुके विद्यार्थीजस्ता हुन्छन् ती— एकअर्कासँग कानेखुसी गरिरहने, यताबाट उता ‘नोट’ घुमाइरहने...। फरक यतिमात्रै हो कि यी न्युरोनहरूबीचको कानेखुसी भने संवेदना, गति, समस्याको समाधान, स्मृतिको सिर्जना अनि भाव र विचारहरूको उत्पादन गर्नेबारे हुने गर्छ। यी गफाडी कोषिकाहरू झट्ट हेर्दा रूखजस्ता हुन्छन्— काण्डलाई एक्सोन भन्छन्, अनि हाँगाहरू भने मांसपेशी, छाला, विभिन्न अवयव, इन्द्रिय आदिमा भएका अन्य स्नायु–कोषिकाहरूबाट सूचना प्राप्त गर्न वा तिनलाई सूचना पठाउन फैलिएका हुन्छन्। एकार्कालाई सूचना प्रवाह गर्दा सबभन्दा नजिकको ‘हाँगा’बीचको खालि ठाउँबाट गर्छन्। यस्तो ठाउँलाई सिन्याप्स् भन्छन्। अनि सूचना पठाउनेचाहिँ विशेष किसिमका रासायनिक अणुको माध्यमबाट हुन्छ जसलाई न्युरो ट्रान्समिटर भनिन्छ। यी न्युरो ट्रान्समिटरले विद्युतीय संकेत सिर्जना गर्छन् जसलाई ईईजीले टिप्न सक्छ। यस्ता केही ट्रान्समिटरबारे त अचेल धेरैलाई थाहा छ— जस्तै डिप्रेसन (विषाद) हुन नदिने सेरोटोनिन, सुखद अनुभूतिसँग जोडिएको डोपामिन, अनि चिन्ता, व्याकुलता, भयसँग जोडिएको तर सतर्कता र एकाग्रताका निम्ति पनि चाहिने एड्रनलिन आदि। एउटा न्युरोनबाट अर्को न्युरोनमा हुने विद्युतीय संकेतप्रवाहलाई वैज्ञनिक भाषामा एक्सन पोटेन्सियल भनिँदो रहेछ। यो शब्द सुन्दा मलाई त्यति नै अचम्म लाग्यो जति अचम्म शून्यता भन्ने शब्द सुन्दा बौद्धमार्गका बारेमा केही थाहा नभएका मानिसलाई लाग्दो हो।

‘दुःख वा खुसीकै सन्दर्भमा न्युरोनका गतिविधिलाई किन बुझ्नु पर्‍यो र !’ जस्तो लागे पनि, एक दुईवटा अत्यन्त महत्त्वपूर्ण तथ्यका कारण यो बुझ्नु जरुरी छ। न्युरोनबीच जब सम्बन्ध जोडिन्छ, ती पुराना साथीहरूजस्तै बन्न पुग्छन्। जसरी पुराना साथीबीचको कुराकानीमा मानिस, घटना वा अनुभूतिका बारेमा एउटाको धारणालाई अर्काले सही थापिरहेको हुन्छ, एकापसमा आबद्ध न्युरोनबीच पनि त्यसैगरी एउटै किसिमका सूचना आदानप्रदान भइरहेका हुन्छन्। जेलाई हामी ‘बानी’ भन्छौं, कुनै पनि व्यक्ति, स्थान, घटना वा कुनै पनि चीजप्रति हाम्रो जुन स्वतःस्फूर्त प्रतिक्रिया हुने गर्छ, त्यसको जीववैज्ञानिक आधार नै न्युरोनहरूबीचको यही अन्तरसम्बन्ध हो।

एउटा अति साधारण उदाहरण लिएर हेरौं— मलाई सानो उमेरमै कुनै कुकुरले तर्साएको रहेछ भने डर र ‘कुकुर खतरनाक प्राणी हो’ भन्ने धारणासँग जोडिएका मेरो मस्तिष्कका केही न्युरोनहरूबीच एउटा समूह बन्छ। अर्को पटक मैले कुकुर देख्नेबित्तिकै न्युरोनको त्यही समूहमा खासखुस चल्न थाल्छ र तिनले मलाई ‘कुकुर खतरनाक प्राणी हो’ भन्ने कुरा सम्झाउँछन्। हरेक पटकको यो खासखुसले गर्दा कुकुरबारे सोच्दा मात्र पनि मेरो ढुकढुकी बढ्न थाल्छ, चिट्चिट् पसिना निस्कन्छ।

तर भनौं कुनै दिन म एउटा कुकुरपालक साथीकहाँ जानु पर्‍यो रे। उसको ढोका ढकढक्याउने बित्तिकै जब त्यो कुकुर भुक्दै मतिर दगुर्छ र मलाई सुँघ्न थाल्छ, सुरुमा त मेरो सातो जान्छ। तर एकछिनपछि नै उसलाई बानी पर्छ र ऊ मेरो नजिकै आएर पैतालाकै छेउमा वा काखैमा बस्छ, अझ मलाई चाट्नै थाल्छ।

त्यो कुकुरको दिमागका न्युरोनहरूको एउटा सञ्जाल मेरो गन्ध र संवेदनाहरूबाट ‘यो त हाम्रो मालिकले मन पराउने राम्रो मान्छे रहेछ’ भन्ने निर्णयमा पुग्छ। अनि मेरै दिमागभित्रचाहिँ सुखद अनुभूतिहरूसँग जोडिएका न्युरोनहरूको एउटा समूहबीच छलफल हुन थाल्छ र मलाई के लाग्छ भने ‘कुकुरहरू त मायालाग्दा पो हुँदा रहेछन्’। हरेक चोटि म त्यो साथीकहाँ जाँदा मेरो सोचको यो ढाँचा झन् झन् स्थापित हुँदै जान्छ र अन्ततः म कुकुरसँग डराउनै छोड्छु।

स्नायुविज्ञानको भाषामा न्युरोनहरूबीचको एउटा सञ्जाललाई अर्कोले प्रतिस्थापना गर्ने यो क्षमतालाई न्युरोनल प्लास्टिसिटी भनिन्छ। तिब्बती भाषामा यो क्षमतालाई लेसुरुङ्वा भनिन्छ, जसको मोटामोटी अनुवाद ‘लचिलोपन’ वा ‘अनुकुलनशीलता’ हुनसक्छ। तपाईंले आफूलाई जे मन पर्छ, त्यही शब्द प्रयोग गर्दा फरक पर्दैन। खास कुराचाहिँ के भने कोशिकाहरूकै तहमा खास अनुभूति दोहोरिइरहँदा मस्तिष्कले काम गर्ने तरिका पनि फेरिइन सक्छ। बौद्ध शिक्षाले कसरी विभिन्न दुःखका कारक मनोढाँचालाई मेट्न सघाउँछन् भन्ने कुराको जीववैज्ञानिक कारण यही हो।


मिंग्युर रिन्पोचेको बहुचर्चित पुस्तक ‘जोय अफ लिभिङ’ (बाँच्नुको आनन्द) बाट अंश–अनुवाद। अनुवादक सरोज धिताल चिकित्सक हुन्। उनका ‘तोत्तोचान : झ्यालमा रमाउने त्यो सानी केटी’, ‘चित्त खुलोस् हृदयसँगै’ अनूदित कृति साथै ‘उज्यालाका बीउ’ (निबन्धसंग्रह) तथा ‘आँसु र उत्सव’ (कवितासंग्रह) सिर्जनात्मक कृति प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.