सिर्जनशील दुस्साहस

सिर्जनशील दुस्साहस

सगरमाथाको देश, गैंडाको देश अनि ‘बुद्ध वाज बर्न इन नेपाल’ जपेर तीन बित्ता उफ्रँदैमा कुवा नाघ्न सकिने होइन ! भृकुटीदेखि शृंखला खतिवडासम्मको उडानबाट ‘अब चिन्नेछ विश्वले नेपाल’ टाइपमा जति शृंखला चलाए पनि भूपीका भाकामा भन्ने हो भने हाम्रो गर्जनको वजन पानीमा फालिएको अगुल्टोको ‘छ्वाइड्ढय’ भन्दा बढ्ता छैन।


ङिच्च दाँत

केही समयअघि म एक लेखनशालामा भाग लिन बैंगलोर पुगेको थिएँ। आठ–दस जना भारतीय र अन्य मूलका लेखक/अनुवादकमध्ये एक थिइन्, दक्षिण कोरियाली नाटक तथा ओपेरा लेखक ली जिहङ। उनको अंग्रेजी बोलाइ र बुझाइ अलि पातलो थियो। त्यसैले गफ गर्दा उनी ‘गुगल ट्रान्सलेट’मा कोरियाली भाषामा लेख्थिन् अनि हामी अंग्रेजीमा बुझ्थ्यौैं। हामी पनि आफ्ना कुरा अंग्रेजीमा लेखेर गुगल ट्रान्सलेटमार्फत उनलाई बुझाउँथ्यौं। समूहमा हुँदा कसैले हाँसो–ठट्टा गर्‍यो भनेचाहिँ पहिले आफू हाँसिसक्थ्यौं अनि गुगल अनुवाद गरिदिन्थ्यौं। उनको हाँस्ने पालो एक मिनेटपछि मात्र आउँथ्यो।

ली जिहङले हामी सबैका लागि कोरियाली मिठाई र चाउचाउ उपहार ल्याइदिएकी थिइन्, आफ्नै खर्चमा। अनि आफ्नो एउटा किताबका एक–एक प्रति पनि ल्याइदिएकी थिइन्, सरकारी खर्चमा। कोरियाली भाषामा लेखिएको उनको त्यो नाट्य कृति सरकारी संस्था लिटरेचर ट्रान्सलेसन इन्स्टिच्युट अफ कोरियाले अंग्रेजीमा अनुवाद गराएर छपाइदिएको रहेछ। र विदेशी साहित्य अनुरागीमाझ बाँड्नू भनेर पठाएको रहेछ।

यसरी अनुवाद छपाउन कोरियामा के गनुपर्दो रहेछ भनेर सोधें। उनले भनिन्— खासै केही गर्नु पर्दैन, किताब अनुवाद गर्नलायक छ भने कोरियाली साहित्य अन्तर्राष्ट्रियकरण गर्ने निकायले आफैं अनुवाद गराएर छापिदिन्छ, अनि लेखकलाई केही सय प्रति थमाइदिन्छ।

आफ्नो देशका लेखक विदेश जाँदा रित्तो हात जान नपरोस् र साथमा साहित्यमार्फत देशको सांस्कृतिक कूटनीति प्रवद्र्धन पनि होस् भन्ने सरकारको चाहना हुँदो रहेछ। उनको नाटक यही चाहनाअनुरूप अंग्रेजीमा अनुवाद भएको रहेछ।

जिहङको कुरा सुनिसकेपछि मैले नेपाल सम्झेँ। उसो त बाहिरको बाटोघाटो देखे यताको बाटोघाटो सम्झिने, बाहिरको साहित्य पढे यताको साहित्य सम्झिने, बाहिरका नेता देखे यताका नेता सराप्ने, हाम्रो साझा स्वभावजस्तो भएको छ। ठाउँमा आफ्ना मान्छे नभए सरकारी निकायले सिन्को पनि भाँचिदिँदैनन् भन्ने धारणा लिएर हुर्केको मलाई उनको कुरो अलि अनौठो लागेको थियो। जिहङको कोरियादेखि बैङ्लोरसम्मको आतेजाते भाडा र हल्का पकेट खर्चसमेत त्यस्तै एउटा निकायले बेहोरिदिएको रहेछ। कुरैकुरामा नेदरल्यान्ड्सका कवि लुकस हियर्सले पनि सरकारी निकायले आफ्नो आतेजाते र पकेट खर्चका लागि दुई हजार युरो दिएको सुनाए। उनीहरूले यस्तोे सुविधावृत्तिको बेलिबिस्तार लगाउन थालेपछि उधारोमा टिकट काटेर त्यहाँ पुगेको मैले गफ अन्तै मोडेँ।

जिहङ र लुकसलाई आज म सम्झिरहेछु। हाम्रा लेखक बुद्धिसागर आयोवा विश्वविद्यालयको तीनमहिने लेखन कार्यशालामा भाग लिन आजै अमेरिका उड्दैछन्। साहित्यको क्षेत्रमा आयोवा कार्यशालाभन्दा प्रतिष्ठित अर्को कुनै लेखनशाला छैन। यो शाला एक यस्तो तीर्थस्थल हो; जसरी मुसलमानका लागि मक्का, यहुदीका लागि जेरुसलेम, हिन्दुका लागि पशुपति अनि बौद्धका लागि लुम्बिनी।

पशुपति जाँदा फूल–अक्षता लिएर गइन्छ, बूढासुब्बा जाँदा बाँसमा बाँध्ने डोरी। कसैकहाँ जाँदा खाली हात नजाने हाम्रो चलन हो। आयोवा जाँदा बुद्धिसागर के लिएर जाँदै होलान् ? ‘कर्नाली ब्लुज’को अंग्रेजी अनुवाद छापिइसकेको छैन। उनका कविता पनि खासै धेरै अनुवाद भएका छैनन्, भएका पनि संगृहीत छैनन्। सायद उनले अप्रकाशित उपन्यासको अंश वा एक–दुई कविता ‘ए–फोर’ कागजमा फोटोकपी गरेर बाँड्नुपर्नेछ।

हामीकहाँ लिटरेचर ट्रान्सलेसन इन्स्टिच्युट अफ कोरिया, पोलिस कल्चरल इन्स्टिच्युट, नर्वेजियन लिटरेचर अब्रोड, न्यु बुक्स इन जर्मन जस्ता संस्था हुँदा हुन् त बुद्धिसागर ङिच्च दाँत देखाउँदै जानु पर्दैनथ्यो होला।

भारतमै पनि साहित्य अकादमी र नेसलन बुक ट्रस्टजस्ता संस्था छन्, जसले अनुसूची ८ मा सामेल २४ भाषाका पुस्तकलाई विदेशी भाषामा अनुवाद गर्न सहायता दिन्छन्। त्यहाँ रोहन मुर्तीजस्ता मनकारी धनाढ्य पनि छन् जसले पौरस्त्य–प्राच्य पुस्तकलाई अंग्रेजीमा अनुवाद गरेर छाप्न हार्वर्ड विश्वविद्यालयलाई ५२ लाख डलर (करिब ६० करोड नेरु) दिन्छन्।

अनुवादको अन्तर्य

यहाँ गाँस–बास–कपासबाटै कति वञ्चित छन्, आधारभूत आवश्यकतै आकाशको फल भएका देशमा अनुवादजस्तो विलासितामा बजेट खर्चिने ? यो कस्तो ट्याउँट्याउँ हो ? यहाँहरूमध्ये कतिपयका मनमा यस्तो प्रश्नले घर गरिसक्यो होला। ठीक हो, हाम्रा जिम्मावाल शासक–प्रशासकहरूले घरिघरि यसरी घोचपेच गरिरहेकै छन्, अनौठो कुरा भएन !

विश्वले हामीलाई चिनेन, नेपाल भन्ने देशको नामै सुनेन भनेर रोना–धोना गरिरहने त हामी नै हौ। देशको कला, साहित्य, सभ्यताजस्तो सांस्कृतिक पक्षलाई नभजाईकन विश्व मानचित्रमा नेपालले सम्मानजनक स्थान ओगट्न सक्दैन भन्ने कुरा हामी किन ख्याल गर्दैनौं ? सगरमाथाको देश, गैंडाको देश अनि ‘बुद्ध वाज बर्न इन नेपाल’ जपेर तीन बित्ता उफ्रँदैमा कुवा नाघ्न सकिने होइन ! भृकुटीदेखि शृंखला खतिवडासम्मको उडानबाट ‘अब चिन्नेछ विश्वले नेपाल’ टाइपमा जति शृंखला चलाए पनि भूपीका भाकामा भन्ने हो भने हाम्रो गर्जनको वजन पानीमा फालिएको अगुल्टोको ‘छ्वाइड्ढय’ भन्दा बढ्ता छैन।

०००

नेपाल भ्रमण वर्ष २०२० को नाम हामी फलाकिरहेका छौं बारम्बार। के हिमालका तस्बिर देखाएर मात्र हामीले हाम्रो पर्यटनको प्रवद्र्धन गर्ने हो ? त्यतिले मात्र पुग्छ ? के नेपाल प्राकृतिक सम्पदा मात्र भएको देश हो ? यहाँको संस्कृति देखाउनलायक छैन ? आइफा अवार्ड भन्ने विदेशी कार्यक्रमले नेपालको नाम दुनियाँमा ‘रोशन’ गरिदिन्छ, वा फेसबुकको प्रोफाइल पिक्चरमा लोगो राखेर नेपाल भ्रमण वर्ष सफल हुन्छ भन्नेहरू नेपाली साहित्य र साहित्यिक अनुवादमा नेपाल चिनाउन सक्ने खुबी किन देख्दैनन् ?

अनुवाद त्यस्तो एउटा आँखीझ्याल हो जसबाट दुनियाँले हाम्रो संसार देख्न सक्छ। अनुवादले बाहिरी संसारलाई हाम्रो संसार हेर्ने दृष्टि दिन्छ। हामी के सोच्छौं, हाम्रो जीवन कस्तो छ, हामी नेपाली पनि मानव हौं र हाम्रा पनि आवेग र संवेग छन् भन्ने कुरा सुनाउनलाई त कथा चाहिन्छ, कविता चाहिन्छ, चलचित्र चाहिन्छ। सगरमाथाको पोस्टकार्डले मात्र यो सब देखाउन सक्दैन।

साहित्यबिनाको समाज त मृतप्रायः हुन्छ। हामीसँग साहित्य छ, त्यसैले हामी जीवन्त छौं। तर हामीसँग त्यो जीवन्तता अनुवादमार्फत प्रस्तुत गर्न आवश्यक स्रोत छैन, स्रोत जुटाउने जाँगर छैन। मूल कुरा त उत्सुकता नै छैन। कार्यकर्ताले भरिभराउ प्रज्ञाप्रतिष्ठानले यतातिर ध्यान दिनेवाला नै छैन। किनभने, ती प्राज्ञसित आफ्ना सोच–खोज (सोच नास्ति, खोज बढुवा प्रयोजनका गोप्य थिसिस) अनुवादलायक छन् भन्ने आत्मविश्वास छैन। अरू गतिलाको अनुवाद भए आफू पछि परिने भइयो, पर्दाले छोपिने भइयो, प्राज्ञहरूबाट यो पहलकदमी हुँदैन नै।

के प्रकृतिका पोस्टकार्ड, बी ग्रेडको साहित्यको सी ग्रेडको अनुवाद मात्र नै हुन् विदेशीका सामु हाम्रो पहिचान र सामर्थ्य ? के यिनले नेपालको मौलिक र विशिष्ट संस्कृतिको कथा भन्न सक्छन्/भनेका छन् ? नेपाल घुमेर फर्किंदै गरेको पर्यटकले यहाँबाट अंग्रेजी वा फ्रान्सिसी वा जर्मन भाषामा अनुवाद भएका किताब लान सकिरहेका छन् ? हाम्रा नेता–प्राज्ञ विदेश जाँदा पुस्तक पसल नछिर्लान्, तर यता डुल्न–घुम्न आउनेहरू पुस्तक पसल चहारेको तर गतिला नपाएको मैले देखेको छु।

अनुवादमा पर्याप्त लगानी र अनुवादकको पर्याप्त लगनबिना नोबेल पुरस्कार, म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार...को सपना देख्न सक्नेचाहिँ हो के हामी वीर (तर बुद्धु) नेपालीले ! हुन त हाम्रा दुई तिहाइ प्रम नै सपनाजीवी हुनुहुन्छ। भन्नैपर्छ— अनुवादको अभावमा हाम्रो जीवन्तता बाहिरी दुनियाँको नजरमा मृततुल्य छ।

गर्नैपर्ने घाटाको व्यापार

दुई वर्षअघि इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ अंग्रेजीमा अनुवाद गरेकी मञ्जु श्री थापाले भनेकी छन्— एउटा ठिकठिकै आकारको किताब अनुवाद गर्न कम्तीमा छ महिना छुट्याउनुपर्छ। ‘रमिता’का लागि उनले तीन हजार डलर बराबरको एउटा अमेरिकी संस्थाको अनुवाद वृत्ति पाएकी थिइन्। क्यानडा बस्ने उनलाई त्यो रकमले मुस्किलले एक–डेढ महिना धान्यो होला। प्रकाशकले दिने रोयल्टीले त अर्को एक महिना पनि धान्दैन। नेपालमै बसेर अनुवाद कर्म गरिरहेकाले त त्यति अवसर पनि पाउँदैनन्। त्यसैले त मलाई मेरा प्रकाशकले बारम्बार भनिरहन्छन्— तिमी अनुवादमा आफ्नो भविष्य नखोज।

मलाई त्यसो भन्नुमा उनको स्पष्ट चासो हो कि उनको साथी अनुवादक बनिटोपलिएर भोको पेट सुत्न नपरोस्। भारतमा आजको दिनमा सबैभन्दा बढी अनुवाद गर्ने अनुवादक अरुणभ सिन्हा— जसले ४५ वटा साहित्यिक कृति अनुवाद गरिसकेका छन्— समेत अनुवाद मात्रले पेट पाल्न नसकिने बताउँछन्। त्यसरी हेर्दा पेसाका रूपमा अनुवाद घाटाको काम हो। अनुवादमा खर्च गर्ने समय अन्य काममा लगाए जितिन्छ। अझ साहित्यिक अनुवादले मात्र त खान पनि पुग्दैन।

आजको नेपालमा अनुवाद कर्ममा लागेका कुनै पनि अनुवादकले अनुवादकै भरमा जीवनयापन गर्न सक्ने स्थिति छैन। यसरी बुझौं— साहित्यिक अनुवाद या आफूलाई मन परेका किताबको मात्र अनुवाद गरेर पुग्दैन। अनुवादै मात्र गरेर पालिन्छु भन्ने हो भने अन्तर्राष्ट्रिय निकायका विकासे प्रतिवेदन अनुवाद गर्नुपर्छ। विकासे अनुवादले सिर्जनशीलता र ऊर्जा खर्लप्पै खाइदिन्छ। राज्यस्तरबाट यथोचित सहायता नभई अनुवादको प्रवद्र्धन सम्भव छैन।

त्यसैले ल्याटिन अमेरिकी लेखक गाब्रियल गार्सिया मार्केजले भनेका छन्, अनुवाद भनेको मुस्किल काम, कम नाम र दामको पेसा हो। उनका लागि अनुवाद एकदमै चुनौतीपूर्ण र महत्त्वपूर्ण काम हो। ‘राम्रो अनुवाद सधैं अर्को भाषामा रिक्रियसन हो। त्यसैले म ग्रेगरी रबासाप्रति नतमस्तक छु। मेरो काम अंग्रेजीमा सम्पूर्ण रूपमा रिक्रियट भएको छ। यसमा यस्ता केही भाग छन्, जसलाई लिटरल रूपमा बुझ्न गाह्रो हुन्छ। तर अनुवाद पढ्दा यस्तो लाग्छ, अनुवादकले किताब पढे र उनको स्मृतिको आधारमा पुनर्लेखन गरे। त्यसैले म अनुवादकको अत्यन्तै प्रशंसा गर्छु। उनीहरू बौद्धिक कम, अन्तज्र्ञानी बढी हुन्।’

प्रकाशकले कौडीको भाउमा अनुवाद गराउने र अनुवादलाई पूर्ण रूपमा सिर्जना पनि नमान्ने कुरामा मार्केजको असहमति छ। ‘कतिपय त्यस्ता किताब छन् जसलाई म स्पेनिस भाषामा अनुवाद गर्न चाहन्थेँ’, मार्केज भन्छन्, ‘तर त्यसो गर्न मलाई आफ्ना किताब लेख्नजत्तिकै काम गर्र्नुपर्थ्यो र खान पुग्नेजति पनि कमाउन गाह्रो पर्थ्यो।’

अनि के खर्च टर्दैन भनेर अनुवाद नै नगर्नु ? त्यो त प्रश्न नै भएन। अनुवाद समाजको श्रीवृद्धिका लागि अत्यावश्यक सांस्कृतिक हतियार हो। मार्केजले बुझेको अनुवादको महत्त्व देशका प्रशासक, प्रकाशक, लेखक, सम्पादकले नबुझेसम्म अनुवाद सिर्जनशील पेसाका रूपमा फस्टाउन सक्दैन। र अनुवादबिना हाम्रा कथा बाहिरी दुनियाँलाई मात्र होइन, आफैंलाई पनि बुझाउन सकिँदैन।

नेपालकै कुरा गर्ने हो भने हाम्रोजस्तो बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देशमा मानिसहरूबीच एकअर्कालाई बुझ्न सघाउने अनुवादभन्दा अर्को गतिलो उयाय छैन। बहुलतालाई स्वीकार र प्रवर्द्धन गर्ने अब्बल हतियार हो, अनुवाद। राजनीतिले जोड्न नसकेका मन यसले जोडिदिन्छ। अरू मानिस पनि हामीजस्तै मानिस रहेछन् भन्ने बुझ्न सघाउँछ।

हामीले नेपाली भाषाका पुस्तक अंग्रेजीमा अनुवाद गरेर मात्र पुग्दैन। न त विदेश वा नेपालका अंग्रेजी पुस्तक नेपाली भाषामा अनुवाद गरेर पुग्छ। जबसम्म बृहत् रूपमा नेपालभित्रकै एक भाषाको पुस्तक अर्को भाषामा अनुवाद हुँदैन, तबसम्म अनुवादले समाजलाई जोड्ने शक्ति अनुभव गर्न सकिँदैन। उदाहरणका लागि मैथिली भाषाको पुस्तक लिम्बू भाषामा या गुरुङ भाषाको पुस्तक नेपाल भाषामा अनुवाद नहुँदासम्म आफ्नो भाषिक–सांस्कृतिक धरोहर बुझ्न सकिँदैन। अर्को समुदायको मानिसका भावना, कथा, संवेदना बुझ्न सकिँदैन। अर्थात् आफैंलाई बुझ्न सकिँदैन।


जवाहरलाल नेहरु विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा विद्यावारिधि दिनेश काफ्लेको अनुवादमा बेन्यामिनको उपन्यास ‘खबुज’ प्रकाशित छ भने उनको अनुवादमा नयनराज पाण्डेको ‘उलार’ यही महिना बजारमा आउँदै छ। काफ्लेले द वायर र रट्लेज बुक्सको सम्पादकीय समूहमा पनि काम गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.