कलाकारलाई तीजको चटारो
सामान्य नेपाली महिलाजस्तै कलाकारले पनि तीज मनाउने गरेका छन्। कार्यक्रमका लागि विदेशमा हुने गायिकाले उतै भएका नेपाली महिलाहरूसँग तीज मनाउँछन् भने यहाँ हुनेले परिवारसँग मनाउने गरेका छन्। कोही पानी पनि नखाई कडा व्रत बस्छन्, कोही व्रत नबसी तीज मनाउँछन्।
राधिका हमाल, गायिका
मेलिना राई, गायिका
तीजका कार्यक्रमसँगै रेकर्डिङमा व्यस्त छु। तीज मनाउने गरेकी छैन तर तीजका गीत गाएर रमाइलो चाहिँ गर्छु। हरेक वर्ष प्रायः दर्शकसँगै तीज मनाउने गरेकी छु। यसपालि चाहिँ तीजका लागि विदेशबाट निम्तो आएको छ। विदेशमा नेपाली दिदीबहिनीसँग तीज मनाइन्छ होला।
सुनीता दुलाल, गायिका
कहिले देशमा त कहिले परदेशमा तीजका कार्यक्रममा एकदमै व्यस्त छु। गत वर्षको तीज विदेशमा मनाएकी थिए। यसपालि पनि विदेशमै मनाउँछु। नेपालमा तीज मनाउन नपाएको निकै वर्ष भइसक्यो। तीजमा व्रत नबसे पनि चोखो खाएर, मन्दिर गएर पूजा गर्ने गर्छु।
सञ्चिता लुइँटेल, अभिनेत्री
नेपाली महिलाले जसरी तीज मनाउँछन्, मैले पनि त्यसरी नै मनाउने गर्छु। साथीहरूसँग दर खाने कार्यक्रम भइरहेका छन्। यस वर्षको तीज माइतीमा मनाउने सोच छ। मेरा थुप्रै दिदीबहिनी छन्। उनीहरूसँग तीज मनाउन पाउँदा खुशी लाग्छ। हरेक तीजमा व्रत बस्छु। पानी नखाई चाहिँ बस्दिनँ। साँझ बत्ती बालेपछि फलफूल खान्छु। दरमा शाकाहारी खाना खाइन्छ। खीर, पनिरलगायत मन पर्छ।
पूर्ण कला विसी, गायिका
तीज कार्यक्रममा व्यस्त छु। अस्ट्रेलियामा १४ दिनको कार्यक्रम सकेर आइसकेँ। कुवेतमा हुने कार्यक्रममा जाने तयारी गरिरहेकी छु। सांगीतिक क्षेत्रमा आउनुअघि तीजमा व्रत बस्थेँ। अहिले समय नै मिल्दैन। कार्यक्रमतिरै तीज मनाइन्छ। यो वर्ष तीजमा बुटवल हुनेछु।
रीता केसी, गायिका
गत वर्षको तीज युरोपमा नेपाली दिदीबहिनीसँग मनाइयो। यसपालि बैंककतिर मनाइन्छ होला। मलाई तीज विशेष लाग्छ। त्यस दिन व्रत बस्छु। भरसक पानी पनि नखाई व्रत बस्छु। सकिन भने पानी खाएर बस्छु। व्रतका दिन कतै जान्नँ। देश–विदेश जता भए पनि पायक पर्ने दिदीबहिनीलाई आफू भएको ठाउँमा बोलाउँछु र रमाइलो गर्छु। बैंककमा नेपालीले बनाएको शिवको मन्दिर छ। व्रत बसेर त्यहीँ पूजा गर्ने योजना छ।
सिन्धु मल्ल, गायिका
तीज लागेसँगै सांगीतिक कार्यक्रममा व्यस्त छु। भ्याइनभ्याइ भइरहेको छ। अघिल्लो वर्षको तीज नेपालमा मनाएँ। यो वर्ष पनि नेपालमै हुनेछु। भर्खरै विदेशतिर कार्यक्रम सकेर आएकी छु। फेरि जानु छ। तीजमा चोखो खाना खाएर व्रत बस्ने गरेकी छु। दिदीबहिनीलाई नचाएर, आफू पनि सँगै नाचेर तीज मनाउनेछु।
बेनिशा हमाल, अभिनेत्री
दर खाने निम्ता एकदमै धेरै आएका छन्। बिरामी भएकाले कतै जान पाएकी छैन। तीजमा व्रत बस्दा एक पटक धेरै गाह्रो भयो। त्यहाँदेखि व्रत बसेकी छैन। दरका दिन हाम्रो घरमा चाम्रे खाने चलन छ। तीजमा साथीहरूसँग मन्दिर जान्छु। पूजापाठ गर्छु।
निरिशा बस्नेत, अभिनेत्री
तीज परिवारसँग मनाउँछु। व्रत बस्दिनँ। दर खाने दिनमा ममीहरूसँग राति उठेर दर खान्छु। तीजका दिन हुने कार्यक्रममा सहभागी हुन्छु, नाच्छु। रातो लुगामा सजिन खूब मन पर्छ।