गौहत्या छानबिन गर्न समिति गठन
सुर्खेत : सुर्खेतमा भएको गौहत्याबारे सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ। गृहमन्त्रालयले गौहत्याको छानबिन गरी त्यसको प्रतिवेदन बुझाउन समितिलाई १५ दिनको समय दिएको छ। मन्त्रालयका उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको हो।
यो समितिले अबको १५ दिनभित्र गौहत्याको विषयमा छानबिन प्रतिवेदन बुझाउने मन्त्रालयका प्रवत्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। छानबिन समितिमा सुरक्षा निकायका प्रतिनिधि पनि रहेको जनाइएको छ।
नेपालगञ्जबाट दैलेखको श्रीस्थान लैजाने भन्दै सुर्खेत ल्याइएका दुई सय ९१ गाईमध्ये २४ वटा गाईगोरु वीरेन्द्रनगरका भीरमा खसालिएका कारण मरेका थिए। यस्तै दर्जनौ गाईगोरु घाइते छन्। यही घटनाको छानिबन गर्न मन्त्रालयले शनिबार समिति गठन गरिएको जनाएको हो।
यता दैलेखको श्रीस्थान मन्दिर व्यवस्थापन समितिले भने गाइगोरु आफूहरुले नझिकाएको जनाएको छ। शनिबार विज्ञप्ति जारी गर्दै मन्दिर व्यवस्थापन समितिका कार्यवहाक अध्यक्ष केशवराज थापाले जिल्लाको भैरवी गाउँपालिका र मन्दिर व्यवस्थापन समितिलाई गाई ल्याउनबारे कुनै जानकारी नभएको बताएका हुन्।
नेपालगञ्ज उपमहानगरपालिकाले श्रीस्थान क्षेत्रमा लैजान भन्दै आठ ट्रकमा बिहीबार राति गाई पठाएको थियो। सोहीक्रममा ति गाई सुर्खेतका भीरबाट खसालिएका थिए।