एक दलीय शासनतर्फ सरकार : महामन्त्री कोइराला
स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लोकतन्त्र समाप्त पार्दै एकदलीय शासन चलाउने अभ्यासमा सरकार लागि परेको बताए। नेपाल महिला संघ स्याङ्जाद्वारा प्रकाशित शक्ति नामक स्मारिकाको शनिबार वालिङ्मा विमोचन गर्दै महामन्त्री कोइरालाले कम्युनिष्ट सरकार लोकतन्त्र र स्वतन्त्रता समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका हुन्।
सरकार भष्टाचार, हत्या हिंसा, बलात्कार र ठगी काण्डमा उद्त रहेको बताउँदै महामन्त्री कोइरालाले सरकारले गरेका कुदृष्टिको विरोधमा उत्रन कार्यकर्तालाई आग्रह गरे। धेरै नागरिकका बलिदानीले प्राप्त संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसमा आएको बताउदै कांग्रेसमा भएको गुट उपगुटका कारण कम्युनिस्ट सरकारले अधिनायकवाद लाद्ने बाटो अपनाएको बताए।
कार्यक्रममा केन्द्रीय सदस्य गुरु घिमिरे, संविधानसभा सदस्य शारदा पौडेल, पूर्वसभापति खगेन्द्रराज रेग्मी, संविधानसभा सदस्य राजु थापा, पुर्वसांसद शंकरप्रसाद पाण्डे, महासमिति सदस्य भोजराज अर्याल, कांगे्रस नेता तुलसी गिरी, शिवकुमार गिरी, महिला संघ पुर्वकेन्द्रीय सदस्य राजकुमारी गुरुङ्, महिला नेतृ अम्बिका पौडेल र विद्यार्थी नेता खगेन्द्र भण्डारी लगायतका नेताले कांग्रेसलाई एकतावद्ध बनाउन नेतृत्वलाई आग्रह गरे।