गौबध प्रतिबन्धमा बाबुरामको प्रश्न : करोडौं बुढा गाईगोरु के गर्ने होला ?
काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बुढा गाईगोरुको चिन्ता गरेका छन्। शुक्रबार नेपालगंजबाट नियन्त्रणमा लिइएका छाडा चौपाया सुर्खेतमा ल्याएर भीरबाट खसालिएको घटनाको विषयमा टिप्पणी गर्दै बाबुरामले यस्तो चिन्ता गरेका हुन्।
बाबुरामले नेपालगंज उपमहानगरपालिकाले नियन्त्रणमा लिएर काञ्जिहाउसमा राखिएका गाई सुर्खेतमा भीरबाट खसालेको घटनाले त्यस सम्बन्धमा प्रकाशित समाचार पढेर यस्तो टिप्पणी गरेका हुन्।
ट्विटरमा सक्रिय बाबुरामले ‘गौहत्या छानबिन गर्न समिति गठन’ शीर्षकको समाचार ट्विट गर्दै बाबुरामले लेखेका छन्, ‘खुला सीमाका दुवैपट्टी गौबध प्रतिबन्धित भएपछि करोडौ बुढा गाईगोरु के गर्ने होला ?’
बाबुरामले पूर्वपश्चिम राजमार्ग र दक्षिणी सीमा जोड्ने सडकमा छाडा गाईगोरु देखिएको भन्दै यसको कारणसमेत खोजेका छन्। उनले गृहमन्त्रालयले गठन गरेको समितिको कार्यक्षेत्र अलि विस्तार गरे राम्रो हुने सुझावसमेत दिएका छन्।
‘गौहत्या छानबिन समितिको कार्यक्षेत्र अलि विस्तार गरे कसो होला ?’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘हाल बाँके–बर्दिया कैलाली जाँदा पूर्वपश्चिम लोकमार्ग र दक्षिणी सीमासम्म जोड्ने सडक चौकमा असामान्य रुपमा छाडा गाईगोरु देखिन्थे ! के कारण होला ?’