गुणस्तरीय अंग्रेजी जान्दैनन् अमेरिकी
अमेरिका : पश्चिमा भाषा भनेर चिनिने अंग्रेजी भाषाको शुरुवात पश्चिम जर्मनीबाट भएको मानिन्छ। रोमन लिपिमा लेख्न शुरु गरिएको अंग्रेजी भाषा अहिले विश्वमा बोलिने साझा भाषा हो। विश्वभर ७० करोड मानिसले यो भाषा मात्र बोल्ने गर्दछन्, त्यो भनेको विश्वको जनसंख्याको २० प्रतिशत हो। अंग्रेजी भाषा दोस्रो भाषाको रूपमा पनि उत्तिकै महत्वको साथ विश्वभर फैलिएको हो।
त्यसमध्ये अंग्रजी भाषा सबैभन्दा धेरै बोलिने देश अमेरिका हो। त्यसपछि बेलायत, क्यानडा, अस्ट्रेलिया, आएरल्यान्ड, न्युजिल्यान्ड लगायतका मुलुकमा यो भाषा बोलिन्छ। यसो त विश्वभरका मानिसको आकर्षणको देश भएकाले अमेरिकाका मानिस ४ सय ३० भाषा बोल्ने गर्दछन्। अमेरिकामा अंग्रेजी भन्नेबित्तिकै, अंग्रेजी फररर भन्ने सोच आउनु सामान्य हो। तर पहिलो राष्ट्रिय भाषा भए पनि अमेरिकामा रहेका अधिकांश मानिस राम्रो र गुणस्तरीय अंग्रेजी जान्दैनन्। अघिल्लो वर्षको जनगणनाले समेत २० प्रतिशतभन्दा धेरै अमेरिकी नागरिक घरमा आफ्नो भाषा बोल्छन्। अध्ययनहरूले पाँचमा एकजना अन्य भाषा बोल्नेहरू रहेको देखाउँछ।
सामान्य श्रम गर्ने यूरोप, एशिया र मध्य अमेरिकाका मानिसहरू अंग्रेजी बुझ्छन् तर फर्काउन जान्दैनन्। अध्ययनहरूले पहिलो अंग्रेजी, दोस्रो स्प्यानीश, तेस्रो चिनियाँ र चौथोमा फ्रान्सेली भाषा बोल्ने देखाउँछ। क्रमशः अन्य मुलुकका भाषाहरू पनि यहाँ बोलिन्छ। ६ वर्षदेखि अमेरिकामा बस्दै आएका ग्वाटेमालाका सिरिलोे मोरालेसले भनेको बुझ्छन् तर फर्काउन जान्दैनन्। मध्य अमेरिकाका मानिसलाई अमेरिका भनेको नेपाली नागरिक भारत र भारतीय नेपाल गएजस्तै हो।
ग्वाटेमाला, होन्डुरस, पानामा, मेक्सिको लगायतका देशका मानिसलाई ट्रम्प प्रशासनको धम्की र छेकबारले छुँदैन। ग्वाटेमालाका मोरालेस चारपटक आफ्नो देश पुगेर आए, किचनमा सेफ सहयोगीको काम गर्ने मोरालेसले लेखेको पर्ची पढन जानेका छन्, दिएको काम सबै गर्छन्, अह्राएको काम बिगार्दैनन् तर अंग्रेजीमा जवाफ फर्काउन सक्दैनन्। मध्य अमेरिकीले काम छिटो गर भन्नलाई ‘¥यापितो’ र कृपयालाई ‘पोरफावोर’ भन्ने गर्छन्। मोरालेस एक प्रतिनिधि पात्र मात्र हुन्। यहाँ वर्षौंदेखि काम गर्ने चीन, भारत, नेपाल लगायतका मुलुकका मानिसको हालत पनि यही हो।
अमेरिकामा अधिकांश सामान्य काम गर्ने जस्तै घर, सडक बनाउने, रेस्त्राँ र होटलमा सरसफाइको काम गर्ने, कृषिको काम गर्ने मानिस फररर अंग्रेजी बोल्न जान्दैनन्। कामका बेला सम्बन्धित मुलुकका मानिस आफूहरूबीच आफ्नै मुलुकको भाषा बोल्ने गरेको पाइन्छ। ताप्लेजुङका सहकुल क्षेत्री अमेरिका आएको सात वर्ष भयो, उनले शुरुमा सेभेन इलाभेन नामको स्टोरमा काम गरे। त्यहाँ काम गर्दा पैसा लिने मेसिन चलाउन भारतीय मूलका नागरिकले सिकाए, साहु भारतीय भएकाले साहुसँग बोल्न, उनले सिकेको सामान्य हिन्दी भाषाले सहयोग ग¥यो।
ग्राहकले सामान आफैं उठाएर काउन्टरसम्म ल्याउँछ, ग्राहकसँग ट्वान्टी डलर प्लिज भने पुग्ने। यसरी क्षेत्रीले एक वर्ष कटाए, त्यसपछि उनले ग्राहकलाई सेवा दिन सक्ने अंग्रेजी बनाएका छन्। उनले बोल्ने अंग्रेजी भन्न खोजेको ठिक छ तर व्याकरण मिलेको हुँदैन। यसो त अमेरिकीहरू समेत व्याकरण नमिलाई बोल्छन्। अर्थात् उनीहरूले व्याकरण ख्याल गर्दैनन्। नेपालबाट अमेरिका आएका क्षेत्री जस्तै भारतको पञ्जाबबाट अमेरिका आएका अंशु सिंह न्यूयोर्कमा बस्छन्, उनले घर बनाउने काम गर्छन्। अंशु सिंहलाई पनि राम्रो अंग्रेजी आउँदैन। उनले दुईतीन वर्ष रेस्त्राँमा काम गरे, साहुजी पनि पञ्जाबकै, साहुसँग हाँ जी पाजी, ठिक हे पाजी (हजुर दाइ, हुन्छ दाइ) भने पुग्ने। पञ्जाबी भाषामा दाइलाई पाजी भनिन्छ।
यसअघि रेस्त्राँमा तन्दुरी सेफको काम गर्ने उनलाई अंग्रेजी जान्ने जरुरत पनि परेन। अमेरिका आएको पाँच वर्ष भयो अहिले भने ग्राहकसँग बोल्नैपर्ने भएपछि अंग्रेजी सिकेका छन्। यस्तै भारतको पटनाबाट आएका सन्दीप पटेललाई पनि राम्रो अंग्रेजी आउँदैन। पैसा फिर्ता दिने र मागेको सामान दिने काममा पोख्त पटेलले यसरी नै काम चलाएका छन्, पैसा कमाएका छन्।
अमेरिकामा रेस्त्राँ, ग्याँसस्टेशन, सेभेन इलाभेन लगायतका ग्रोसरी स्टोर चलाएका मालिक अधिकांश भारत, चीन, नेपाल लगायतका देशका नागरिक छन्। उनीहरूले आफ्नै देशको मानिस काममा राख्ने गरेको पाइन्छ। यसले गर्दा पनि उनीहरूलाई थप अंग्रेजी जान्नुपर्ने जरुरत परेन। अधिकांश कामदारले आझ्नै देशको भाषा बोल्छन् भने ग्राहकलाई दिने सेवाको अंग्रेजी केही समयमा सिकिसकेका हुन्छन्। न्यूयोर्कको बीएमसीसी कलेजमा अध्ययनरत धादिङका उद्धव रिजाल भन्छन्, ‘अंग्रेजी भाषा हो यो सिक्न चाहे सिकिन्छ तर हामी अभ्यस्त छैनौं। कामका बेला ग्राहकलाई चाहिनेभन्दा बढ्ता अंग्रेजी हामीले जान्ने प्रयास गर्दैनौं, त्यसैले हाम्रो अंग्रेजी कमजोर छ।’
‘हामी अब अमेरिकी हुन सक्दैनौं, जो नेपालमै हुर्केर आएका छौं’, उनी भन्छन्, हामीपछिको पुस्ता अमेरिकी जस्तै अंग्रेजी बोल्छन्, जो यहाँको विद्यालय र विश्वविद्यालयमा अध्ययनरत छन्।’
सरकारी काम काजमा समेत अन्य दर्जनौं भाषामा निवेदन दिन पाउने व्यवस्था गरिएको छ। अहिले त अस्पतालका सूचनापाटीमा अंग्रेजी लगायतका अन्य धेरै भाषामा सूचना राखिएको छ। अदालती कारबाहीमा र अन्य सरकारी काममा समेत दोभाषे राख्न पाइने व्यवस्था भएकाले यहाँ आउने पाको उमेरका मानिसलाई सहज भएको छ। नेपाली भाषामा समेत यहाँका अस्पतालमा सूचना पढ्न सकिन्छ भने न्यूयोर्क लगायतका अन्य केही राज्यमा सरकारी निवदेन समेत नेपालीमा दिन पाउने व्यवस्था छ।