प्रहरी चौकीमा पराल, छोटी भन्सार गौचरन

प्रहरी चौकीमा पराल, छोटी भन्सार गौचरन

विराटनगर : मोरङको भारतीय सीमावर्ती नाका जहदामा सीमा प्रहरी चौकीको कार्यालय भवन छ, तर प्रहरी छैनन्। १० बर्से माओवादी द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएको प्रहरी चौकीमा अझै पनि प्रहरीको उपस्थिति नहुँदा सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ भने स्थानीय नागरिकले सुरक्षा चुनौती बेहोर्नु परेको छ।

चौकीमा प्रहरी नभएपछि स्थानीयले घाँस÷पराल राख्ने गरेका छन्। नेपाली सिमकार्ड समेत काम नगर्ने सो स्थानका बासिन्दा सीमापारी रहेका भारतीय सुरक्षाकर्मीको भरमा सुरक्षित भएको महसुस गरेर बस्नु पर्ने बाध्यता छ। यो नाकालाई तरिगामा नाका भन्ने गरिन्छ। पारी भारतीय चौकीमा प्रहरी छन्। तर नेपालतर्फको चौकी प्रहरीविहीन भएकाले स्थानीय असुरक्षित भएर बस्नु परेको स्थानीय नवराज साहले बताए। सामान्य उजुरी गर्न पनि ९ किलोमिटर टाढाको इलाका प्रहरी कार्यालय जानु पर्ने बाध्यता रहेको उनको भनाइ छ।

फोनबाट जानकारी दिन नेटवर्क नआउने भएकाले सामान्य झैझगडाको छलफल गर्न पनि दुई दिन खर्चिनु पर्ने उनले बताए। बेलाबखत गस्तीमा मात्र प्रहरी आउने भएकाले स्थानीयमा प्रहरी छ भन्ने अनुभव नभएको स्थानीय बताउँछन्। स्थानीय जनप्रिय माविका शिक्षक कमलेश्वरकुमार साहले फेरि प्रहरी बस्ने भनिएपछि भवन निर्माण गरी तयारी अवस्थामा रहे पनि नआएको बताए। ‘भवन निर्माण भएको छ, प्रहरी कहिले आउँछ भनेर स्थानीय फर्खेर बसेका छन्। केही परे प्रहरीलाई तुरुन्तै खबर गर्न सकिँदैन, नेपाली सिमले पनि काम नगर्ने भएकाले असुरक्षित भएर स्थानीयले बस्नु परेको छ,’ उनले भने।

इलाका प्रहरी कार्यालय जहदाका सइ शंकरप्रसाद खतिवडाले जनशक्ति र साधन अभावमा सो स्थानमा नियमित जान नसकिएको बताए। ‘हामीसँग एउटा मोटरसाइकल मात्र छ, त्यसैले साताको दुई पटक गस्तीमा जाने गरेका छौं,’ उनले भने। चोरी पैठारी निरन्तर हुने सो स्थानमा प्रहरी नहुँदा मरिच तस्करीसँगै अन्य गैरकानुनी काम हुने प्रमुख बाटो बन्दै गएकोमा स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयले कुनै घटना भए प्रहरीलाई भारतीय नम्बरबाट फोन गर्दा समेत घन्टौं प्रहरी नपुग्ने भएकाले अपराधी सजिलै भाग्ने गरेको बताए। मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले तत्काल प्रहरी पठाउनेबारे कुनै निर्णय नभएको बताए।

६ वटा छोटी भन्सार अझै बन्द

१० बर्से माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार अझै सञ्चालनमा आएका छैनन्। सीमापार आवतजावत गर्न सहज बनाउन र अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले मोरङमा स्थापना गरेको ९ वटा छोटी भन्सारमध्ये ३ वटा मात्र सञ्चालनमा रहेका विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी मनिराम पौडेलले जानकारी दिए।

उनका अनुसार मधुमल्ला, डोरीया, चुन्नीबारी, कदमाहा, चौकीघाट र तरिगामा छोटी भन्सार अझै बन्द छन्। हाल रंगेली, डाइनिया, मायागन्ज छोटी भन्सार सञ्चालनमा छन्। ६ वटा छोटी भन्सार सञ्चालन नहुँदा राजस्व समेत उठ्न सकेको छैन। बन्द सबै छोटी भन्सार कार्यालय क्षेत्र गौचरनमा परिणत भएका छन्।

अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। तत्कालीन माओवादीले २०५१ सालमा यता २०६० सालसम्म बम विस्फोट गराएर वा त्रासका बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसकेको हो। भारतीय प्रहरीको मिलोमतो मा पछिल्लो समय सो नाकाबाट मरिचसहित अन्य खाद्यवस्तु तस्करी भइरहेको स्थानीयको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.