लागुऔषधको अखडा बन्दै वीरेन्द्रनगर

लागुऔषधको अखडा बन्दै वीरेन्द्रनगर

सुर्खेत : वीरेन्द्रनगर लागुऔषध कारोबार र प्रयोगकर्ताको अखडा बन्दै गएको छ। लागुऔषध कारोबारीले वीरेन्द्रनगरलाई मुख्य केन्द्र बनाएका छन्। भारतीय बजार हुँदै सहज रूपमा भित्रिने भएकाले यहाँ लागुऔषध दुव्र्यसनीको संख्या बढ्दो छ।

वीरेन्द्रनगरमा अहिले लुकीछिपी लागुऔषध कारोबार र प्रयोग हुने गरेको छ। प्रतिबन्धित लागुऔषधसहित ठूलो संख्यामा पक्राउ परेका व्यक्तिको संख्याले पनि वीरेन्द्रनगरमा यसको जालो फैलिँदै गएको पुष्टि हुन्छ। गत आर्थिक वर्षमा मात्र सुर्खेत प्रहरीले १ सय ३८ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ। जिल्लामा पक्राउ परेको यो अहिलेसम्मकै सबैभन्दा धेरै हो। प्रहरी तथ्यांकले नै वीरेन्द्रनगर लागुऔषध कारोबारी र प्रयोकर्ताको अखडा बनेको पुष्टि गर्छ।

खुला सीमाना, बढ्दो जनघनत्व र चेकजाँचमा कडाइ नहुँदा वीरेन्द्रनगरलाई कारोबारीले अखडा बनाएको देखिन्छ। कारोबारी र प्रयोगकर्ताको मुख्य अखडा वीरेन्द्रनगरको बजार क्षेत्रभित्रै रहेको प्रहरी बताउँछ। ‘भरियाहरू त प्रायः वीरेन्द्रनगर भित्रिने मुख्य नाका सुब्बाकुनाबाट पक्राउ पर्छन्, तर प्रयोगकर्ताको अखडा बजार क्षेत्र नै हो’, सुर्खेतका एसपी वसन्त रजौरे भन्छन्, ‘पछिल्लो समय नेवारे र फलाँटेमा पनि कारोबारी र प्रयोगकर्ता भेटिन थालेका छन्।’

पछिल्ला केही वर्षको तथ्यांक केलाउँदा पनि वीरेन्द्रनगरमा लागुऔषधको जालो फैलिँदै गएको देखिन्छ। आर्थिक वर्ष ०७४/७५ मा ५६ जना लागुऔषध प्रयोगकर्ता र कारोबारी प्रक्राउ परे। पछिल्लो ३ वर्षको तथ्यांकले लागुऔषध कारोबार र प्रयोगको दर बढ्दो छ। ०७३/७४ मा ३५ जना पक्राउ परेका थिए। लागुऔषध कारोबार, ओसारपसार र प्रयोगमा महिलाको संख्या पनि उत्तिकै छ। गत वर्ष मात्र वीरेन्द्रनगरबाट १४ जना महिला लागुऔषधसहित पक्राउ परेका छन्। यही अवधिमा दुई जना विदेशी पनि पक्राउ परे।

प्रहरीले गत वर्ष वीरेन्द्रनगरबाट १ किलो ६ ग्राम ६ सय ८० मिलिग्राम ब्राउनसुगर नियन्त्रणमा लिएको छ। त्यस्तै ६ किलो ३ सय ४ ग्राम ७० मिलिग्राम चरेश, एक सय ८१ ग्राम ५ सय मिलिग्राम गाँजा र १ सय ५६ ट्याब्लेट नाइट्रोजन बरामद गरेको छ। प्रहरीका अनुसार २० वर्ष मुनिका युवायुवती नै कारोबार र दुव्र्यसनमा बढी संलग्न छन्। एसपी रजौरे भन्छन्, ‘दुव्र्यसन रोक्न प्रहरी सक्रिय छ, तर पनि प्रयास पर्याप्त छैन। परिवारको माया नपाउँदा युवायुवती कुलतमा फस्ने गरेका छन्, विपन्न युवालाई भरिया बनाएको पाइन्छ।’

परिवारले हेरचाह र माया नदिएका बालबालिका सबैभन्दा छिटो दुव्र्यसनमा फस्ने प्रहरी अनुसन्धानले देखाएको छ। खुला सिमानाका कारण भारतबाट नेपालगन्ज नाका हुँदै सुर्खेत ल्याउने ठूलै गिरोह सक्रिय रहेको प्रहरी बताउँछ। सुर्खेतबाट बाहिर लैजाने अर्काे समूह छ तर अधिकांश सुर्खेतमै खपत हुने गरेको प्रहरीको अनुमान छ। एसपी रजौरे भन्छन््, ‘पहिलाजस्तो चोकचोकमा हुने कारोबार र प्रयोग अहिले कम भएको छ, हामी यसविरुद्ध अझै सशक्त अभियान थाल्नेछौं।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.