पढाइ पौरख : जेम्सलाई टिक फेलोसिप

पढाइ पौरख : जेम्सलाई टिक फेलोसिप

भाइबहिनी हो, तस्बिरमा देखिएका ब्यक्ति तिमीहरूकै साथी जेम्स कर्माचार्य हुन्। उनी अहिले १३ वर्षका भए। जेम्स अमेरिकाको न्युयोर्कस्थित रिजउडमा बस्छन्। आफ्नो घर नजिकैको विद्यालय आईएस ९३ बाट उनले सात कक्षा पास गरे। केही साताको नेपाल भ्रमणमा रहेका जेम्स अमेरिका फर्किएपछि आठ कक्षाको पढाइ सुरु गर्दैछन्।

जेम्स आफ्नो विद्यालयमा एक अब्बल विद्यार्थीमा गनिन्छन्। उनी आफ्नो कक्षाको वार्षिक परीक्षामा सधैं पहिलो हुने गरेका छन्। सात कक्षामा पनि उनले ९९.८७ प्रतिशत अंक ल्याएर सर्वोत्कृष्ट बनेका छन्।

न्युयोर्कभरिका अति नै प्रतिभाशाली विद्यार्थीले प्रतिस्पर्धा गरेका एक छात्रवृत्ति कार्यक्रम ‘टिक फेलोसिप’मा उनी पनि छानिएका छन्। यसरी छानिने उनी पहिलो नेपाली मूलका अमेरिकी नागरिक हुन्। यो फेलोसिप पाएसँगै जेम्सले हाइस्कुलदेखि कलेज तहसम्मको पढाइ आफूले रोजेको विद्यालय र कलेजमा पढ्न पाउने भएका छन्। यसअन्तर्गत उनले चार सय ८० हजार डलर बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्।

टिक फेलोसिपमा लड्नका लागि हरेक विषयमा ९५ प्रतिशत अंक ल्याएको हुनुपर्ने नियम छ। जुन जेम्सका लागि कहिले ठूलो कुरा भएन। उनी विद्यालयभरिकै मेहनती छात्रमा गनिन्छन्। यही कारणले उनलाई विद्यालयका शिक्षकशिक्षिकाले पनि धेरै माया गर्छन्। उनकै विद्यालयका गाइडेन्स काउन्सेलरले उनलाई उक्त फेलोसिपको जानकारी दिँदै आवेदनका लागि आग्रह गरेका हुन्। फेलोसिपमा आवेदन दिएको करिब ६ महिनासम्म उनले धेरै नै मेहनत गरे।

यसका लागि आफ्नो परीक्षाको रिपोर्ट कार्डहरू देखाए र करिब दुई सयभन्दा बढी प्रश्नहरू भएका परीक्षा दिए। त्यसैगरी उनले तीन पटकसम्म अन्तर्वार्ता पनि दिए। अन्तर्वार्ताका क्रममा टिक फाउन्डेसनका पदाधिकारीहरूले जेम्सलाई उनकै विषयमा धेरै प्रश्नहरू सोधे।

उनीहरूले जेम्सको रुचि, उनको बोलाइको शैली, उनको सामाजिक झुकावलगायतका विषयलाई मल्यांकन गरेर फेलोसिपका लागि उनलाई छानेका हुन्। त्यहाँको प्राइभेट हाइस्कुलमा पढ्न विद्यार्थीलाई तयार पार्ने क्रममा उनले नियमित समयको विद्यालयका पढाइबाहेकका अन्य कक्षा पनि लिए। यस्ता विभिन्न प्रक्रिया पार गरेर उनी तीन सय जनाबाट अन्तिम ३२ मा छानिए र यो फेलोसिप प्राप्त गर्न सफल भए।

जेम्सले अब त्यहाँको राम्रो प्राइभेट स्कुलमा रोजेर पढ्न पाउनेछन्। अमेरिकामा प्राइभेट स्कुलको पढाइ निकै महँगो हुन्छ। वर्षको करिब ४० हजारदेखि एक लाख डलरसम्म खर्च गर्नुपर्ने हुन सक्छ। तर जेम्सले आफ्नो पढाइ र मेहेनतका कारण यो सुविधा छात्रवृत्ति स्वरूप पाएका छन्। त्यहाँको ट्रिभोरडे नामक प्राइभेट स्कुलमा हाइस्कुल तहको पढाइ पूरा गर्ने उनको रुचि छ।

पढाइसँगै जेम्सको रुचि फुटबलमा पनि छ। विद्यालयमा खेल्न नभ्याए पनि घरमा उनी साथीहरूसँग यो खेल खेल्ने गर्छन्। रोनाल्डो, मेस्सी, पेले, म्याराडोना, नेमार उनका मनपर्ने खेलाडी हुन्। त्यसैगरी फुर्सदको समयमा विज्ञानसम्बन्धी भिडियोहरू हेर्न, किताब पढ्न र कार्टुन हेर्न उनलाई मन पर्छ।

घरका काममा पनि उनले आफ्नी आमा सरितालाई सघाउने गरेका छन्। उनलाई भुइँ पुछ्न र थाल माझ्न मन लाग्छ। आफ्नो छोरा अलि लजालु स्वभावका भए पनि स्मार्ट स्टुडेन्ट भएकाले विद्यालयका शिक्षकशिक्षिकाले पनि उनको सफलतामा गर्व अनुभूति गरेका उनका बाबु राजन कर्माचार्यले बताए।

जेम्स राम्रो विद्यार्थी भएकै कारण उनको विद्यालयको सञ्चालक समितिमा समेत चार जना अभिभावकमध्ये आफूलाई बोलाएर सञ्चालक समिति सदस्यमा राखेको राजनले जानकारी दिए। फेलोसिप प्राप्त गर्नेमा २७ वटा देशका विद्यार्थी रहेका छन्। पहिलो पटक नेपाली मूलका विद्यार्थी जेम्स पनि फेलोसिपमा परेकामा यो गर्वको विषय रहेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.