उट्पट्याङ गरे पनि पढाइ बिगारिनँ

उट्पट्याङ गरे पनि पढाइ बिगारिनँ

म नेपाली रंगमञ्चको कलाकार हुँ। सडक नाटक हुँदै यो क्षेत्रसम्म आइपुगेँ। तपाईंहरूले मलाई फिल्मको पर्दामा थरीथरीको भूमिकामा देख्दै आउनुभएको छ। गीतहरूमा पनि अभिनय गरिरहेको छु। यसका लागि मैले अथाह मेहनत गरेको छु। सायद त्यसैको परिणाम हुनसक्छ, सबैको मनमा बस्न सफल पनि छु। आज तिमीहरूजस्ता ज्ञानी नानीबाबुसँग आफ्नो मनको कुरा साट्न पाउँदा झन् खुसी लागेको छ।

मेरो जन्म बाराको डुमरवाना गाविसस्थित स्याउली चोकमा भएको हो। मेरो परिवार मुस्लिम समुदायमा पर्छ। म आफ्नो परिवारको कान्छो छोरो हुँ। मेरो सम्पूर्ण बाल्यकाल त्यहीँ बित्यो। मेरो वास्तविक नाम ‘मोहम्मद नाजिर हुसेन’ हो। तर, मलाई सबैले ‘नाजिर हुसेन’ भनेर चिन्छन्।

हाम्रो घरभन्दा अलि पर एउटा धारा थियो। एक दिन आमासँग धारामा गएको थिएँ। त्यही बेला गाउँका दाइहरूलाई स्कुल गएको देखेर आमालाई भनेँ, ‘आमा म पनि स्कुल जान्छु।’ आमाले भोलिपल्टै भर्ना गरिदिनुभयो। म नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा १ मा भर्ना भएँ। त्यहीँबाट मेरो औपचारिक शिक्षा प्रारम्भ भयो। त्यति बेला म पाँच वर्षको मात्र थिएँ।

सानैदेखि चकचके र चञ्चले स्वभावको थिएँ। चञ्चले भए पनि घरमा आमाबाबुको सामुन्ने शान्त भएर बस्थेँ। तर, साथीभाइ भेटेपछि एकदमै रमाउँथेँ। स्कुलमा पनि एकदमै उट्पट्याङ काम गर्थें। जति उट्पट्याङ गरे पनि मैले आफ्नो पढाइ भने बिगारिनँ। मेरो पढाइ नबिग्रिनुमा घरको शैक्षिक वातावरण पनि हुन सक्छ। किनभने मेरो दाजु, दिदीहरू एकदमै धेरै पढ्नुहुन्थ्यो। उहाँहरू पढेको देखेर मलाई पनि पढ्न एकदमै इच्छा लाग्थ्यो। राति पढ्दा टुकी, लालटिन बालेर पढ्नुपर्थ्यो।

त्यति बेला मुस्लिम समुदायमा महिलालाई स्कुल पठाउने चलन थिएन। तर, मेरा आमाबुवाले हामी सबैलाई समान रूपमा पढाउनुभयो। हाम्रो गाउँमा मेरा दिदीहरूले मात्र एसएलसीसम्म पढेका थिए।

म पनि कक्षा १ मा प्रथम भएँ। ठूलो हुँदै गएपछि उट्पट्याङ काम पनि बढ्दै जान थाल्यो। ३ कक्षामा पढ्दा सरले टेबल याद गर्न दिनुभएको थियो। मैले याद गरेको थिइनँ। त्यो दिन सरको पिटाइ खाएँ। त्यसपछि अर्को दिन सबै कण्ठ गरेर सरलाई सुनाएँ। सर एकदमै खुसी हुनुभयो र माया गर्नुभयो। सरले माया गरेपछि झन् झन् पढ्न मन लाग्यो।

स्कुलबाट आएपछि र बिदाको दिनमा घरमा काम गर्नुपथ्र्यो। शनिबारको दिन बिदा हुँदा गाउँका साथीहरूसँग साइकल लिएर बिहानै जंगल जान्थ्यौं, दाउरा लिन। त्यहाँबाट आएर खाजा खाई घाँस काट्न जान्थेँ। त्यसपछि खाना खाएर गोठालो जानुपथ्र्यो। हामी भैंसी चराउन जाने ठाउँमा एउटा खोला छ। खोलाभन्दा अलि पर ठूलो उखुबारी थियो। हामी खोलाको छेउमा साथीहरूसँग पुवा पकाई पुवा पकाइ खेलिरहेका थियौं। खेल्दाखेल्दै भैंसी हेर्न बिर्सेछौं। सबै भैंसी उखुबारीमा पसेछ। उखु मालिकले भैंसी लगेर थुनेछन्। घरमा पिट्लान् भनेर हामी रातिसम्म पनि घर गएनौं। पछि हामी सबैका आमाबुवा खोज्दै आए। भोलिपल्ट उहाँहरूले ५०÷५० रुपैयाँ जरिवाना तिरेर भैंसी घरमा ल्याउनुभयो। त्यो पल सम्झिँदा अहिले पनि हाँसो लाग्छ।

घरमा बिहान पनि भात, दिउँसो खाजा पनि भात, बेलुका पनि भात खानुपर्दा दिक्क लाग्थ्यो। एकदुई रुपैयाँ जम्मा गथ्र्यौं। स्कुलमा टिफिन हुनेबित्तिक्कै साथीहरूसँग पसल गएर भुजा र पकौडा खान्थ्यौं।

हामीलाई पढाउने सरको घरमा भोगटेको बोट थियो। टिफिनमा हामी केटा साथीहरू पैसा जम्मा गरेर भोगटे किनेर ल्याउँथ्यौं। केटी साथीहरूले नुन खुर्सानी पिसेर ल्याएका हुन्थे। स्कुलको छेउमा फुटबल खेल्ने ठूलो मैदान थियो। हामी त्यहाँ बसेर नुन खुर्सानीसँग भोगटे खान्थ्यौं। यी दिन सम्झिँदा रमाइलो लाग्छ।

म स्कुलमा साथीहरूलगायत सरहरूको पनि प्यारो थिएँ। किनभने म पढाइबाहेक अन्य अतिरिक्त क्रियाकलापमा पनि सफल हुन्थेँ। स्कुलमा हुने हाजिरी जवाफ प्रतियोगिता, वादविवाद प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता प्रायः सबैमा प्रथम हुन्थेँ। यस्ता प्रतियोगिता भइरहोस् जस्तो लाग्थ्यो।

कहिलेकाहीँ कविता पनि लेख्थेँ। कक्षा ५ मा पढ्दाको कुरा हो, त्यति बेला ‘मञ्जरी’ नामक पत्रिका (१५÷१५ दिनमा) आउँथ्यो। त्यसमा ‘मेरो स्कुल’ शीर्षकको कविता छापिएको थियो। यसले मलाई अलिअलि कला क्षेत्रतिर आकर्षित गरेको हो कि जस्तो लाग्छ। यस्तै यस्तै गर्दै म कक्षा १२ सम्म त्यहीँ पढेँ।

म घरमा हुँदा रेडियो नेपालबाट बज्ने ‘धनिया र रामविलास’ कार्यक्रम सुन्थेँ। यसको डायलग कण्ठ गरेर स्कुलमा साथीहरूलाई खुब सुनाउँथेँ। साथीहरूले पनि खुब मन पराउँथे। नाच्न भनेपछि झनै हुरुक्क हुन्थेँ। स्कुलको कार्यक्रम होस् यो दसैंतिहारको देउसीभैलो, सबैमा नाच्ने गर्थें म।

मैले आफू कलाकारिता क्षेत्रमा जान्छु भनेर सोचेको पनि थिइनँ। म कक्षा ६ मा पढ्थेँ। त्यति बेला काठमाडौंबाट मण्डला थिएटरका संयोजक तथा

निर्देशक राजन खतिवडा सरले हाम्रो गाउँमा आएर सडक नाटकसम्बन्धी एक साता लामो तालिम दिनुभयो। त्यो सिकेपछि हामीले पनि एउटा सानो नाटक बनायौं। विभिन्न संस्थाको सहयोगमा ठाउँठाउँमा जनचेतनामूलक नाटक देखाउन थाल्यौं। मेरो अभिनय सबैले मन पराउन थाले। त्यसपछि म काठमाडौं आएँ। सन् २००९ मा म मण्डला थिएटरसँग आबद्ध भएँ। यसको करिब पाँच वर्षपछि फिल्म क्षेत्रमा प्रवेश गरेँ। पछि मैले पढाइ छोडेर कलासँग सम्बन्धित कक्षाहरू लिन थालेँ। त्यसपछि मैले ‘पुन्टे परेड’ फिल्ममा अभिनय गर्ने मौका पाएँ। यो नै मेरो पहिलो फिल्म हो। यसपछिको अर्को फिल्म ‘होस्टेल रिटन्र्स’मा अभिनय गरेँ। मलाई सबैसामु चिनाएको फिल्म पनि यही नै हो।

भाइबहिनी हो, म तिमीहरू पनि सफल भएको देख्न चाहन्छु। यसका लागि एकदमै मेहनत गर्नुपर्छ। निरन्तर अभ्यास गरिरहनुपर्छ। सबैले आआफ्ना रुचिका काम गरे जीवनमा अवश्य सफल भइन्छ।

(हुसेनसँग इन्द्र चौधरीले गरेको कुराकानीमा आधारित।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.