पहिलो पटक राष्ट्रिय चलचित्र कन्फ्रेन्स हुँदै
काठमाडौं : मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा चलचित्र प्राज्ञिक 'कन्फ्रेन्स' हुँदैछ ।
यही भदौ २६ गतेदेखि तीनदिने राष्ट्रिय चलचित्र कन्फ्रेन्समा मूलतः नेपाली चलचित्रको प्राज्ञिक बहस र विमर्श हुनेछ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने कन्फ्रेन्समा कार्यपत्र प्रस्तुति, कार्यपत्रमाथि छलफल तथा चलचित्र क्षेत्रका जल्दाबल्दा विषयमा ‘प्यानल’ छलफल हुने कन्फ्रेन्स संयोजक अनुप सुवेदीले जानकारी दिए ।
कन्फ्रेन्समा चलचित्रकर्मी, चलचित्र क्षेत्रका विज्ञ, चलचित्रको अध्ययन, अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्य बारे लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ ।
यसबाहेक बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा. हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘कि नोट स्पीच’ पनि समेटिने छ ।
यो कन्फ्रेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्र बारे अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासोभित्र पार्न मद्दत पुग्नेछ अपेक्षा गरिएको आयोजकले जनाएको छ । नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रको बारेमा गम्भीर बहस, छलफल र विमर्श गर्न पहिलो पटक यस्तो कन्फ्रेन्स हुन लागेको हो ।