काल्चे भीरको कठिन यात्रा
बाजुरा : बाजुराको साविकको दहकोट गाविस गौमुल गाउँपालिकाको यात्रा गर्दा काल्चे भीर पार गर्नुपर्छ। कालो चट्टानको बीचमा स्थानीयले बनाएको भीरको बाटोमा वर्षौदेखि दहकोटबासीको जोखिमपूर्ण यात्रा झन् जोखिमपूर्ण बनेको छ।
काल्चेको भीरमा भर्याङको साहारामा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। काठको भर्याङमा जोखिम यात्रा गर्नु परेको स्थानीयले बताएका छन्।
काल्चेको भीर गौमुल गाउँपालिका २ र ६ को सीमानामा पर्दछ। वडा नम्बर १, २ र ३ नम्बर स्थानीयले त्यही काल्चे भीर भएर ओहोरदोहोर गर्नुपर्छ। भीरको बाटो जोखिमपूर्ण यात्रालाई सहज बनाउन गाउँपालिकाले गाउँपालिकाको केन्द्र घट्मुनादेखि वडा नम्बर १ अम्लीस जोड्ने सडकको ट्रयाक खोल्न गएको आर्थिक वर्षमा ९० लाख रुपैयाँमा सुनन्दा मष्टेश्वरी कन्ट्रक्सनलाई ठेक्का दियो।
गाउँपालिकाले छुट्याएको पैसाले काम अपुरो भएपछि सडक डिभिजन कार्यालयबाट सोही सडकको काल्चे भीरको एक किलोमिटर चट्टानमा ट्रयाक खोल्न एक करोडको ठेक्का ४५ दिनमा सक्ने गरी अर्को ठेक्का भयो।
३५ प्रतिशत घटेर ठेक्का हालेको डिबी कन्ट्रक्सनले ६० लाखमा काम पाए पनि अहिले कामै नगरी अलपत्र छोडिदिएको छ। डिबी कन्ट्रक्सनले ४५ दिनमा सक्छु भनेर लिएको ठेक्कामा कामै नभएको सडक डिभिजन कार्यालय साफेबगरका इन्जिनियर दमन विष्टले बताए।
४५ दिनभित्र सक्ने ठेक्कामा १० दिनको मात्रै म्याद थपेको सडक डिभिजनले त्यसपछि भने सडक विभागमा लेखापढी सुरु गरेको जनाएको छ। अधिकांश ठेक्कामा स्थानीय निमार्ण व्यावसायीले घटिघटाउमा ठेक्का हाल्ने र उनीसँग निमार्णको सामग्री नहुने र काम समयमा नहुँदा समस्या हुने गरेको इन्जिनियर विष्टले बताए।
वर्षाको समय चिप्लो बाटोमा काठको भर्याङमा जोखिपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको गौमुल गाउँपालिकाका १ का अध्यक्ष बलबहादुर रोकायाले बताए। यो ‘भीरमा आवत जावत गर्दा त त्यसै पनि डर लाग्छ, त्यसैमा काठको भर्याङमार्फत् ओहोरदोहर गर्नु परेको स्थानीय एक गैरसरकारी संस्थामा कार्यरत अनमी सुस्मिता परियारले बताइन।
काल्चे भीर बाजुरा जिल्लाको जोखीमपूर्ण यात्रा मानिन्छ। यसैमा सडक निमार्णको जिम्मा पाएको ठेकेदारले बाटो बिगारी दिएपछि काठको भर्याङ लगाएर स्थानीयले जोखिम मोलेर यात्रा गरिरहेका छन्।
‘पहिला पनि काल्चेभीरको यात्रा जोखिमपूर्ण नै हो, सडक निर्माण गर्दा डोजेरले बाटो भत्काएपछि झन् जोखिम बढेको छ’, गौमुल गाँउपालिका १ का अध्यक्ष बलबहादुर रोकायाले भने ।
गौमुल १, २ र ३ का स्थानीयले गाउँपालिकाको कार्यालय आउन पनि यही बाटो प्रयोग गर्ने गरेका छन्। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले ठेकेदारको लापरवाहीले यस्तो भएको बताए।
‘पहिलाको बाटो भत्कियो, ठेकेदारले त्यो भन्दा अगाडि काम बढाएन्, अस्थायी रुपमा यात्रा गर्न सहजताका लागि काठको भर्याङ निर्माण गरिएको हो’, अध्यक्ष रोकायाले भने। भीरको भर्याङमा आवतजावत गर्ने महिला बालबालिका र जेष्ठ नागरिकलाई झन् समस्या हुने गरेको छ।