विश्वभर आज : विश्वयुद्धबारे जर्मनीको माफीदेखि अमेरिकामा आँधीको त्रास

विश्वभर आज : विश्वयुद्धबारे जर्मनीको माफीदेखि अमेरिकामा आँधीको त्रास

काठमाडौँ : १९३९ सेप्टेम्बर १ कै दिन जर्मनीले पोल्याण्डमाथि बम हमला गरेको थियो । जुन घटना दोस्रो विश्वयुद्धको निम्तो थियो । त्यस घटनाको आज ८० वर्ष पुगेको छ । वर्तमान विश्व राजनीतिमा पनि प्रभावशाली मुलुकबीच आर्थिक मामिलालाई लिएर बेला बेला तनाव उत्पन्न हुँदैआएको छ । यसबाहेक पनि केही प्राकृतिक विपद् आज विश्व समाचार बनेका छन् । पढौँ आजका प्रमुख विश्व समाचार :


विश्वयुद्धको ८० वर्षपछि जर्मन राष्ट्रपतिले माफी मागे


पोल्याण्ड : जर्मनीका राष्ट्रपति फ्र्यांक वाल्टर स्टेइनमेरले दोस्रो विश्वयुद्ध सुरु भएको ८० वर्षपछि पोल्याण्डसँग माफी मागेका छन् । पोल्याण्डको वेलन सहरमा भएको एक सभामा उनले युद्ध पीडितहरुसमक्ष माफी माग्दै युद्धमा बाच्नेहरुप्रति धन्य भएको बताए ।

जर्मनीको नाजी सरकारले १ सेप्टेम्बर, १९३९ मा यही सहरमा पहिलो पटक बम हमला गरेको थियो । सोही आक्रमणको स्मृतिको रुपमा गरिएको सभामा जर्मन राष्ट्रपतिले त्यस घटनाप्रति दुख व्यक्त गरेका हुन् । दोस्रो विश्वयुद्धका बेला यहाँ ६० लाख मानिस मारिएका थिए । जसलाई इतिहासकै कुरुप लडाइँको रुपमा व्याख्या गरिन्छ । पोल्याण्डका राष्ट्रपति अन्द्रेज दुवाले भने स्वतन्त्रताको लागि लडाइँ गर्ने र वलिदानी दिने सिपाहीहरुलाई धन्यवाद दिएका थिए ।

बहमासमा भयानक आँधीको भय, अमेरिकामा पनि असर

वासिङ्टन : बहमासमा डोरियन हावाको कडा गतिबाट आउने खतरनाक आँधीको चेतावनी दिइएको छ । अमेरिकामा आँधी सम्बन्धी सूचना दिने निकाय ‘नेशनल हुरिकेन सेन्टर’ले यसबारे सचेत गराएको छ । आँधीले आइतबार बहमासमा हान्ने बताइएको छ । सोही आँधीको असर अमेरिकाको पूर्वी समुद्री किनार क्षेत्रमा पनि पर्नेछ ।

आँधीको जोखिमसँगै बहमासका बासिन्दाहरु नियमित काम नै छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ जाने तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ । यस्तै त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय बाहेक अन्य विमानस्थल बन्द गरिएको छ । यसपटकको आँधीलाई १९९२ को ‘५औं क्याटेगोरी’को आँधीपछिकै ठूलो आँधीको रुपमा मौसमविद्हरुले जनाएका छन् ।

भारतको अर्थव्यवस्था अति चिन्ताजनक : पूर्व प्रधानमन्त्री सिंह

नयाँदिल्ली : भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् । मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका कारण अर्थव्यवस्थामा मन्दी आएको टिप्पणी गरेका हुन् ।

सरकारले दुई दिनअघि नै तथ्यांक जारी गरिको थियो । जहाँ अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्युन रहेको बताइएको छ । डा. मनमोहन सिंहको एक अर्थशास्त्रीको रुपमा पनि पहिचान छ । बिबिसी हिन्दीका अनुसार यसरी लगातार गिरावट आउनु भारतको लागि अति जटिल अवस्था हुने उनले बताएका छन् । ‘लगातार गिरावट जारी रह्यो भने भारतका लागि अति जटिल अवस्था हुनेछ । म आग्रह गर्छु कि सरकार प्रतिशोधको राजनीतिबाट बाहिर आओस् । अर्थव्यवस्थाको यस्तो हालत सरकारको गल्तीहरुबाटै बनेको हो ।’

अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ५ मारिए, २० घाइते

वासिङ्टन : अमेरिकाको टेक्ससस्थित एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जना मारिएका छन् । प्रहरी कारवाहीमा ती हतियारधारी व्यक्तिको पनि मृत्यु भएको छ । २० जना घाइते छन् । घाइतेमध्ये तीनजना कानुन व्यवसायी छन् ।

ती व्यक्तिले हुलाक सेवाको एउटा गाडी अपहरणमा लिइ अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ओडेसा प्रहरी प्रमुख माइकेल गर्कका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । घटनाका अभियुक्त ३० वर्षीय पुरुष भएको पनि बताइएको छ । टेक्ससमै एक महिनाअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । जहाँ २२ को ज्यान गएको थियो ।

अमेरिकासँग वार्ताको पहल भइरहँदा अफगानिस्तानमा तालिबानी हमला


बगदाद : उत्तरी अफगानिस्तानको बगलान प्रान्तमा तालिबानी समूहले हमला गरेको छ । अमेरिकासँग वार्ताको पहल भइरहँदा तालिबानी लडाकुले अचानक यस्तो हमला गरेका हुन् । पछिल्लो समय अफगानिस्तानमा चल्दैआएको १८ वर्षे युद्ध अन्त्यको पहल भइरहेको थियो ।

हमलाको प्रारम्भीक समाचार अनुसार अहिलेसम्म कोही पनि मारिएको वा घाइते भएको खबर सार्वजनिक भएको छैन । सरकारी सेनासँग लडाइँ भएको भोलिपल्टै तालिबानी लडाकुले यहाँ हमला गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । यसअघि अफगानिस्तानको गृह मन्त्रालयले कुन्दुजबाट तालिबानी हटाइएको भनेको केही घण्टामै आक्रमण भएको हो ।

इजरायललाई हिजबुल्लाहको चेतावनी


तेहरान : इजरायलले ड्रोन आक्रमणको परिणाम भोग्न तयार हुनुपर्ने भन्दै हिजबुल्लाहका नेता हसन नसरल्लाहले चेतावनी दिएका छन् । साथै हिजबुल्लाहका कमान्डरहरु प्रतिवादका लागि तयार रहेको पनि उनले बताए ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा उनले यस्तो चेतावनी दिएका हुन् । लेबनन र इजरायलबीच तनाब बढिरहँदा नसरल्लाहले आफ्ना समर्थकलाई सम्बोधन गर्दै ‘बदला लिन’ तयार रहेको बताए । गत आइतबार हिजबुल्लाहले इजरायललाई ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो ।

हङकङ प्रदर्शनमा हवाइ फायर, पाँचजना गम्भीर घाइते


हङकङ : हङकङमा आन्दोलनरत युवा प्रदर्शनकारीहरुले आइतबार पनि प्रहरीको प्रतिबन्द तोड्दै सडकमा ओर्लिए । यस क्रममा प्रहरीले थुप्रै रबरका गोली, पेट्रोल बम, पानीको फोहोरा र हवाइ फायरिङ समेत गरेको थियो ।

प्रहरी र प्रदर्शनकारीको झडपका साथै धरपकड समेत भएको छ । यस क्रममा थुप्रै प्रदर्शनकारी घाइते भइ अस्पतालमा छन् । तीमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको बताइएको छ । हङकङमा तीन महिनादेखि आन्दोलन जारी छ । जहाँ चीनले समेत पटक पटक प्रदर्शनकारीलाई धम्की दिँदैआएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.