‘भाइरस’ प्रयोग गरी एटीएम ह्याक

‘भाइरस’ प्रयोग गरी एटीएम ह्याक

काठमाडौं : भाइरसद्वारा सिस्टम ह्याक गरी चिनियाँ ह्याकरले करोडौं रुपैयाँ चोरी गरेका छन्। ‘भाइरस प्रयोगबाट एटीएम मेसिनको सिस्टम ह्याक गरी पैसा चोरी गरिएको हो’, प्रहरी परिसर टेकुमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बैंकर संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने। उनले एटीएमको सफ्टवेयरमध्ये एउटा ह्याक भएको जानकारी दिए।

चिनियाँ ह्याकरले नेपाल प्रवेश गरेको दुई दिनभित्रै एटीएम ह्याक गरी करिब साढे ३ करोड रुपैयाँ रकम चोरी गरेका थिए। प्रहरीले एटीएम बुथबाट निकालेकोे रकमसहित ५ ह्याकरलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आफूलाई प्रभु बैंकका अपरेसन म्यानेजरले आफ्ना केही एटीएमबाट कसैले अस्वाभाविक रुपमा पैसा निकालिरहेको जानकारी दिएपछि ह्याकरलाई तत्कालै पक्राउ गर्न सफल भएको बताए। ‘सूचना पाउने बित्तिकै मैले सम्बन्धित वृत्तलाई जानकारी गराएँ। सूचनाको वजनलाई ध्यान दिँदै म आफैं पनि कार्यालयबाट निस्किएँ,’ उनले थपे, ‘थोरै मात्र ढिला गरेको भए हामी चुक्थ्यौं। त्यसैले हामी चनाखो भएका थियौं।’

डीएसपी बोगटी आफ्नो टोलीसहित कमलादी नजिकै पुगेका बेला दरबारमार्ग वृत्तको टोली पनि त्यहाँ पुगिसकेको थियो। शंकास्पद भनिएको नबिल बैंकको एटीएममा पुग्दा प्रहरीले त्यहाँ चु ल्याङआङ नामक चिनियाँ नागरिक फेला पारेको थियो।

‘एक मिनेट ढिलो भएको भए वा ल्याङआङलाई पक्राउ गर्न नसकेको भए हामीलाई अपराधीसम्म पुग्न यति सहज हुने थिएन’, डीएसपी बोगटीले भने, ‘उनलाई पक्राउ गर्न सफल भएकै कारण हामी अरु ४ अपराधीसम्म पुग्यौं।’

४५ लाख नेपाली रुपैयाँसहित पक्राउ परेका ल्याङआङले सोधपुछ गर्दा बोल्न मानेनन्। उनका साथबाट प्रहरीले हात्तिसारस्थित माया मनोर बुटिक होटलको चाबी फेला परेको थियो। प्रहरीको टोली माया मनोर बुटिक होटल पुग्दा अन्य ४ जना चिनियाँ नागरिक झोला बोकेर बाहिर निस्किन थालेका थिए। प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो। प्रहरीले उनीहरू बसिरहेको कोठा २०१, ६०२ र ६०४ मा लगेर सोधपुछ गर्‍यो।

‘एटीएमबाट लिएका पैसा उनीहरूले पालैपालो होटलको कोठा ओसार्ने गरेका रहेछन्, त्यसैले सुरुमै पक्राउ परेका ल्याङआङको साथबाट हामीले ४५ लाख मात्र बरामद गर्‍यौं‍’, बोगटीले भने, ‘जब होटलमा पुगेर भाग्न थालेको अवस्थामा थप ४ जना पक्राउ ग‍र्‍यौं त्यसपछि हामीले उनीहरूले गरेको अपराधको बृहत् रुप देख्यौं।’

प्रहरीले लिन च्यानमङ, ल्यो च्याले, चु ल्याङआङ, छिउ युनछिङ, छन पिनपिनको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ, ९ हजार १ सय ८ अमेरिकी डलर, १ हजार ९१ चिनियाँ युआन, २ सय ५० युरो, ५ हजार कम्बोडियाली मुद्रा र ८० हङकङ डलर बरामद गरेको छ।

उनीहरूका साथबाट १ सय ३२ नक्कली भिसा कार्ड, १७ सक्कली भिसा कार्ड, एउटा कार्ड प्रिन्टर मेसिन, ६ थान मोबाइलसमेत प्रहरीले बरामद गरेको छ। उनीहरूले नबिल, नेपाल एसबीआई र नेपाल इन्भेस्टमेन्ट बैंकका विभिन्न एटीएम बुथबाट पैसा निकालेको पाइएको छ। तर, कार्ड भने प्रभु, एनआईसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आईएमई, सनराइज बैंकको प्रयोग भएको प्रहरीले जनाएको छ। शनिबार ५ घण्टासम्म ह्याकरले पैसा झिकेका थिए।

तीन दिनका लागि नेपाल

चिनियाँ ह्याकरहरू ३ दिनका लागि मात्र नेपाल आएको प्रहरीको अनुसन्धानले देखाएको छ। शुक्रबार नेपाल भित्रिएका उनीहरूले आइतबार चीनतर्फ भाग्ने योजना बनाएको खुलेको छ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार उनीहरू शनिबार मात्र एटीएमबाट रकम चोर्ने योजना बनाएर नेपाल आएका थिए। ‘हामीले उनीहरूसँग सोधपुछ ग‍र्‍यौं, उनीहरूले आफूहरू तीन दिनका लागि मात्र काठमाडौं आएको बताएका छन्,’ एसएसपी सुवेदीले भने, ‘यो भनाइबाट के कुरा प्रष्ट हुन्छ भने उनीहरू आपराधिक मनस्थिति लिएर नै यहाँ आएका थिए। यही कारण चाँडै भाग्न खोजिरहेका थिए तर हामीले उनीहरूको योजना सफल हुन दिएनौं।’

नेपाली कनेक्सनको खोजी

एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकको नेपाली कनेक्सन प्रहरीले खोज्न थालेको छ। एकदिन अगाडि यहाँ आएर यति धेरै पैसा चोर्नु सामान्य कुरा नभएको प्रहरीको निष्कर्ष छ। नेपालीसमेत संलग्न रहेको सञ्जालकै माध्यमबाट यिनीहरू यहाँ आएको हुनसक्ने डीएसपी बोगटीले बताए। ‘यिनीहरूको सञ्जालमा नेपालीको संग्लग्नता नहोला भन्न सकिन्न, यतिधेरै पैसा कहाँ लाने कसरी चलाउने भन्ने पनि हुन्छ, त्यसैले यो पाटोबाट पनि अनुसन्धान भइरहेको छ,’ बोगटीले भने।

उनका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट बरामद भएका मोबाइलको कल डिटेलबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। ल्यापटप र अन्य मेसिनको फोरेन्सिक टेस्टको रिपोर्ट आएपछि अनुसन्धान अघि बढ्ने उनले जानकारी दिए।

सर्वसाधारणको निक्षेप सुरक्षित

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ह्याकरले बैंकको सफ्टवेयरमा नभएर एटीएम सिस्टममा आक्रमण गरेको बताए। ‘ह्याकरले एटीएम सिस्टममा आक्रमण गरेको खुलेको छ’, उनले भने, ‘बैंकको सफ्टवेयरमा आक्रमण नभएकाले सर्वसाधारणको निक्षेप सुरक्षित छ।’

ह्याकर समूहले रकम चोरी गरेपछि एटीएम सेवा अवरुद्ध भएको छ। तत्कालका लागि नेप्समा आबद्ध बैंकका एटीएम कार्ड अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न सकिन्छ। एटीएमबारे विस्तृत जानकारी लिनका लागि फरेन्सिक एनालाइसिसको रिपोर्ट नआएसम्म यसबारे भन्न नसकिने परिसर प्रमुख एसएसपी सुवेदीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.