करोडौंमा पनि बनेन डीपीआर

करोडौंमा पनि बनेन डीपीआर

सुर्खेत : जुम्लाको धौलीगाड बृहत खानेपानी आयोजना एक दशकदेखि अलपत्र छ। कर्णाली प्रदेशकै ठुलो भनिएको यो आयोजनाको डीपीआर बनाउने भन्दै करोडौं रकम खर्च भइसकेको छ। तर हालसम्म आयोजनाको अन्तिम डीपीआर नै बनेको छैन। डीपीआर नबन्दा आयोजना निर्माणको काम अलपत्र छ।

आयोजना निर्माणका लागि डिजाईन असफल भएको भन्दै पटकपटक डीपीआर बनाउने गरिएको छ। सुरुमा बनेको डीपीआर अनुसार केही काम पनि भयो। तर त्यो डीपीआरले काम नगरेको भन्दै बिचमै काम रोकियो। यही आयोजनाका लागि हालसम्म तीन पटक डीपीआर बनाउने कामभयो। तर डीपीआरको अन्तिम टुंगो लागेको छैन।

डीपीआर नबनेका कारण आयोजनाको बाँकी काम सुरु भएको छैन। यसअघि आयोजनाको च्याम्बर, इन्टेक र पर्खाल निर्माण तथा पाइप खरिदका नाममा सात करोडभन्दा बढी रकम खर्च भइसकेको छ। तर अहिले आयोजनाको नयाँ डीपीआर बनाउने काम भइरहेको छ। पटकपटक डीपीआर बनाउने नाममा करोडौं रकम अनियमितता भएको स्थानीयको आरोप छ। प्रथम डीपीआर अनुसार आर्थिक वर्ष २०६६/६७ देखी आयोजनामा निर्माणको काम सुरु भएको थियो।

यो आयोजना संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना कार्यान्वयन कार्यालयले हेर्दै आएको छ। कार्यालय प्रमुख महेश न्यौपानेले अन्तिम डीपीआरको काम सकिएको भन्दै रिपोर्ट आउन बाँकी रहेको बताए। उनकाअनुसार सुरुमा ४६ करोड र पुनः ६४ करोड लागतमा सम्पन्न हुने भनिएको थियो। तर आयोजनाको अन्तिम डीपीआर बनाउँदासम्म आयोजनाको लागत बढेर एक अर्ब ४२ करोड पुगेको छ। एक दशकसम्म डीपीआर बनाउँदैमा वितेको यो आयोजनाको नाममा हालसम्म खर्च भएको एकीन विवरण नै छैन। खर्चको एकीन विवरण निर्माण उपभोक्ता समितिले पनि दिन सकेको छैन।

‘डीपीआरको रिपोर्ट आएलगत्तै असोजपछि टेण्डर खोलेर आयोजनाको काम तीव्र गतिमा बढ्नेछ’ उनले भने, ‘कार्यालय भर्खर स्थापना भएको हो, अहिले हामीसँग न यसअघिको खर्च बिवरण छ, न त लेखापाल नै छन्।’ उनका अनुसार यसअघिको खर्च विवरण साविकको जिल्ला खानेपानी कार्यालयले संघीय खानेपानीमा बुझाएको छैन। आयोजनाका लागि आउने करोडौं बजेटसमेत बर्षेनी फ्रिज हुन्छ। यसबर्ष यो आयोजनाको ५० लाख फिर्ता भएको हो। आयोजनामा भएको खर्च विवरणबारे सामाजिक लेखा परिक्षण र सार्वजनिक सुनुवाईसमेत हालसम्म भएको छैन।

खानेपानी डिभिजन कार्यालयका लेखापाल लक्ष्मीदत्त न्यौपानेले हालसम्म आयोजना निर्माण तथा डीपीआर बनाउनमा भएको खर्चको विवरण र कागजात नै कार्यालयमा नभएको बताए। ‘धेरैले यही विषयमा सोधीखोजी गर्छन्, कार्यालयमा खर्चको श्रेस्ता नै छैन’ उनले भने, ‘म भर्खर आएको हुँ, यसअघिका कार्यालय प्रमुख र लेखापाललेसमेत मलाई श्रेस्ता दिएका छैनन्।’ यो विषयमा हालका कार्यालय प्रमुख राजिव रिमाल पनि अनविज्ञ छन्। यो आयोजना निर्माण सम्पन्नपछि जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाँउपालिका र तातोपानी गाँउपालिकामा एक घर एक धारा वितरण गर्ने लक्ष्य छ।

तत्कालीन जिल्ला खानेपानी कार्यालय प्रमुख अनिल केशरीकोे कार्यकालबाट सुरु भएको धौलीगाड बृहत खानेपानी आयोजनामा एक दशकमा आठ जना कार्यालय प्रमुख फेरिए। आयोजना सम्पन्न गर्न मुल समिति र पाँच वटा स्किममा पाँच उपसमिति समेत गठन भए। तर पनि हालसम्म आयोजनाको काम अगाडि बढेको छैन। आयोजनामा रकम अनियमितता भएको र मुल समिति, उपसमिति र आयोजना कार्यान्वयन पक्षका कर्मचारीले प्रष्ट पार्न नसकेको स्थानीय अम्मर रोकायाले बताए।

आयोजना निर्माण मुल समितिका अध्यक्ष राजबहादुर खत्रीले भने,‘पाँच वटा स्किमको काम र पाइप खरिद गर्दा हामीसँग समन्वय भएन, कार्यालय प्रमुखहरुले मनपरी ढंगले गरे। उपसमितिले संचालन गरेका स्किमका काम पनि अलपत्र छन्, यसमा हाम्रो कु्नै दोष छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.