चाडबाडले धार्मिक सहिष्णुता र सद्भाव कायम हुन्छ : राष्ट्रपति
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले चाडबाडले नेपालीहरुलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम हुने विस्वास व्यक्त गरेकी छिन्। तीजको अवसरमा शुभकामना दिदै उनले नेपाली दिदीबहिनीहरूमा हर्षोल्लास, सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवं सुस्वास्थ्य र दीर्घ जीवन कामना गरेकी छिन्।
भण्डारीले मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन आग्रह गरेकी छिन्। चाडपर्वले खुसी साटासाट र मनोरञ्जन गर्ने अवसर प्रदान हुने बताउँदै राष्ट्रपति भण्डारीले यसको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको धारणा राखेकी छन्।
शुभकामना सन्देशमा भनिएको छ, ' हरितालिका तीज पर्वले हामी सबैमा खुसी र मनोरञ्जन साटासाट गर्दै सामाजिक, साँस्कृतिक तथा पारिवारिक एकता र सम्वन्ध थप सुमधुर बनाउन सहयोय पुगोस भन्ने कामना गर्दछु।'