महिलाको अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक : प्रधानमन्त्री ओली
![महिलाको अधिकारको प्रयोग विश्वमै गौरव गर्न लायक : प्रधानमन्त्री ओली](https://annapurnapost.prixacdn.net/media/albums/KP-Oli-PM_20190415003335_oajTK8v1a7.jpg)
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिलाहरुको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको बताएका छन्।
तीजको अवसरमा शुभकामना दिँदै उनले महिलाको प्रतिनिधित्व संसदमा ३३ प्रतिशत र स्थानीय तहमा करिब ४१ प्रतिशत पुगेको तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, 'आज नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरहरुबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानुनहरु बनिसकेका छन्।'
प्रधानमन्त्रीले नेपाली महिलाहरुले विगतमा कष्टकर सामन्ती संस्कार र समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई केहि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेका स्मरण गरेका छन्।
ओलीले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन्।
उनले नेपालको सकारात्मक साँस्कृतिक परम्परामा महिला मुक्ति वा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)