पीडितलाई न्याय देऊ
![पीडितलाई न्याय देऊ](https://annapurnapost.prixacdn.net/media/albums/sahu-pidit_20190901005154_jqfniY6skH.jpg)
सर्लाहीमा एक व्यक्तिले गरिब तथा निमुखालाई ऋण दिई आफूखुसी तमसुक गराएको पाइएको छ। पीडितले न्याय खोज्दै राजनीतिक दलका नेतादेखि मन्त्रीसम्मका घर धाउन थालेपछि यो तथ्य बाहिर आएको हो। सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी) ले ऋण दिने नाममा २९९ जना स्थानीयलाई पीडित बनाएको पाइएको छ। पीडितका अनुसार कलवारले दिएको ऋणभन्दा कैयन् गुणा बढाएर असुलउपर गर्दा रहेछन्। एउटा ऋणीबराबर विभिन्न बहानामा सातवटासम्म तमसुक बनाउने गरेको खुलेको छ।
दुई लाख ऋण लिएकालाई १० लाखसम्मको कागज बनाएको पीडितले खुलासा गरे। ऋण दिएर कैयन् गुणा बढाउने मात्रै हैन, किस्ता बुझाउन जानेलाई दुव्र्यवहारसम्म गर्ने गरेको खुलेको छ। ऋण बुझाइसकेपछि पनि ‘अझै बाँकी छ’ भन्दै ‘टर्चर’ दिन थालेपछि दुर्गा चौधरी र उनका ससुरा आत्माहत्या गर्न बाध्य भए। कतिपय घरवारविहीन भएका छन् भने कतिपयको गाउँबाट उठिबास लागेको छ।
मुलुकी अपराध संहिता ऐनले व्यक्तिगत कारोबारमा १० प्रतिशतभन्दा बढी ब्याज लिन र दिन नपाइने उल्लेख छ। १० प्रतिशतभन्दा माथि ब्याजको कारोबार गर्न बैंक तथा सहकारीले मात्रै पाउँछन्। तर, कलवारले बढीमा ६० प्रतिशतसम्म ब्याज लिएर ऋण दिने गरेका छन्। ब्याज मात्रै हैन, सेवा शुल्क भन्दै कलवारले एक लाखको १० हजारभन्दा बढी असुल्दै आएका छन्। महिनामा किस्ता बुझाउन एक दिन मात्रै ढिला भयो भने एक लाखको एक हजार फाइन तिराउँदै आएको पीडितको गुनासो छ।
फिल्मको कथाजस्तै लाग्ने यो घटनाका पीडितको अवस्था दर्दनाक छ। ऋण चुक्ता गरे पनि जालसाजी गरेर बनाएको तमसुकको ऋणले उनीहरू चुर्लुम्मै डुबेका छन्। ऋण नतिरेको भन्दै कलवारले परिवारलाई नै तनाव दिइरहेका छन्। कतिपय पीडितको घरमा त पक्राउ पुर्जी नै आउन थालेको छ। कतिपय फरार अभियुक्तको सूचीमा छन्। धन्न ! स्थानीय नेताको आग्रहका कारण पीडितलाई प्रहरीले पक्राउ गरेको छैन। तर, उनीहरूले कहिलेसम्म तनावपूर्ण जीवन जिउने ? लिँदै नलिएको ऋणको भारी कहिलेसम्म बोक्ने ? यस्तो अवस्थामा मजदुरी गरेर दुई छाक टार्ने पीडितको हालत के होला ? जिल्ला प्रशासन कार्यालय पनि अदालती मुद्दा भन्दै पन्छिने गरेको छ। कलवार भने पीडित न्याय माग्दै काठमाडौं आएको थाहा पाएपछि ‘सबै नेतासँग चिनजान छ, तिमीहरूले केही गर्न सक्दैनौ’ भन्दै धम्क्याइरहेका छन्।
तमसुकको प्रमाणका आधारमा कलवार दह्रो देखिए पनि त्यो दबाबमा गरिएको एक फर्जी पत्रजस्तो भएको छ। तत्कालको अवस्थामा उनले अदालतमा मुद्दा दर्ता गर्दा सबै पीडितलाई मुद्दा लाग्ने अवस्था छ। तर, यसको व्यावहारिक पाटो पनि हेर्नुपर्छ। दुई छाक टार्न नसकेर परिवारका सदस्य विदेश पठाउन ऋण लिने गरिब तथा निमुखाले कसरी २० लाखभन्दा बढी ऋण लिन्छन् ? ऋणदाता कलवारले लिएको पैसा फिर्ता हुने केही आधारबिनै किन यतिका धेरै रकम ब्याजमा दिन्छन् ? यो घटना हेर्दा मुलुकी अपराध संहिता ऐन आकर्षित हुन्छ। ठगी, जालसाजी र शरीर बन्धक बनाएर झूटो प्रमाण बनाएको मुद्दामा कलवारलाई कारबाही हुनसक्छ। किनकि, उनले सन्फी चौधरीलाई बन्दुक देखाई कागज गरेको आरोप पनि छ। यी विभिन्न मुद्दामा कलवारलाई कारबाही गर्न सक्ने प्रशस्त आधार छन्।
घटना नयाँ हैन, केही वर्ष पुरानै हो। करिब १५० जना पीडित संगठित भएर कलवारविरुद्ध संघर्ष समिति बनाएर एक वर्षदेखि न्यायको खोजीमा छन्। यसबीचमा विभिन्न पार्टीका शीर्ष नेतालाई भेटे तर न्याय पाउन सकेका छैनन्। उनीहरूको एउटै पीडा छ— नखाएको ऋणबाट मुक्त हुन विभिन्न अड्डाअदालत धाउँदाधाउँदै मजदुरी गर्ने समय बित्छ। अब परिवार कसरी पाल्ने ? यसबारे सरकार मात्र होइन, सत्तारुढ पार्टीका शीर्ष नेता पनि जानकार छन्। सत्यतथ्य बुझी समस्या समाधानमा चासो देखाउनुपर्छ। रकम बुझाइसकेका पीडित फेरि पनि पीडित हुन नपरोस्। पीडकले कारबाही र पीडितलाई न्याय दिलाउन राज्यसंयन्त्रले गम्भीर पहल गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)