तीज र महिला शिक्षा

तीज र महिला शिक्षा

तीज विल्कुल पारिवारिक र महिलाहरूको पर्व भएकाले अरू कार्यक्रम र पर्वमा भन्दा तीजमा उनीहरूको सक्रिय सहभागिता हुनु अस्वाभाविक पक्कै होइन। स्वदेशमा भन्दा पनि विदेशमा विभिन्न संस्थाहरूले चेलीबेटीका लागि भनेर आयोजना गरिने तीजका कार्यक्रममा महिला सहभागिता देख्दा लाग्छ- तीज आउनुअगाडिसम्म यतिका धेरै चेलीबेटी कहाँ लुकेका थिए होलान् ?

विभिन्न संघसंस्था, शैक्षिक संस्था, गैरसरकारी संस्थाहरूले आयोजना गर्ने गरेका अरू उत्प्रेरणात्मक कार्यक्रम, सीपमूलक तालिमका कार्यक्रम, ध्यान-योग प्रशिक्षण, जनचेतनामूलक स्वास्थ्य, साहित्यिक, शिक्षा, सेमीनारलगायतका कार्यक्रम पनि त्यही समाजमा तिनै समूह र संस्थाले आयोजना गरेर तिनै चेलीबेटीलाई खबर गरी आयोजना गरिएका हुन्छन्। यस्ता कार्यक्रममा जति नै समाचार फैलाए पनि शिक्षित महिलाकै पनि उपस्थिति न्यून देखिन्छ। तर, तीजका कार्यक्रममा भने महिलाको हौसलापूर्ण सहभागिता हुनुले कताकता महिलाहरू शैक्षिक र ज्ञानवद्र्धक कार्यक्रममा उपस्थिति जनाउन रुचि राख्दैनन् या त यस्ता कार्यक्रममा उपस्थित हुँदा आफूलाई कमजोर ठान्छन् ?       या यस्ता कार्यक्रममा सहभागिता जनाउनुको कुनै तात्विक अर्थ छैन ?       कहिलेकाहीं मनमा गढेर बस्ने प्रश्न हुन् यिनी।

परम्परालाई हेर्ने हो भने त माथि उल्लेख गरिएको तीजे गीतको एउटा टुक्काले नै छर्लंग पार्छ कि छोरीलाई पढाउनु हुन्न, छोरी त हेलाँका जात हुन्। धेरै खर्च गरेर पढाएर के गर्नु ? बिहे गरेर अर्कैका घर जाने जातजस्ता मान्यता बनाएर छोरीलाई शिक्षाबाट वञ्चित गरिएको थियो।

आज भने यो परिस्थिति छैन। ‘छोराछोरी बराबरी’ कै रूपमा छन् धेरै घरमा आफ्ना सन्तान। यसो भनिरहँदा पनि सहरको तथ्यांकले मात्र दूरदराजमा रहेका छोरीलाई न्याय नहुन सक्छ। किनभने, अझै त्यस्ता जिल्ला, समुदाय र समाज छन्, जहाँ छोरीलाई स्कुल पठाइँदैन। छोरीको मासिक धर्ममा छाउपडी प्रथा कायमै छ। छोरी जन्माउनुलाई पापको संज्ञा दिइन्छ। छोरी मात्र जन्माउनुमा महिलाको मात्र कारण हो भन्ने ठानिन्छ। तेस्रोपटकसम्म बिहे गर्छन् पुरुषले छोराका लागि। छोरीलाई १८ वर्ष नपुगी बिहे गर्नु हुन्न, बालविवाह अन्त्य गरौं। घरघरमा शौचालय बनाएर प्रयोग गर्नुपर्छ, पानी सफा पिउनुपर्छ, साबुनले हात धुनुपर्छ भनेर सिकाउनुपर्ने अवस्था यथावत् छ। यी सब शिक्षाको, भित्री ज्ञानको अभावका कारण भएकाले तीजलाई यो प्रसंगसँग जोड्दा सान्दर्भिक ठानिएको छ।

जसरी तीजको पर्वलाई गीत, संगीत, भोजन, पहिरनलाई जोडेर हेरिन्छ समग्रतामा यसको शिक्षा के हो र के कुरा जीवनमा ग्रहण गर्नलायक छ भन्ने बुझ्न र बुझाउन जरुरी छ।

तीज हाम्रो समाजमा हिजोको समयमा एउटा सन्देशवाहक पर्व पनि हो। तीजे भाकाका माध्यमबाट आफ्ना पीडा, दुःख, सुख, माग, कुण्ठा, प्रार्थना, समस्या समाधानका उपाय सबै भावनालाई मौलिक रचनाको माध्यमबाट व्यक्त गरिन्थे। आज पनि गाउँघरमा यो प्रचलन छ। तर, सहरमा फेरिँदै गएको तीज मनाउने प्रचलन र तीजका आधुनिक भाकाले यी मौलिकता, भावना, समस्या समाधानलाई पाखा लगाएर अमेरिका र अस्ट्रेलियाका चिन्ता प्रस्तुत हुन थालेका छन्। मद्यपान र गहना, आधुनिक फेसन अनि पहिरनका गाथा तीजे भाकाका नाममा गाँसिन थालेका छन्।

यसैगरी तिनै आधुनिक तीज नामका गीतले युटुबको ट्रेन्डमा सफलता हाँसिल गरेका समाचार सामाजिक सञ्जालमा फैलिन्छन्। के तीजका भाकामा छोरीलाई शिक्षा दिऊँ, छाउपडी अन्त्य गरौं, बालविवाहको अन्त्य गरौं भन्ने भावना र शब्द नअटाएकै हुन् त ?       कैयन् अन्तर्राष्ट्रिय दातृसंस्थाहरूले विभिन्न आयोजनामार्फत शौचालय, पानीका धारा, विद्यालय बनाएर, कापीकिताब बाँडेर सहयोग गरिरहेका छन्। हामीले आफ्ना तीजे रचना नै सृजना गरेर भए पनि गाउँगाउँसम्म हाम्रा साना नानीहरूका लागि सन्देश फैलाउन सक्दैनौं र ?       कैयन्ै बेथिति र विकृति अनि अन्धविश्वासले जकडिएर असहजता र कठोरतामा जीवन बाँचिरहेकाहरूलाई तीजे भाकाको माध्यमबाट परिवर्तनका लागि शिक्षा र सन्देश दिन सकिन्न र ?

हाम्रा पर्व, परम्परा र प्रचलनमार्फत सामाजिक कुरीति अन्त्य गर्न सक्यौं भने पनि ठूलो उपलब्धि हुनेछ। परिवर्तनका नाममा अरूको संस्कार, भोजन, पहिरनको अनुकरण गर्नुभन्दा हाम्रै राष्ट्रको भूगोल, परिवेश र परिस्थिति हेरेर नयाँ आयामबाट सकारात्मक रूपान्तरण गर्न सके राष्ट्र र समाजकै लागि अनुकरणीय कार्यको थालनी भएको मानिनेछ। त्यसो त, आजको शैक्षिक तथ्यांक हेर्दा महिलाले पनि पुरुषसरह शैक्षिक सफलता हाँसिल गरेको पाइन्छ। सरकारी नोकरी, व्यवसाय, गैरसरकारी र निजी क्षेत्रमा महिला सहभागिता, राजनीतिक क्षेत्रमा महिला सहभागिता र योगदान, सञ्चार, पत्रकारिता, कलाकारिता, खेलकुद सबै क्षेत्रमा महिलाले अग्रस्थान लिन सफल भएका उदाहरण र तथ्यांक पनि प्रशस्त उदाहरण छन्।

यति हुँदाहुँदै पनि हाम्रै समाजमा चेलीबेटीहरू हत्या, हिंसा, बलात्कार, बोक्सीको आरोप, बालविवाह, छोइछिटोबाट मुक्त हुन सकेका छैनन्। पतिसरह योग्यता भएका पत्नीहरूसमेत नदेखिँदो र नजानिँदो तरिकाले दबिएर, पीडित भएर बसेका उदाहरण लुकेर रहेका हुन्छन् समाजमा। यी सबै परिस्थितिलाई शिक्षासँग जोडेर हेर्‍यौं भने हामी अझैसम्म शिक्षित भइसकेका छैनौं भन्दा अत्युक्ति हुँदैन। किनभने, हाम्रो एकेडेमिक डिग्री मात्रैले हाम्रो ज्ञान, विवेक र समझको विकास भएको मानिँदैन। आन्तरिक ज्ञान, अनुशासन, आत्मविकास र आत्मानुशासन हाम्रो संस्कारमा भिज्नुपर्छ।

जसरी तीजको पर्वलाई गीत, संगीत, भोजन, पहिरनलाई जोडेर हेरिन्छ समग्रतामा यसको शिक्षा के हो र के कुरा जीवनमा ग्रहण गर्नलायक छ भन्ने बुझ्न र बुझाउन जरुरी छ। जतिबेला पनि समाजमा कुनै सकारात्मक छाप छोड्ने अवसर आउँछ, त्यसमा कन्जुस्याईं नगरी मानव जीवनको समग्र विकासमा सहयोग पुग्ने परोपकारी कार्य गर्न सकियो भने जीवन धन्य भएको अनुभूति गर्न सकिन्छ। समाजमा पुरुष या महिला मात्र शिक्षित भएर कुनै अर्थ राख्दैन। समान शिक्षा, समान व्यवहार र समान अवसर शिक्षाका मापन हुन्। महिलाको सम्मानसँग जोडिएको तीज पर्वलाई आफ्नै ज्ञान, सृजना, रचना र प्रस्तुतिमार्फत हाम्रा चेलीबेटीको जीवनमा थप योगदान पुर्‍याउने कोसिस गर्दै नयाँ कार्यको थालनी गर्न पछि नपर्ने हो कि ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.