प्रदेश ५ मन्त्रिपरिषद्का ८ निर्णय यस्ता छन्
बुटवल : पाँच नम्बर प्रदेशको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्विकृति गरेको छ। प्रदेशका जिल्ला अस्पतालहरुमा प्रदेश सरकारको निर्णयबाट विकास समिति गठन हुनेछ।
यो निर्णय प्रदेश ५ का १२ जिल्लामध्ये पाल्पामा सदरमुकाम तानसेन र रामपुरमा गरी दुई वटा र बाँके तथा दाङबाहेकका सबै जिल्लामा रहेका जिल्लास्तरीय अस्पतालमा लागू हुनेछ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताल विकास समिति गठन आदेश स्वीकृति सहितका विभिन्न आठ निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।
मन्त्रिपरिषद्ले प्रदेश निजामति सेवाको गठन, संचालन व्यवस्था गर्न बन्ने विद्येयक तर्जुमा गर्नका लागि सैद्धान्तिक स्वीकृत दिएको छ।
प्रदेशका मुख्यन्यायाधिवक्ताको पारिश्रमिक वृद्धि गर्ने र प्रदेश लोक सेवा आयोगका अध्यक्षको पारिश्रमिक तथा सेवा सुविधाका विषयमा निर्णय गरिएको प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार मन्त्री चौधरीले जानकारी दिए।
प्यूठानको गौमुखी गाउँपालिकाको केन्द्र वडा नं ५ ठूलावेशीबाट परिवर्तन गरी वडा नं ४ को पूजा लिवासेंमा राख्ने सिफारिस केन्द्र सरकारमा पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। त्यसैगरी प्रदेश पदक सिफारिस समितिमा बुटवलका नेत्र पन्थी, दाङका मेनका पोखरेल र पट्टु थारुलाई राख्ने निर्णय गरिएको प्रवक्ता चौधरीले बताए।
७ सदस्यीय सो समितिमा ४ जना पदेन रहने प्रावधान रहेको छ। प्रदेश स्थापना दिवस फागुन ३ गते पदक वितरण गर्ने सरकारको योजना रहेको छ।