सामान्य बजार यसरी बन्दैछन् व्यापारिक केन्द्र

सामान्य बजार यसरी बन्दैछन् व्यापारिक केन्द्र

उदयपुर : सडक पुगेपछि उदयपुरका विकट क्षेत्रका सामान्य बजार यतिबेला व्यापारिक केन्द्रमा परिणत भएका छन्। शान्ति स्थापनाको एक दशक समयपछि सडक सञ्जालले गति लिएपछि रामपुर, घुर्मी, मुर्कुची, सल्ले, रसुवा, वीरेन्द्रबजार, रानीटार, नेपालटार, फोक्सिङटारलगायत विकट क्षेत्र व्यापारिक केन्द्र बन्न सहज भएको हो।

सबै गाउँपालिका र नगरपालिका सडकको पहुँचमा पुगेपछि यातायातका साधन नियमित रूपमा सञ्चालन हुँदै आएका छन्। व्यापारिक केन्द्रका कारण सर्वसाधारणको दैनिक जीवन सहज र सरल बनेको छ। कच्ची सडकको निर्माणसँगै बिस्तार भएका व्यापारिक केन्द्रबाट उदयपुरबासीलाई मात्र होइन, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरका सर्वसाधारणलाई समेत दैनिक उपभोग्य बस्तुको खरिद तथा आवतजावतमा सहज हुँदै आएको छ।

जिल्लाको उत्तरपश्चिम क्षेत्रमा रहेको घुर्मी व्यापारिक केन्द्रले उदयपुरका साथै ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका सर्वसाधारणको जीवनयापनमा सहजता पुर्‍याएको घुर्मीका शिक्षक बिष्णु मुरीले बताए। फोक्सिङटार व्यापारिक केन्द्रका कारण खोटाङ जिल्लाको पूर्वी र दक्षिणी भेगका सर्वसाधारण प्रत्यक्ष लाभान्वित बनेका छन् भने चौदण्डीगढी नगरपालिकाको रानीटारबाट भोजपुर जिल्लाका सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको खरिदबिक्रीमा सहजता पैदा भएको त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र भगत बताउँछन्।

‘रानीटारसम्म कच्ची सडक पुगेपछि बजार बिस्तार हुँदा सामान खरिदका लागि बेल्टार बजार पुग्नुपर्ने भोजपुरबासीको समस्याको अन्त्य भएको छ’, स्थानीय कृष्णबहादुर माझीले भने, ‘बेल्टार बजारदेखि रानीटारसम्मको २४ किलोमिटर लामो कच्ची सडकमा ट्याक्टर, बस र अन्य सार्वजनिक यातायातका साधन सञ्चालन हुन थालेपछि यस क्षेत्रका सर्वसाधारणलाई आवतजावत गर्नसमेत सजिलो भएको हो।’

द्वन्द्वको समयमा असुरक्षाका कारण सुनसान बनेको घुर्मी बजार मुलुकमा द्वन्द्व व्यवस्थापन भएपछि व्यापारिक केन्द्र बन्दै गएको शिक्षक मुरीले बताए। आलु, दाल, भट्मास, घिउ, काँक्रा, कागती, सुन्तला, कोदो, मकैलगायत कृषकका उत्पादन खरिद गर्न हिजोआज तराइबाटै व्यापारी त्यहाँ जाने गरेको उनले बताए। नयाँ व्यापारिक केन्द्र धमाधम खुलेपछि बेल्टार, कटारी, गाईघाटलगायत पुराना बजारमा ग्राहकको चहलपहल घट्दै गएको त्रियुगा उवासंघका सचिव दिनेश श्रेष्ठ बताउँछन्। ‘कतिपय व्यापारी यहाँ छाडेर उतै व्यापार गर्न गएका छन्’, श्रेष्ठ भन्छन्, ‘नयाँ खुलेका बजारमै कडा प्रतिस्पर्धामा व्यापार हुन थालेपछि ग्राहक उतै सामान किन्न पल्किएका छन्।’

उदयपुर जिल्लाका ४ नगरपालिका र ४ गाउँपालिकामै कच्ची सडक पुगिसकेको जिल्ला समन्वय समितिले जनाएको छ। द्वन्द्व व्यवस्थापन भएपछि ग्रामीण सडक निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखेका कारण जिल्लाका विकट क्षेत्र व्यापारिक केन्द्रमा रुपान्तरण हुँदै गएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.