ऋणमा फसे शान्तिपुरका महिला
जनकपुरधाम : बैंकका कर्मचारी देख्नै हुन्न। धनुषाको वटेश्वर-५ शान्तिपुरका महिला भागाभाग गर्छन्। कसैले ढोका थुन्छन् त कोही झाडीतिर लुक्न जान्छन्। चार वर्षअघि लिएको ऋण तिर्न नसक्दा उनीहरूको जीवनयापन चौपट बनेको छ।
स्थानीय ५० वर्षीया सहजादी खातुनले वित्तीय संस्था र साहुबाट ३ लाख २० हजार कर्जा लिएकी थिइन्। त्यो रकम उनले गाउँकै सुरेन्द्र सिंहलाई सापटी दिइन्। त्यो रकमसहित एकमुष्ठ १५ लाख लिएर सिंह भागेपछि सहजादीलगायत अन्य महिलाको बिचल्ली भएको छ। पीडितका अनुसार त्यसको साँवा-ब्याज ४५ लाख रुपैयाँ पुगेको छ।
सुरेन्द्र र उनीकी श्रीमती यशोदाले चार वर्षअघि गाउँमा समूह गठन गराएका थिए। यो गाउँमा करिब ३५ घरको बसोबास छ। कोही न कोही महिला परिवारबाट समूहमा लागेका थिए। गरिबको जीवनस्तर उकास्न सहयोग गरेको भन्दै उनलाई अरूले विश्वास गरे। तर, पछि सुरेन्द्र र यशोदा गाउँलेलाई ठगेर भागेको सहजादीको भनाइ छ। ‘स्थानीयको जीवनस्तर उकास्न महिलाकै समूह गठन गराए’, उनले भनिन्, ‘गाउँका अधिकांश पुरुष वैदेशिक रोजगारीमा छन्।’
उनका अनुसार समूहमा आबद्ध सदस्यसँग सुरेन्द्रले सापटी रकम मागेका थिए। उनले मासिक २ सय बचत गरिदिने, ऋण र त्यसको ब्याज पनि तिरिदिने लोभ देखाएका थिए। बैंक तथा वित्तीय संस्था र साहुसँग किस्ताबन्दी र घरघडेरी राखी समूहका सदस्यले ऋण लिएर उनलाई दिएका थिए। महिनाको २ सय त्यत्तिकै बचत हुने भएकाले ऋण लिएर दिएको स्थानीयको भनाइ छ।
उनले सुरुमा ऋण फर्काएका थिए। तर, गाउँलेसँग धेरै रकम बिनाधितो र कागज गराएर ऋण लिएका उनी पछि गाउँ छाडेर भागे। त्यसपछि शान्तिपुरका महिला ऋणको भारीले थिचिएका छन्। ‘बेइज्जत हुने डरले महाजन र बैंकका कर्मचारी ऋण उठाउन आउँदा गाउँ छाडेर भाग्छौं’, सहजादीले भनिन्।
श्रीमान् अखतर शेखले विदेशबाट कमाएर पठाएको रकमले ऋण चुक्ता गर्दै आएको उनले सुनाइन्। ‘बैंकलाई चार किस्ताको ५० हजार तिर्न बाँकी छ’, उनले भनिन् ‘साहुकहाँ घडेरी बन्धकी राखेर लिएको १ लाख ५० हजार रुपैयाँ तिर्न अझै बाँकी छ।’
५० वर्षीय नजबुल खातुनले पनि बैंकबाट ४० हजार र लघुवित्तबाट ५० हजार ऋण लिएकी थिइन्। एक कट्ठा घडेरी बन्धकी राखेर सयकडा ३ रुपैयाँ ब्याजदरमा जनकपुरका महाजनबाट १ लाख २५ हजार कर्जा लिइन्। उनले पनि त्यो रकम सुरेन्द्रलाई नै दिएकी थिइन्। अर्की महिला नुरजहान खातुनले पनि बैंकबाट ५० हजार ऋण लिइन्। ‘सुरेन्द्रले हामीलाई लोभ देखाएर डुबाए’, उनले भनिन्। अर्की महिला रहना खातुनले विभिन्न बैंकबाट १ लाख ४० हजार रुपैयाँ ऋण लिएर सुरेन्द्रलाई दिएकी थिइन्। ‘हामीले विश्वास गरेर सुरेन्द्रलाई रुपैयाँ दिएका थियौं’, उनले भनिन्, ‘तर, उनले विश्वास गुमाए। परिवार चलाउनै समस्या भएको छ।’
रोजहा ऋणले भार
बैंकको किस्ता तिर्न ‘रोजहा ऋण’ लिन थालिन् उनले। यो शैलीमा ऋण लिनेले तोकेको समयमा ऋणको दोब्बर तिर्नुपर्छ। तर, ऋण तिर्ने समय सीमा एक साता मात्र हुन्छ। नजबुलले कमाएर तिर्ने सर्तमा गाउँकै रसुला खातुनसँग रोजहा ऋणस्वरूप १० हजार लिएर बैंकको किस्ता भरिन्। उनले त्यो ऋण रसुलालाई समयमै तिर्न सकिनन्। एक वर्षपछि नजबुलसँग रसुलाले ४० हजार रुपैयाँको कपाली तमसुक गराइन्।
उनले अर्का स्थानीय पाशुपति सिंहसँग ३० हजार रोजहा ऋण लिइन्। उनलाई पनि भनेको समयमा ऋण फर्काउन सकिनन्। एक महिनापछि पाशुपतिले ४० हजारको कपाली तमसुक गराए। अर्का स्थानीय कुलदीप सिंहबाट उनले ८ हजार लिएकी थिइन्। कुलदीपले गोठमा बाँधेका गाई, घरको टीभी उठाए। नजबुलका श्रीमान् खारुक शेख वैदेशिक रोजगारीमा छन्। खारुकले पठाएको ३ लाख तिरेर उनले घडेरी भने उकासेकी छन्।
‘दुई छोरी विवाह गर्ने उमेरका भए। ऋण कसरी तिर्ने ? उनीहरूको विवाह कसरी गर्ने ? ’ उनले भनिन्।
शान्तिपुरवासी कसैले कसैलाई सहयोग गर्ने अवस्था छैन। पहिला गाह्रोसाह्रो पर्दा सबैले सजिलै सहयोग गर्थे। सुरेन्द्रले धोका दिएपछि सहयोग टुट्दै गएको स्थानीय अघनियाँदेवी मण्डलले बताइन्। ‘बिरामी भएर छटपटाए पनि कसैले कसैलाई ऐंचोपैंचो सहयोग गर्ने अवस्था छैन’, उनले भनिन्, ‘गोजीमा रुपैयाँ छ भने ऊ बाँच्छ नत्र मर्नुको विकल्प छैन।’वडाध्यक्ष शिवकरण यादवले यो घटनाबारे आफू जानकार रहेको बताए। ‘वडा कार्यालयमा कुनै उजुरी आएको छैन’, उनले भने, ‘गुनासो÷उजुरी आए समाधान गर्न तयार छौं।