काम खोज्न भारत, उतै बेपत्ता
डोटी : घटना १ : डोटीको शिखर नगरपालिका कपल्लेकी गाउँकी पदमा बेलालका पति गोपाल बेलाल भारतमा बेपत्ता भएको आउँदो मंसिरमा १२ वर्ष हुँदै छ। पन्जाबमा सामान्य चौकीदारीको काम गर्ने उनी एकाएक हराए। तीन वर्षसम्म घरमा फोन, खबर चिठी नआएपछि आफन्तले उतै गएर खोजे तर पत्ता लागेन। घरमा चार छोरी, पत्नी र आमा लक्ष्मी बेलाल उनको प्रतीक्षामा छन्।
घटना २ : सोही गाउँकै जगी लुहारका छोरा भीम लुहार हराएको १३ वर्ष भयो। भारतको पन्जाबमा नोकरीका लागि गएका भीम एकदुई पटक घर त आए तर २०६३ सालदेखि बेपत्ता छन्। उनका बाबुले आफन्तलाई उतै गएर खोजबिन गर्न लगाए तर पत्ता लागेन।
घटना ३ : सोही गाउँकै रम्भा बोगटीको बिहे भएको ३० वर्ष भयो। बिहे भएकै वर्ष कामका लागि भारत गएका उनका पति गोरे मल्ल अझै फर्किएका छैनन्। ‘न लास आयो, न सास आयो’, रम्भाले भनिन्, ‘पति जिउँदो छ वा छैनन् ? कसलाई सोध्नु ? ’ उनी अझै पनि पति आउने आसमा छिन्।
घटना ४ : डोटीकै शिखर नगरपालिका-८ जिजोडामाडौंका गिरिराज नौन्याल पनि भारतमा बेपत्ता भएको २० वर्ष भयो। पन्जाब गएका नौन्याल अहिलेसम्म नफर्केको भाउजू शान्तिदेवीले बताइन्। ‘१८ वर्षका उमेरमा पैसा कमाउने भनी भारत गएका हुन् तर अहिलेसम्म फर्केका छैनन्’, शान्तिदेवीले भनिन्, ‘खोजीका लागि धेरैपटक गाउँबाट मान्छे पन्जाब गए, खोजतलास गर्दा पनि कुनै पत्तो लागेन।’
घटना ५ : शिखर नगरपालिका १० बानेडुग्रिसैनकी ६५ वर्षीया जुनकिरी बलायर सहाराविहीन भएको १२ वर्ष भयो। उनका एकमात्र छोरा भगी बलायर कामका लागि भारत गएर बेपत्ता भएको १२ वर्ष भयो। ‘त्यतिबेला ९÷१० वर्षमा बिहे गर्थे। मेरो पनि त्यही उमेरमा बिहे भयो। एकमात्र छोरा हराएपछि सहाराविहीन भएकी छु’, जुनकिरीले भनिन्। एउटै छोरा बेपत्ता भएपछि जुनकिरीका दिन रुँदै बित्ने गरेका छन्। ‘अहिलेसम्म त हातगोडा चलेका छन्। अब त काम गर्न पनि सक्दिनँ। कसरी बाँच्नु ? ’ जनुकिरीले दुःखेसो पोखिन्।
डोटीका यी केही प्रतिनिधि घटना हुन्। रोजगारीका लागि भारत गई उतै हराएका अथवा वर्षैाँसम्म सम्पर्कविहीन भएकाको संख्या डोटीमा धेरै छ। आप्रवासनको क्षेत्रमा काम गरिरहेका संघसंस्थाको दाबी मान्ने हो भने जिल्लामा यसरी बेपत्ता हुनेमा पाँच सय छन्।
सुदूरपश्चिमको कुल जनसंख्या २५ लाख छ। त्यसको ३० प्रतिशत अर्थात् झन्डै साढे सात लाख मानिस रोजगारीका लागि भारतमा छन्। सुरक्षित आप्रवासन तथा मानव बेचबिखन रोकथाम सम्बन्धमा काम गर्दै आएको गैरसरकारी संस्था निड्स नेपालले डोटीको शिखर नगरपालिका र केआई सिंह गाउँपालिकाका दुई वडामा गरेको सर्भेक्षणअनुसार ११८ जना नेपाली भारतमा गएर बेपत्ता छन्।
डोटीको सोही क्षेत्रमा गरिएको अध्ययनले ९१ प्रतिशत घरपरिवारका व्यक्तिहरू रोजगारीका लागि भारत जाने गरेका छन् भने दुई प्रतिशत मात्र तेस्रो मुलुक जाने गरेको निड्स नेपालका सहकार्यकारी निर्देशक प्रकाशचन्द्र मडैले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशभरिका ७० प्रतिशत घरधुरीबाट रोजगारका लागि एक न एक जना भारत जाने गरेको एक तथ्यांकले देखाएको छ। अशिक्षा र सानो उमेरमै रोजगारीका लागि भारत जाने कारणले हराउनेको संख्या वृद्धि भएको नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिका महासचिव देव बोहराले बताए।
कामका लागि भारत गएर बेपत्ता भएकाको खोजीका लागि नेपालमा कानुनी व्यवस्था छैन। जिल्ला प्रहरी वा प्रशासनमा आएको उजुरी भारतीय दूतावासमार्पmत लेखेर दिनुबाहेक अरू कुनै कारबाही गर्न नसकिने प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले बताए।
‘राज्यले रोजगारी दिन नसकेर आएको समस्या हो’, पौड्यालले भने, ‘वैदेशिक रोजगार असुरक्षित देखिन्छ। सबैको सहयोगमा व्यवस्थित र सुरक्षित बनाउनुपर्छ।’
वैदेशिक रोजगारीमा गएका व्यक्तिको तथ्यांक व्यवस्थित गर्नुपर्ने शिखर नगरपालिकाका प्रमुख सीताराम जोशीले बताए। डोटीबाट अधिकांश परिवारका सदस्य कामका लागि भारत जाने गरेका छन्। ‘बड्डा ससुराका पालदेखि कामका लागि भारतमा गई परिवार चलाउने गरेको सुनेको थिएँ’, शिखर नगरपालिका-२ मुडेगाउँकी तुल्सी पार्कीले भनिन्, ‘अहिले पनि अवस्था उस्तै छ।’
रामबहादुर भुत्याल भारत जान थालेको १५ वर्ष भयो। उनी पहिला बुवासँग भारत भएका थिए। अहिले उनका छोरा पनि उनीसँगै भारतमा मजदुरी गरिरहेका छन्। उनले भने, ‘कामका लागि भारत जानु संस्कृतिजस्तै भइसक्यो’, उनले भने।