भ्रमण वर्षको तयारी नै पुगेन

भ्रमण वर्षको तयारी नै पुगेन

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा निजी क्षेत्रका एक व्यावसायिक पायोनियर सुरज वैद्यले नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रिय कार्यक्रम संयोजकको भूमिका निर्वाह गरिरहेका छन्। भ्रमण वर्षको तयारी, कार्यक्रमको योजना, निजी क्षेत्रको सहकार्य र समन्वयसहितका विषयमा केन्द्रित रहेर अन्नपूर्णकर्मी राजु बाँस्कोटाले वैद्यसँग गरेको कुराकानीको प्रमुख अंशः


पर्यटन वर्षको तयारी कस्तो छ ?

सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेर सोही अनुसारको तयारी अगाडि बढाएको छ। हामीले पनि आगामी जनावरी १ का दिन सातै प्रदेशमा भव्य शुभारम्भ गर्ने गरी आवश्यक कार्यक्रमको योजना अगाडि सारेका छौं। प्रारम्भिक शुभारम्भ नयाँ वर्ष २०७६ को अवसर पारेर पोखराबाट गरिसकिएको छ। अब भ्रमण वर्षलाई काठमाडौं, सातै प्रदेश, पर्यटक आगमनको प्रमुख गन्तव्य मानिने मुलुकका दूतावासमार्फत कार्यक्रम गरेर पनि भ्रमण वर्षको शुभारम्भ गर्ने गरी तयारी छ।

भ्रमण वर्षको प्राथमिकताका विदेशी मुलुक ?

देशभरका विभिन्न स्थानमा र देशबाहिर भारत, बंगलादेश, थाइल्यान्ड, श्रीलंका, अमेरिका, फ्रान्स, जर्मनी, जापान, कोरिया, मलेसियासहितका मुलुकबाट भ्रमण वर्षको शुभारम्भ गरिने हो। यसका लागि हामीले आवश्यक तयारी अगाडि बढाएका छन्। हामीले सम्बन्धित देशका राजदूतलाई बोलाएर पनि यो कार्यक्रमको तयारीको बारेमा छलफल गर्दैछौं। मध्यपूर्वी मुलुकमा पनि छुट्टै कार्यक्रम गर्नेछौं। सम्बन्धित देशको राजदूतमार्फत नेपालको भ्रमण वर्ष प्रचार गर्न सकिन्छ भन्ने हाम्रो बुझाइ हो। यसले ठूलो प्रभाव पार्ने र पर्यटक आगमनमा महत्वपूर्ण सहयोग पनि पुर्‍याउने अपेक्षा गरिएको छ।

देशभित्रका गन्तव्य प्रवर्द्धनको काम किन सीमित क्षेत्रमा मात्रै ?

पूर्वाधारका कारण अहिले भइरहेकै गन्तव्य काठमाडौं, पोखरा, चितवन (गोल्ड्रेन ट्याङल) लाई दृष्टिगत गर्नुपर्ने अवस्था छ। सुदूरपश्चिम सहितका अन्य गन्तव्यमा पनि पर्यटक पुर्‍याउनुपर्छ। यसका लागि लाइफ टाइम्स एक्सपेरियन्सका गतिविधि अगाडि बढाउँदै छौं। यसले सुदूरपश्चिम र पूर्वमा एक प्रतिशतभन्दा कम पर्यटक पुगेका स्थानलाई पनि पर्यटक पुर्‍याउनुपर्छ भनेर लागि परेका छौं। यसले गर्दा सीमित क्षेत्रमा मात्रै नरहने र गोल्ड्रेन ट्याङलबाट बाहिर जाँदा पर्यटकबाट हामीले लाभ लिन सकिएको अवस्थामा मात्रै पर्यटनमा गरिएको लगानीबाट सन्तोष लिन सकिन्छ।

भ्रमण वर्षलाई तय भएको कार्यक्रम सार्वजनिक गर्न ढिलो ?

मूल समितिलाई प्रस्तुत गरिएको कार्यक्रमअनुसार तय भएको छ। तय गरेको क्यालेन्डर अफ इभेन्ट्सअनुसार नै तय गरेका छौं। अहिले हामीलाई प्राप्त भएको १० करोडको मात्रै बजेट छ। त्यहीँ अनुसारका कार्यक्रम तय गर्नुपर्ने अवस्था छ। हामीले अहिले ६० करोड रुपैयाँको बजेट तय पनि गर्दै छौं। त्यो बजेटबाट भने हामीले बढीभन्दा बढी सभा—सम्मेलन गर्ने भनेर कार्यक्रम तय गरिरहेका छौं। नेपालको हेरिटेजको सम्बन्धनमा कसरी निजी क्षेत्रले यसको लाभ लिन सक्छ। यसलाई कसरी स्थानीय सरकारसँग समन्वय गरेर बचाउन सकिन्छ भनेर कार्यक्रम बनाउँदै छौं। अहिले काठमाडौंसहित विश्व सम्पदामा सूचीकृत भएका क्षेत्रलाई युनेस्कोको खतराको सूचीमा पर्नबाट बचाउने प्रयास जारी छ। सम्पदा नै भएन भने पर्यटन आकर्षण कसरी गर्ने ? यसका लागि पनि हामीले एउटा कन्फरेन्स गर्दैछौं। जलवायु परिवर्तनमा पनि नेपालले विश्वलाई सन्देश दिन सक्नुपर्छ।

भ्रमण वर्षलाई कर्णालीमा गराइने र्‍याफ्टिङसहित कार्यक्रमले पनि आकर्षण गराउँदै छ नि ?

विश्व रेकर्ड बनाउने गरी कर्णालीमा र्‍याफ्टिङ प्रतियोगिता गराउँदै छौं। कर्णालीमा दुई सय किमिको सबैभन्दा लामो र्‍याफ्टिङ गराउने तयारी भइरहेको छ। त्यसको अध्ययनमा एक चरणको काम सकिएको छ। दोस्रो चरणको अध्ययन भइरहेको छ। यो मात्रै नभएर मुक्तिनाथदेखि मार्फासम्म अन्तर्राष्ट्रिय माउन्टेन बाइक कम्पिटिसन गराउँदै छौं। यसको पनि पहिलो चरणअन्तर्गत निरीक्षणको काम सकिएको छ। ट्रेल बनिसकेको छ। अब सम्बन्धित प्रदेशसँगको सहकार्यमा कार्यक्रम गर्ने भन्ने छ। नेपालको विशेष धार्मिक महत्व देखाउने गरी शिवशक्ति परिक्रममा रुट पनि खोलिँदैछ। जसरी हिमालमा शिव भगवान् रहन्छन् भन्ने मान्यता छ। यसलाई नेपालको महत्वसँग जोड्न सकिन्छ।

यस्ता कार्यक्रम सबै भ्रमण वर्षमा गर्नुभएको होला नि ?

यसको तयारी भइरहेको छ। हामी बाह्रै महिना केही न केही कार्यक्रम गरिरहने छौं। सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्मका हरेक महिनामा केही न केही कार्यक्रम गर्छौं। विदेशीलाई नेपाल चिनाउने गरी लाइफ टाइम्स एक्स्पेरियन्स कार्यक्रम गर्दैछौं। सातै प्रदेशमा पनि कार्यक्रम गर्नेछौं। महत्वपूर्ण कार्यक्रम अन्य जिल्लामा पनि हुनेछ।

पर्यटकका लागि विमानस्थल पूर्वाधारमै महत्व दिनुपर्ने होइन र ?

पर्यटकको आँखाले पनि खोज्ने भनेको सबैभन्दा पहिले विमानस्थल पूर्वाधार नै हो। आउने र जाने बाटो नै विमानस्थल भएकाले हामीले यसको सुधार गर्न लागिपरेका छौं। विमानस्थलको सुधारको काम भइरहेको छ। नेपालीपन दिने भनेर पनि काम भइरहेको छ। गृह मन्त्रालयले बायोमेट्रिक प्रणाली लागू गर्दैछ। यसले पनि पर्यटक आगमनमा सहजता दिनेछ। पर्यटकलाई लाइन बस्नु नपर्ने गरी भिसामा पनि सहजीकरण भइरहेको छ। विमानस्थलमा नयाँ पार्किङ वे बनेको छ। डिपार्चर हल र अराइभल हल पनि सुरुआत हुन्छ। डिसेम्बर १४ सम्ममा निकै राम्रो अराइभल हल बन्ने गरी काम भएको छ। यसले नेपालको झलक देखाउने र नेपालीपन देखाउने काम पनि भइरहेको छ।

विमानस्थलको क्षमता र पर्यटक आगमनको वृद्धिदर हेर्ने हो भने त १५ लाख नै पुर्‍याउन मुस्किल छ २० लाखको लक्ष्य पूरा कसरी गर्ने ?

अहिलेसम्म सिजन र अफ सिजन पर्यटक आगमन हुने गरेको छ। १२ लाखसम्म आएका पर्यटक आएका भए पनि निजी क्षेत्रले दुवै सिजनलाई उत्तिकै महत्व दिन सकेको छैन। यसको अर्थ अफ सिजनलाई प्रवर्द्धन गर्न सकिएको छैन। अहिले ‘नेपाल फर अल सिजन’ भनेर अगाडि बढिरहेका छौं। यसमा भारतबाट गर्मी मौसम पर्यटक ल्याउने, सभा, सम्मेलन, गोष्ठी, बैठक वा अन्तक्र्रिया (माइस) पर्यटन अफ सिजनमा ल्याउने गरी काम गरिरहेका छौं।

माइस पर्यटनलाई ठूला सभा हलकै समस्या छ नि ?

माइस पर्यटन गर्न ठूला हल नभएकाले हामीले एकैपटक ठूलो माइस गर्ने पनि होइन। स–साना इभेन्ट गरिरहने भन्ने हो। फरक विधा फरक स्थानमा होटलमा गर्ने हो। हामीसँग जे जति क्षमता छ त्यहीअनुसार माइस पर्यटक अगाडि बढाउने हो।

कुन मुलुकबाट भ्रमण वर्षमा कति पर्यटक बढाउने भन्ने गृहकार्य भइसक्यो ?

मुख्य पर्यटक बजारलाई दृष्टिगत गरेर पर्यटक ल्याउने योजना बनाइएको छ। जस्तो भारत र चीनबाट आउने पर्यटक जे जति आइरहेका छन्, त्यसमा थप १/१ लाख बढाउने भन्ने हो। सन् २०१७ मा करिब १० लाख, २०१८ मा १२ लाख पर्यटक आएका छन्। यहीअनुसार सन् २०१९ मा १५ लाख पुग्छ। यसमा ३३ प्रतिशतको मात्रै वृद्धिदर कायम राख्न सकियो र बजारीकरण बढाउन सक्यो भने २० लाख पुग्छ। २० लाख पुर्‍याउनु नै प्रमुख होइन। अहिले त नेपाल महंगो गन्तव्यको रूपमा प्रचार भइरहेको छ। कोरियाबाट काठमाडौं दुईतर्फी उडान हुनु र दिल्ली उडानमा हवाई भाडा पाँच सय डलर बढी छ। काठमाडौं आउनै त्यति महंगो खर्च लाग्छ। हवाई इन्धनको मूल्य नै नेपालमा बढी छ।

यसको विकल्प पनि खोज्नुपर्ने हुन्छ नि ?

यसका लागि विदेशी वायुसेवालाई इन्सेन्टिभ दिएर आकर्षित गर्नुपर्ने पहिलो आवश्यकता छ। कि त सस्तो गराउन सक्नुपर्छ होइन भने पर्यटन क्षेत्रबाट दीर्घकालीन समयसम्म लाभ लिने हो पनि पहिले खर्च नै गर्नुपर्छ।

नेपाललाई पहिले ब्रान्डिङ त्यसपछि पर्यटकको संख्यामा जानुपर्ने होइन र ?

ब्रान्डिङ अवश्य पनि चाहिन्छ। अहिले त नेपालको पर्यटन वर्षको लोगो नै विदेशीले बुझ्दैन। नेपाललाई टीका लगाएको लोगो बनाएर ब्रान्डिङ गर्ने भन्नेछ। इन्क्रेडिबल इन्डिया, अमेजन थाइल्याड भने जस्तै नेपालको पनि नयाँ ब्रान्डिङ नै चाहिन्छ। अहिले हाम्रोमा ‘भिजिट नेपाल–२०२०’ छ, यसको अर्र्थै छैन। नेपाल पहिला आउनुपर्छ। नेपाल लाइभ टाइम्स एक्स्पेरियन्स भन्ने क्याम्पेन अगाडि बढिरहेको छ। हामीले नेपाललाई कहाँ लैजाने भनेर सोच्नुपर्छ। अहिलेसम्म हामीले हिमाल र लुम्बिनी नै बेचिरहेका छौं। नेपालका विभिन्न प्रडक्टलाई अगाडि बढाउनुपर्छ। अब हामीले नेपाललाई धार्मिक महत्वसँग जोड्नुपर्छ। नेपालको धार्मिक मान्यताअनुसार हामीले प्रचार गर्ने सकेका छैनौं। नेपालमा धार्मिक महत्व र विश्वास छ। त्यसलाई पनि अगाडि बढाउन सक्नुपर्छ। भगवान् शिव हिमालमै बसेका थिए। यसलाई योगासँग जोडेर त्यसको प्रचार गरेको खै त ? बुद्ध तथा हिन्दू सर्किटको महत्व पनि हामीले दर्शाउन सक्नुपर्छ।

पर्यटन क्षेत्रको व्यक्ति नआएका कारण तपाईसँग समन्वय नभएको भन्ने आरोप लागेको छ नि ?

गत दुईवटा भ्रमण वर्षमा पर्यटन व्यवसायी साथीहरू नै थिए। व्यवसायी साथीहरूको पनि त्यो चाहना अहिले पनि हुनु स्वाभाविक हो। पर्यटनमन्त्री र प्रधानमन्त्रीसँगको छलफलमा भएको निष्कर्ष के हो भने पर्यटन क्षेत्रबाटै देश विकास सम्भव छ। पर्यटन नै हो अबको रोजगारी दिने क्षेत्र। व्यवसायीले नीतिगत सहजता, प्रोत्साहन तथा अन्य कानुनी सहजता खोजेका छन्। त्यो गर्ने भनेको सरकारले हो। भ्रमण वर्षले होइन। यसर्थ भ्रमण वर्षले नयाँ दिने हो। नयाँ कामका लागि नयाँ व्यक्ति खोजेको हो। जस्तो हामीले नयाँ गन्तव्य खोज्ने हो। कर्णालीमा र्‍याफ्टिङ खोल्नुपर्ने छ। अहिलेसम्म अन्य क्षेत्रमा मात्रै गइयो भनेर हामीले नयाँ क्षेत्र खोज्ने काम गरिरहेका छौं।

त्यसो त निजी क्षेत्रले नै तयारी पुगेन अझै एक/दुई वर्ष पर धकेलेर मात्रै भ्रमण वर्ष मनाउनुपर्छ भनिरहेको छ, किन ?

यसलाई त जायज कारण मान्न सकिन्छ। किनभने मलेसियाको २०२० मा भ्रमण वर्ष छ। उसले तीन वर्षदेखि नै तयारी गरेको छ। हाम्रोमा जम्मा ८ महिना अगाडि तयारी भयो। कार्यविधि ५ महिना अगाडि आयो। बजेट २ महिना अगाडि पाएको छु। यसले गर्दा के काम गर्ने ? यसमा म मात्रै होइन, जो सुकै भए पनि काम के गर्ने ? आवश्यक तयारी नै पुगेन। भ्रमण वर्ष त आउँछ सीमित कार्यक्रम भएर सकिन्छ। सुदूरपश्चिममा पर्यटन पुर्‍याउनुपर्ने छ। रारामा लैजानुपर्ने छ। खै त त्यहाँ पर्यटक लैजाने पूर्वाधार। हामीलाई भ्रमण वर्षको तयारी समय नै पुगेन। थाइल्यान्डले पनि समय नपुगेर एक वर्ष पछाडि सारेर भ्रमण वर्ष मनाएको थियो। तर, अहिले हामीलाई सरकारले २०२० कै लागि म्यान्डेड दिएको छ। सोहीअनुसार काम गर्नेछौं।

अहिले सबैभन्दा बढी प्रवर्द्धनको काम गर्नुपर्ने हो, यसका लागि बजेट खै त ?

अहिले कम्तिमा १० वटा सूचना केन्द्र राख्दैछौं। यसमा एउटामा १२ देखि १५ लाख रुपैयाँ खर्च हुन्छ। यो सबै निजी क्षेत्रले खर्च गर्दैछ। यस्तै नेपालले ७ फूट लम्बाइ ६ फूट चौडाइका १०८ वटा यती (हिममानव) का प्रतिमा बनिरहेको छ। करिब यो दुई करोड रुपैयाँको कार्यक्रम हो। सरकारले १० करोड दिएको छ। थप ६० करोड माग भएको छ। यसले हामीले तय गरेका कार्यक्रम गर्न सकिन्छ भन्ने हो।

यतीलाई कसरी प्रयोगमा ल्याउने योजना छ ?

नेपाललाई विदेशीले चिन्दा यती भएको देश भनेर चिनोस् भन्ने चाहेका छौं। हिमाली क्षेत्रमा पाइने यो यती नेपालमा मात्रै पाइन्छ भन्ने विश्वास छ। यतीलाई नै हामीले नेपाल चिनाउने ब्रान्ड बनाउने भन्ने छ। यसलाई विभिन्न होटल तथा पर्यटकीय स्थलमा राख्ने योजना छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.