निगुरोबाट गुजारा

निगुरोबाट गुजारा

कानेपोखरी (मोरङ) : मोरङको लेटाङ नगरपालिका-४ की गीता तामाङ अरु नियमित कामलाई थाँती राख्दै जेठदेखि असोजसम्मको पाँच महिना जंगलको निगुरो टिपेर बिताउँछिन्। पति जंगबहादुरसँगै कानेपोखरी गाउँपालिका-५ स्थित वनमा निगुरो टिप्न थालेकै ११ वर्ष भइसक्यो। तामाङ दम्पतिलाई परिवारको गर्जो टार्ने भरपर्दो माध्यम बनेको छ जंगलको निगुरो। दुवै जना मिलेर जंगलको निगुरो टिप्दै बिक्री गरेर दैनिक दुई हजार रुपैयाँभन्दा बढी कमाइ गर्छन्। यसले ६ जनाको परिवार राम्ररी धानिएको छ। तामाङ दम्पति बिहान झिसमिसैमा निगुरो खोज्न जंगल पुग्छन्।

लेटाङ-३ की अम्बिका बिकले जंगलको निगुरो बेचेरै ६ जनाको परिवार धान्छिन्। ‘जंगलको निगुरोबाटै भएको कमाइले वर्षको पाँच महिना परिवार चल्छ’, उनले भनिन्, ‘बचेको पैसा लगानी पनि गर्छु।’ अम्बिकाले सिजनमा निगुरोबाट दैनिक एक हजार रुपैयाँसम्म कमाउने गरेको बताइन्। अरु बेला ज्याला मजदुरी गर्ने उनी सिजनमा निगुरोले घर खर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको बताउँछिन्।

गीता र अम्बिका मात्रै होइन मोरङको कानेपोखरी गाउँपालिका र लेटाङ नगरपालिकामा पर्ने सरकारी एवं सामुदायिक वनभित्र पाइने निगुरो टिप्न दैनिक ठूलो संख्यामा स्थानीय बासिन्दा भेला हुने गरेका छन्। अधिकांश आर्थिक अवस्था कमजोर भएका र दलित परिवारको गुजारा चलाउने गतिलो माध्यम बनेको छ तरकारीका रूपमा प्रयोग हुने जंगली निगुरो। बाढी, डुबानलगायत तरकारीको अभाव झेल्नु परिरहेका बेला बजारमा माग पनि उच्च छ।

जंगलको निगुरोले स्थानीय बासिन्दालाई आर्थिक रूपमा सवल बनाउँदै लगेको कानेपोखरी-७ का प्रेमकुमार नेपालले बताए। ‘दशकअघि निगुरोको किनबेच नहुँदा बनीबुतो गरेर यहाँका मान्छेले जीविका चलाउने गरेका थिए’, उनले भने, ‘अहिले किनबेच सुरु भएपछि गुजारा चलाउन सबैलाई सजिलो भएको छ।’

कानेपोखरी-५ का अभिषेक राईका अनुसार लेटाङ र कानेपोखरीका मात्रै चार सय परिवारका एक हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। माग उच्च हुन थालेपछि जंगलबाट टिपिने निगुरो कानेपोखरीमा संकलन गर्दै पूर्वका विभिन्न सहर र काठमाडौंसम्म पुर्‍याउने गरिएको उनले बताए। स्थानीय शुक्रराज लिम्बूले आर्थिक रूपमा विपन्न रहेकाले निगुरोकै कारण अहिले भने जस्तो खान र लगाउन पाएको बताए।

लिम्बूका अनुसार जंगलबाट खोजेर ल्याउनेले प्रतिमुठा साढे १२ रुपैयाँ संकलन गरेकै ठाउँमा पाउँछन्। उनले १० देखि ७० वर्षसम्मका बालबालिका र वृद्धवृद्धा निगुरो टिप्न दैनिक जंगल पुग्ने गरेको सुनाए। निगुरोको कारोबार बढेपछि जनसेवा सामुदायिक र कमलपुर सामुदायिक वन उपभोक्ता समितिले एक लाख २५ हजार रुपैयाँका दरले ठेक्का नै लगाएका छन्। उदय अधिकारी, बलराम राई र हिमाल राईले ठेक्का लिएका छन्।

व्यावसायिक रूपमा कारोबार सुरु भएपछि वनको आम्दानीका रूपमा निगुरोको ठेक्का लगाइएको जनसेवा सामुदायिक वन उभपोक्ता समितिका अध्यक्ष दिलाराम राईले बताए। ठेकेदारले नै प्रतिमुठा साढे १२ रुपैयाँ दिएर जंगलमा निगुरो टिप्ने परिचालन गर्ने गरेका छन्। त्यही निगुरो गाडीमा हालेर ठेकेदारले विभिन्न सहर र काठमाडौंको कालीमाटीसम्म पुर्‍याउने गरेका छन्। ठेकेदारमध्ये अधिकारीले पिकअप गाडीमा राखेर निगुरो विभिन्न ठाउँमा पुर्‍याउने गरिएको बताए। उनले भने, ‘जंगलभरि टिपिने निगुरो एक ठाउँमा जम्मा पार्दै दैनिक सात गाडीसम्म काठमाडौं लैजाने गरिएको छ।’ उनका अनुसार एउटा गाडीमा एक सय ५० क्यारेटसम्म निगुरो ढुवानी हुने गरेको छ। एउटा क्यारेटमा ३० मुठा अट्छ। उनका अनुसार जंगलमा टिपेर ल्याएको निगुरो एक ठाउँमा जम्मा पार्न प्रतिव्यक्ति चार सय रुपैयाँ दिएर १२ जना परिचालन गरिएको छ। परिचालित व्यक्तिले निगुरो संकलकबाट जम्मा पारेर ठेकेदारको जिम्मा लगाउँछन्।

काठमाडौं पुर्‍याउँदा प्रतिमुठा २५ रुपैयाँसम्म बिक्री हुने गरेको छ। एक गाडी निगुरो काठमाडौं पुर्‍याउँदा ७० हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको जानकारी अधिकारीले दिए। गत वर्ष मात्रै लागत बढी हुँदा निगुरोबाट १३ लाख रुपैयाँ नोक्सान बेहोर्नुपरेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.