थारु समुदायको माछा मोह

थारु समुदायको माछा मोह

टीकापुर : कैलालीको टीकापुर नगरपालिका–१ की सीता चौधरी हेल्का लिएर निस्किन् । आँगनमा पुगेर टोल नै थर्किने गरी कराइन्–‘चलो हो, मच्छी मारे( जाउँ है माछा मार्न)। सेनाको रोलकालझैं उनको स्वर सुन्ने वित्तिकै छिमेकी प्रभा, फुलमति, शोभा, चिन्कीसँगै अरु महिला पनि हेल्का, तापी लिएर निस्किए। रमाइलो गफगाफ गर्दै अघि बढे।  माछा मार्नका लागि उनीहरु खाल्डाखुल्डी र पानी जमेको खेत चहार्न थाले । पानी परेर भेल बगेको दिन खोल्सा र खेतहरुमा यसरी माछा मार्दै गरेका थारु महिलाहरु प्रशस्तै भेटिन्छन् ।

असारको अन्तिमतिर रोपाईं सकेर फुर्सदिला भएका महिलाहरु धान नपाक्दासम्मको समयमा खाल्डाखुल्डी र पानी जम्ने खेतमा लाम लागेर माछा मार्ने गर्छन् । बिहान ७ बजे खाना खाएर माछा मार्न निस्किएकी सीताले भनिन् ‘वर्षे खेती लगाएर सकेपछि यसरी नै हामी माछा मार्छौं ।’ 

सीतासँगै निस्किएकी फुलमति यसरी माछा मार्दा रमाइलो लाग्ने बताउछिन् ‘दिनभर माछा मार्न मज्जा आउँछ, साँझ त्यसको झोल खान ।’ फुलमतिले भनिन् ‘सबै महिला सँगै हुँदा त झन रमाइलो हुन्छ ।’

माछा र माछाका परिकारसँग थारु समुदायको धार्मिक, सांस्कृतिक सम्बन्ध पनि पनि छ । थारुका सबै चाडपर्वमा माछालाई मुख्य परिकार मानिन्छ । थारु समुदायको विवाह, दशैं र माघीमा सगुनको रुपमा माछाकै प्रयोग हुन्छ । यसै कारणले पनि थारुमा माछा मोह धेरै देखिन्छ। 

विवाहमा दुलाहा पक्षले दुलही लिन जाँदा काँचो माछालाई सगुनको रुपमा लैजानु पर्ने मान्यता रहेको टीकापुर बहुमुखी क्याम्पसका उप–प्राध्यापक नाथुराम चौधरी बताछन्। ‘सगुनमा काँचो माछा नलगे अपसगुन हुने मान्यता हुनाले विवाहमा माछा अनिवार्य नै हुन्छ ।’ उप–प्राध्यापक चौधरी भन्छन्,। दशैंमा पित्रि पूजा गर्ने प्रचलन रहेका थारुका घरमा सुकाएको सिद्रा माछा चढाउनुपर्ने परम्परा रहेको उनले जानकारी दिए।

सहजै पाइने हुनाले पनि थारु समुदायले माछालाई मुख्य परिकार मान्दै आएका छन् । पाहुनाको सत्कारका लागि पनि माछा नै मुख्य परिकार हो । उप–प्राध्यापक चौधरीका अनुसार थारुका महत्वपूर्ण चाड अष्टिम्की, अतवारीजस्ता व्रतहरुमा दर खान पनि माछा नै चाहिन्छ।

थारु समुदायले माछालाई तरकारी, अचार र खाजाका रुपमा प्रयोग गर्ने गर्छन। टीकापुर–१ सतघरुवाका रामफल चौधरी वर्षायाममा माछा मार्ने कामले खाली समयको सदुपयोग भएको बताउछन्।

महिला मात्र होइन् फुर्सदको समयमा पुरुषहरु समेत माछा मार्न पुग्छन्। टीकापुर–८ वनगाउँका सोमलाल चौधरी फुर्सद हुने वित्तिकै घर नजिकैको कर्णाली किनारमा जाल बोकेर पुग्छन् । साना माछा सुकाएर सिद्रा बनाउने र ठूलो माछाको सुकुटी बनाउने गरेको  सोमलालले सुनाए।

आफ्नै औजार

 माछा मार्न थारुहरु आफैंले बनाएका औजार प्रयोग गर्छन्। महिला र पुरुषहरुले फरक–फरक औजार प्रयोग गरी माछा मार्छन्।  महिलाहरुले हेल्का, पखै र तापीको प्रयोग गरेर माछा मार्छन् भने पुरुषहरुले खोङ्ग्या, ढरिया, जाल, महाजाल र च्युढी प्रयोग गर्छन् । थारु जातिमा माछा मार्ने विशेष सीप भएकोले औजार नै नभए पनि थारुले माछा मार्न सक्ने सूर्यपुरका कृष्णगोपाल चौधरी दाबी गर्छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.