संसद्कै गाडी खरिदमा खोट : समितिले सभामुखलाई बुझायो प्रतिवेदन
काठमाडौं : संसदीय समितिका सभापतिका लागि खरिद गरिएका गाडीमा खोट देखिएको छ। सभापतिका लागि खरिद भएका ११ वटा गाडीमा खराबी देखिएपछि रामनारायण बिडारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो।
समितिले मंगलबार सभामुख कृष्णबहादुर महरालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदन भने सार्वजनिक भएको छैन। समिति सभापति बिडारीले गाडीको इन्जिनमा नभएर पार्टपूर्जामा समस्या देखिएको बताए। ‘गाडीको इन्जिनमा समस्या छैन, गाडीको संरचनामा समस्या देखिएको छ। गाडीमा आवाज बढी आएको पाइयो’, सभामुखलाई प्रतिवेदन बुझाउने क्रममा संयोजक बिडारीले भने, ‘सिसा खोल्दा नखुल्ने, ब्रेक लगाउँदा आवाज आउने समस्या देखिएको छ।’
प्रतिवेदन बुझ्दै सभामुख महराले अध्ययनपछि मात्र निर्णय लिने बताए। ‘प्रतिवेदन आएको छ , यसको अध्ययन गरेर कारबाही गर्नुपर्ने भए गर्छु’, सभामुख महराले भने, ‘केही दिन अध्ययनपछि मात्र के निर्णय लिनुपर्ने हो भन्न मिल्छ।’
छानबिन समितिका सभापति बिडारीका अनुसार ११ सभापतिमध्ये राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठको गाडीमा ब्याक गियर नलाग्ने समस्या देखिएको छ। सभापतिको गाडी सचिवालयले संसद् सचिवालयमा बुझाइसकेको छ।
आर्थिक अनियमितताको विषयमा पत्रकारले सोधेको प्रश्नको जवाफमा संयोजक बिडारीले कागजी रुपमाा अनियमितता नभएको बताए। ‘कागजी रुपमा छैन। तर, सामान्यतया ११ गाडी खरिद गर्दा छुट हुन्छ’, उनले भने, ‘हामीले गाडी किन्दा पनि छुट पाइन्छ। त्यो छुट के भयो भन्ने प्रश्न हो। कि बोलपत्र आह्वान गरेर किनेको गाडीमा छुट पाइदैन कि ?’
छानबिनका क्रममा तीन गाडीमा धेरै समस्या देखिएको बिडारीको भनाइ छ। समितिको छानबिनमा सात आठजना सभापति नै अनुपस्थित भए। बिडारी नेतृत्वको समितिमा तारादेवी भट्ट, कृष्णप्रसाद दाहाल, भरत शाह, कृष्णभकत पोखरेल सदस्य थिए। शाह कुनै पनि बेठकमा उपस्थित भएनन्। शाहले आफ्नो बाहिरी काम भएकाले उपस्थित हुन नसकेको बताएका थिए।