कांग्रेस प्रशिक्षण भक्तपुरमा
काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले प्रदेश तीनका सात जिल्लाका महाधिवेशन प्रतिनिधिहरुका लागि प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।
भदौ २० र २१ गते भक्तपुर जिल्ला कार्यसमितिको संयोजन तथा व्यवस्थापनमा मध्यपुर ठिमी नगरपालिकाको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा प्रशिक्षण कार्यक्रम हुने प्रतिष्ठानका सचिव मुक्ति आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रशिक्षणमा सहभागिताका लागि भदौ २० गते बिहान ८ देखि १० बजेसम्म सहभागीहरुले नाम दर्ता गरिसक्नुपर्ने कांग्रेसले जनाएको छ।
प्रदेश-३ को भक्तपुरमा आयोजित प्रशिक्षणमा १३ जिल्लामध्ये सात जिल्लाहरु काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरु मात्र सहभागी हुने जनाइएको छ। बाँकी ६ जिल्लाहरु रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुरमा प्रशिक्षण कार्यक्रमको आयोजना गरिने भएको छ।
त्यस्तै प्रदेश-१ को धनकुटा र मोरङ, प्रदेश-२ को जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा महाधिवेशन प्रतिनिधिहरुका लागि केही समयपछि प्रशिक्षणको मिति तय गरिने विज्ञप्तिमा उल्लेख छ। उपसभापति विमलेन्द्र निधि संयोजक रहेको प्रतिष्ठानले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो। यसअघि गण्डकी प्रदेश, प्रदेश पाँच र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सम्पन्न भइसकेको छ।