धनगढीमा साँघुरो बसपार्क : हरायो, नयाँ बनाउने योजना
धनगढी : साघुँरो बसपार्क छ धनगढीमा। जसको कारण गाडीहरु यत्रतत्र छरिएका छन्। धनगढी उपमहानगर–४ मा रहेको बसपार्कका लागि विकल्प खोजिए पनि निर्माण हुन सकेको छैन। सार्वजनिक जमिन नहुँदा नयाँ बसपार्क निर्माण गर्न नसकेको उपमहानगरले बताउँदै आएको छ।
साविकको धनगढी नगरपालिका हुँदा नै बसपार्क बनाउने योजना बनाए पनि अहिलेसम्म जमिनसमेत भेटिएको छैन। ४ दशक अगाडि ५० बसका लागि बनाईएको धनगढी बसपार्कको क्षमता बढाउन नसक्दा व्यवस्थित हुन सकेको छैन।
वर्षेनी धनगढीमा सवारी चाप बढ्दै गएको छ। मुख्य बजारमै बसपार्क हुँदा ट्राफिक जामको समस्या समेत हुन गरेको छ। उपमहानगरका इन्जिनियर दिजराज भट्टले ५० वटा बसको क्षमताका लागि बनाइएको बसपार्कमा जसोतसो ७० वटा बस पार्किङ गर्न सकिने अवस्थामा रहेको बताए।
‘धनगढीमा नयाँ बसपार्क बनाउने योजना ४ दशक पहिलेको योजना हो’ उनले भने,‘बसपार्क बनाउने खालको जमिन कतै पनि भेटिएको छैन।’
बसपार्कका लागि राजमार्ग नजिक र बजार भन्दा अलि टाढा ५ विगाह जमिन आवश्यक भएको उनले जानकारी दिए। टर्मिनल भवन, शौचालय, सुरक्षा भवन, यात्रु प्रतिक्षालय, ग्रिनपार्क, घण्टाघर, पेट्रोल पम्प, डिजिटल सूचना बोर्ड, व्यावसायिक कक्ष, टिकट काउन्टर, सौर्य बत्ती, लकर रुम र गाडी स्टाफका लागि आराम गृह लगायत संरचना सहितको व्यवस्थित बसपार्कको आवश्यकता देखिएको इन्जिनीर भट्टको भनाई छ।
नयाँ बन्ने बसपार्कमा रुट अनुसार बस पार्किङको व्यवस्था हुन आवश्यक छ भने साना र ठुला सवारीको छुट्टाछुट्टै पार्किङको व्यवस्थापन सहितको बसपार्क आवश्यक देखिएको उनले बताए।
धनगढीमा सुदूरपश्चिम यातायातका मात्रै ६०० बस छन भने कैलालीमै रहेका थप तीन वटा समितिका बस जोडेर १ हजार बस पुग्छन्। मुलुकका विभिन्न जिल्लाबाट आवतजावत गर्ने विभिन्न समितिका बसहरु जोडेर दैनिक १५ सयको हाराहारीमा बसहरु धनगढीमा ओहोरदोहोर गर्ने गर्दछन्।
बसको संङख्या बढ्दै गएकाले दिर्घकालिन सोचका साथ व्यवस्थित रुपमा बसपार्क बनाउन आवश्यकता महसुस भएको उपमहानगर प्रमुख नृपबहादुर वडको भनाई छ। ‘नयाँ बसपार्क बनाउनका लागि उपमहानसँग योजना छ’, उनले भने,‘सार्वजनिक जमिन नहुँदा समस्या भएको हो ।’
जग्गा किनेर भएपनि नयाँ बसपार्क निर्माण प्रक्रिया अगाडि बढाउने उनले दाबी छ। एक वर्ष अगाडि धनगढी उप–महानगरपालिकाले बोराडाँडीमा सेनाले घेराबार गरेको जग्गामा अनुमती बिना नै बसपार्क बनाउन खोज्दा विवाद भएको थियो। त्यसपछि उपमहानगरले नयाँ बसपार्क बनाउने विषयमा छलफल समेत गर्न छोडेको छ।
उपमहानरका अनुसार धनगढी उपमहानगर भित्र विभिन्न व्यक्तिहरु बसोबास गरीरहेको ऐलानी जमिन नै १४ सय विगाह छ। तर, त्यो जमिनमा सार्वजनिक संरचना बनाउने खालको छैन्। सहर भन्दा धेरै टाढा र धेरै ठाउँमा बस्ती बसेका छन्।