थाम्सुहाङलाई दिव्यविक्रम स्मृति पुरस्कार
काठमाडौं : कवि एवं समालोचक प्रकाश थाम्सुहाङ ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन्। झापाको विर्तामोर्डमा आयोजित एक कार्यक्रममा तीस हजार राशीको उक्त पुरस्कारबाट थाम्सुहाङलाई पुरस्कृत गरिएको हो।
नन्दहाङ नेम्बाङको अध्यक्षता र कवि कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्वमाथि कवि मुनाराज शर्माले आफ्नो धारणा राखेका थिए।
स्व.दिव्यविक्रम नेम्बाङ २०१७ सालको क्रान्ति योद्धाका रुपमा चिनिन्छन्। त्यसबेला कांग्रेसको राजनीति गरेवापत उनलाई देश निकाला गरिएको थियो। पछि कांग्रेस नेता सुवर्ण शमशेरले नेपाल प्रवेश गराएका मध्ये उनी पनि एक हुन्। नेम्बाङ शिक्षा क्षेत्रमा लागेर प्रधानाध्यापकसम्म भए।
दाजिलिङबाट म्याट्रिक गरेका नेम्बाङका दार्जिलिङ र काठमाडौंबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा कविता, निबन्ध छापिएका छन्। कार्यक्रममा स्व.नेम्बाङको जीवनीमाथि कवि धर्मेन्द्रविक्रम नेम्बाङले प्रकाश पारेका थिए।