कर्णालीमा सेनाको एयर वेश
सुर्खेत : कर्णालीमा हुने प्राकृतिक प्रकोप र विपद्का घटनामा अब नेपाली सेनाले सुर्खेतलाई आधार बनाएर हवाई उद्धार गर्ने भएको छ। यसअघि कर्णालीमा आकस्मिक उद्धार र राहतको काम गर्दा सेनाले काठमाडौंबाट हेलिकोप्टर मगाउनुपर्ने बाध्यता थियो। तर सुर्खेतमा एयर वेश स्थापना भएसँगै अब सुर्खेतलाई आधार बनाएर कर्णाली र पश्चिम क्षेत्रमा हवाइ उद्धारको काम हुने भएको हो।
कर्णालीका जिल्लामा अहिले पनि सडकको सहज पहुँच छैन। दुर्गमका गर्भवती र सिकिस्त बिरामीलाई हाल हेलिकोप्टरबाट आपतकालिन उद्धार गर्नुपर्ने बाध्यता छ। यसका लागि नेपाली सेनाले काठमाडौंबाट हेलिकोप्टर ल्याएर उद्धार गर्दै आएको थियो।
अब यो समस्या टरेको भन्दै सेनाले कर्णालीमा आकस्मिक उद्धारका काम गर्न सुर्खेतमा रहेको एयर वेशमा दुई वटा हेलिकोप्टर तयारी हालतमा राखिएको जनाएको हो। वीरेन्द्रनगरस्थित एयरपोर्टमा रहेको सेनाको ब्यारेकमा निर्माण भएको एयर वेश सेवाको मंगलवार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका हुन्।
सुर्खेतमा एयर वेश संचालनमा आएसँगै अब कर्णालीमा गर्भवतीको उद्धारमा पनि छिटो र सहज हुने सेनाको भनाइ छ। काठमाण्डौबाट हेलिकोप्टर मगाउँन्जेल गाउँमा सुत्केरी र दुर्घटनामा परेकाहरुको ज्यान जाने गरेको भन्दै सेनाले अब तत्कालै उद्धार सम्भव हुने जनाएको हो।
आकस्मिक उद्धार र राहतका लागि सुर्खेतमा रहेको एयर वेशमा हाल एमआई–१७ सहित दुई वटा हेलिकोप्टर नियमित रुपमा उपलब्ध रहने छन्। यस्तै अबको १० वर्षभित्र हवाई साधन थप गरी उद्धार र राहतको कामलाई थप प्रभावकारी बनाउने योजना सेनाको छ। सुरक्षित हवाई सेवा विस्तार गर्नका लागि अहिले एयर वेशमा ह्याङ्गर निर्माणको काम थालनी भइसकेको छ।
एयर वेश संचालनको उद्घाटन गर्दै प्रधानसेनापति थापाले अब दुर्गमका सुत्केरीको उद्धारमा सहज हुने बताए। साथै सुर्खेतमा स्थापना भएको पश्चिम एयर वेशले कर्णाली र सुदुरपश्चिम क्षेत्रमा पनि सेवा उपलब्ध गराउने उनको भनाइ छ।
हवाई सेवालाई पश्चिम क्षेत्रमा पनि विस्तार गरिएको भन्दै सैनिक जनसम्पर्क निर्देशनालयले सुर्खेतमा स्थापना भएको एयर वेशले कर्णालीका नागरिकलाई राहत पुग्ने जनाएको छ।
यस्तै आकस्मिक उद्धार र राहतमा अब तत्कालै हेलिकोप्टर उपलब्ध हुने भन्दै निर्देशनालयले उद्धारमा लागत खर्च पनि कम लाग्ने जनाएको हो। काठमाण्डौंबाट आउँदा बढी लागत लाग्ने गरेको भन्दै अब सुर्खेतमै हेलिकोप्टर उपलब्ध हुने भएकाले भाडा कम लाग्ने सेनाको भनाइ छ।