इतिहासबाट किन नसिक्ने ?
भनिन्छ –इतिहासबाट पाएको शिक्षाले भविष्य आकलन गर्न सकिन्छ। यसले बितेका घटनाको महत्त्वपूर्ण वृतान्त जान्न र बुझ्न मद्दत पुर्याउँछ। इतिहास लेखनमा नेपाली लेखकको आ–आफ्नै प्रकारको विशिष्टता पाइन्छ। जसमा यहाँको सभ्यताको प्रादुर्भाव भएदेखि हालसम्मकै राजनीतिक सामाजिक अवस्थाको चित्रण गरिएको हुन्छ। यहाँसम्म आइपुग्दा गौरवपूर्ण अतीत र पुर्खाको बहादुरीले हामीलाई आल्हादित बनाएको छ। अबको पुस्ताले ऐतिहासिक दर्शन र सिद्धान्त पढ्नैपर्छ। जसलाई बुझेर ग्रहण गर्दा भविष्यको मार्ग पहिल्याउन सहज हुन्छ।
इतिहासले युगान्तकारी परिवर्तनसमेत गराएको छ। पटक–पटक परिवर्तन हुँदा पनि यहाँको राजनीतिमा उचित व्यवस्थापनको सधैं अभाव रह्यो। नागरिकले परिवर्तनको फल प्राप्त गर्न सकेनन्। २०६२/६३ मा लोकतन्त्र, शान्ति र स्थिरताका लागि आन्दोलन भएको हो। परिवर्तनपश्चात केही देशीविदेशी तत्त्वबाट जनतामा शब्दजालको षड्यन्त्र बुन्न थालियो। इतिहास बंग्याउने खेल त्यहींदेखि सुरु गरियो। परिवर्तनलाई जसले जसरी अथ्र्याए पनि सत्य शास्वत हुन्छ। उनीहरूको शब्दजाललाई विस्तारै जनताले पत्याउन छाडे।
मानिसले उसको विगत थाहा पाएन भने ऊ पूर्ण हुँदैन। उसको पहिचान भनेको पिता–पुर्खाले देखाएको सही मार्गमा हिँड्नु हो। पुर्खाको आदर्शलाई व्यवहारमा उतार्नु उसको दायित्व बन्छ। युरोपियन इतिहासकार एवं साहित्यकार भोल्तियरले भनेका छन् –‘इतिहास त्यो हो, जसबाट भविष्य निर्धारणका लागि आदर्शको खोजी भइरहन्छ।’ विगतका अनुभवले सुखी र सुरक्षित भविष्य निर्माणको अठोट लिन इतिहासले प्रेरित गर्छ। अगाडिको बाटो हिँड्न शिक्षा दिन्छ। सुगौली सन्धिबाट सत्रूलाई कहिले कमजोर ठान्नु हुँदैन भन्ने शिक्षा हामीलाई प्राप्त भयो। नेपाली राजनीतिले त्यसलाई कतिसम्म ग्रहण गर्यो त्यो बेग्लै विषय हुनजाला। सात साल होस् वा छयालीस ती परिवर्तनबाट मुलुकले विकास र समृद्धि चाहेको थियो तर आन्तरिक कलह र लुछाचुँडीले जनचाहनामा तुषारापात भयो।
इतिहासले हामीलाई धेरै सिकायो, बाटो पनि देखायो तर राजनीतिले त्यसलाई ग्रहण गर्न चाहेन। ज्ञान घोकेर मात्र पाइँदैन। त्यसलाई बुझेर लिन सक्नुपर्छ। यहाँ व्यक्तिगत स्वार्थ खातिर लोकतान्त्रिक भनिएका सरकारले पनि जन–आवाज बुझ्ने प्रयास गरेनन्। संघीय लोकतन्त्रको नाममा इतिहास छोप्ने मुर्खता भयो। अझै हुँदैछ। राजनीतिमा निष्ठा र इमान्दारी भइदिँदा प्रतिफल जनतामा पुग्नसक्छ। आज राजनीति स्वार्थकेन्द्रित भयो। स्वार्थी नेतृत्वबाट समाज निर्माणको कार्य बोलीमा मात्र हुन्छ,व्यवहारमा हुँदैन। यो वास्तविकता विश्व राजनीतिले प्रमाणित गरिदिएको छ।
हाम्रो शक्ति र सामथ्र्यको अगाडि संसारमा अरू शक्ति फिक्का हुन्थे तर आज पुर्खाले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई समाप्त पार्न खोजिएको छ।
विगत केही वर्षदेखि यहाँ विकास र समृद्धिको नारा घनिभूत बनाइयो। पूर्वाधारबिनाको बोली गफमा सीमित हुनजान्छ। सरकारी भनाई विश्वास गर्ने हो भने अहिलेसम्म मेलम्चीको पानी तीन पटकसम्म घर–घरमा आइसक्यो। झुट बोल्दा बोल्दा अब त सरकार नै थाकिसक्यो। विगत चौध वर्षदेखि यहाँ यसरी नै झुट बोलिएको छ। कोक्राको बच्चा हल्लाउँदा लैलै भनी थुमथुम्याए जस्तो मात्र गरिन्छ। इतिहासबाट सिक्न नसक्दा पहिले भन्दा अस्तव्यस्त भयो। गरिबी बढेर गयो। बेरोजगारी महारोग बन्दैछ। यहाँसम्मकी विदेशी सामु नेताहरू नै लाचार भइदिए। नागरिकको आत्मसम्मान र राष्ट्रको प्रतिष्ठामा समेत ठेस पुगेको हेक्का राखिँदैन। लम्पसार प्रवृत्तिले राजनीति नै दूषित र दुर्गन्धित भयो। नेतृत्वले दुर्गन्धलाई बासना आएको ठान्ने गर्छ।
राज्यसत्ता बुझेर पनि अबुझ बन्छ। इतिहासलाई समाजविज्ञानको मूल स्रोत मानिन्छ। आज त्यसैलाई शिक्षाको मूलधारबाट पाखा लगाइयो। यसको अध्ययनले युवामा राष्ट्रप्रेम जागृत गराउँछ। संकुचन हटेर जान्छ। फराकिलो विचारले ठाउँ लिन्छ। भ्रम र यथार्थबीचको फरक छुट्याइदिन्छ। यहाँ छद्मभेषीहरूद्वारा इतिहास बंग्याउन भरपुर कोसिस भयो। त्यही प्रवृत्तिले राष्ट्रिय विभूतिप्रति कटाक्ष गरेको अद्यपि सुन्न पाइन्छ। राजनीतिमा भ्रष्ट र माफियाको पहुँचलाई जबसम्म विस्थापित गरिँदैन तबसम्म यहाँ यस्तै हुन्छ, जुन भइरहेको छ।
दम्भी सत्ताले देशभन्दा स्वार्थलाई प्राथमिकतामा राखेको हुन्छ। विशेषगरी साम्यवादी सत्ताकब्जाको अभीष्ट पूरा गर्न राष्ट्रवादको नारा बढी नै उचाल्छन्। उनीहरूले सत्ताबाहेक अरू केही देखेको हुँदैन। यो इतिहासले उजागर गरेको तथ्य हो। यहाँ पनि त्यही सिद्धान्तले काम गरेको भान पर्दैछ। हालै चितवनलगायत देशका विभिन्न ठाउँमा निस्किएको जनसागरलाई सरकारी पक्षबाट भएको अपमान र दुव्र्यवहारले त्यसैको पुष्टि गर्छ। यहाँ प्रतिपक्ष पनि असली राष्ट्रवाद भन्दा छद्म राष्ट्रवादमै रमाएको छ।
लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाले भनेका छन्– ‘कांग्रेसले जुन दिन राष्ट्रियता छोड्छ त्यही दिनदेखि उसको अन्त्यको प्रारम्भ हुन्छ।’ आज कांग्रेस त्यस्तै भएको छ। उसले आफ्ना मूल्यमान्यता र आदर्श त्यागीसक्यो। साम्यवादीको प्रवक्ताको रूपमा आफूलाई उभ्याएको छ। त्यत्रो नाकाबन्दी भयो उसको आफ्नो विचार बाहिरिएन। धर्म संस्कृति र सभ्यतामाथि प्रहार हुँदा मूकदर्शक बन्छ। यो तमाम यथार्थबाट पृथक बस्ने हो भने कांग्रेसको छुट्टै चिनारी के हो ? अब त ऊ यो प्रश्नबाट समेत निरुत्तर भएको छ। सक्षम र स्वार्थरहित नेतृत्व हुँदा राम्रो काम गर्न कुनै वादले छेक्दैन। सोह्रौं सताबदीमा फिलिप द्वितीयको नेतृत्वमा स्पेनले चमत्कारी विकास गर्यो। त्यतिबेला युरोपमा स्पेन मात्र समृद्ध र शक्तिशाली देश कहलाइन्थ्यो। यहाँ पनि सक्षम र स्वार्थरहित नेतृत्व आउने हो भने प्रगति अवश्य हुन्छ। जसको पछिल्लो दृष्टान्त मित्रराष्ट्र भारतमा नरेन्द्र मोदीको आगमनलाई लिन सकिन्छ। राजनीतिमा युवाको महत्त्वपूर्ण भूमिका हुन्छ। यहाँ पनि राजनीतिमा केही युवा प्रवेश भएकै हुन्। उनीहरूबाट केही होला भने जन–अपेक्षा थियो। आज उनीहरूलाई नै कमजोर पारियो। यहाँको नृेतत्वले इतिहासबाट सिक्ने सामान्य चेष्टासम्म गरेन। सिरियामा पसलको सानो विवाद हुँदा आज त्यत्रो नरसंहार भएको छ। लोकतन्त्र मात्र भनेर हुँदैन। यसका सञ्चालक नागरिक चाहनाअनुसार रुपान्तरित हुनुपर्छ। यहाँ त्यस्तो देखिँदैन। गोकुल बास्कोटाहरू सडकमा देखिएको नागरिकको भीडलाई भेडा बाख्राको नाटक भन्दैछन्।
सन् १९८९ मा रोमानियाको अत्याचारी कम्युनिस्ट शासक निकोलाई चाउसेस्कुले सडकमा देखिएको नागरिकको भीडलाई नाटक मञ्चन नै भनेका थिए। उनले त्यो जनउभार कुल्चिने धृष्टता गरे। उनको अहंकारी वाणी बाहिरिन नपाउँदै जनताको भीड जनसागरमा रुपान्तरित भयो। त्यही भीडले सदाका लागि कम्युनिष्ट निरंकुशता उखेलेर फ्याँकिदियो। अन्त्यमा चाउसेस्कु र उनकी पत्नीको जीवनलिला पनि समाप्त भयो। दम्भी शासकले नागरिकलाई जहिल्यै पनि दास ठानेका हुन्छन्। यहाँ पनि राज्यले त्यस्तै ठानेको आभास हुँदैछ।
हामी के हौं ? कसरी यहाँसम्म आइपुग्यौं ? हाम्रो अस्तित्वको संरक्षण कसरी भयो ? यावत् प्रश्नको उत्तर इतिहासबाट मात्र प्राप्त हुन्छ। कुनै समय यस्तो थियो हाम्रो शक्ति र सामथ्र्यको अगाडि संसारमा अरू शक्ति फिक्का हुन्थे तर आज पुर्खाले निर्माण गरेको गौरवपूर्ण इतिहासलाई समाप्त पार्न खोजिएको छ। संसारमा बहादुरीको उपनामबाट चिनिएको नेपाली सेनामा समेत अहिले छद्म राजनीति भित्त्याउन खोजिँदैछ। जन्म दिने मातापिताप्रति कुनै पनि सपूत छोराले दुःख वा हैरानी दिँदैन। माता पिताको आदर्शबाट उसको जीवन सफल हुन्छ। झुटको पर्दाले त्यतिबेलासम्म छोप्न सकिन्छ जतिबेलासम्म नागरिकमा यथार्थ जागरण हुँदैन। जब जनताले धरातलीय यथार्थ बुझ्न थाल्छन् तब छद्मभेषीहरूको नांगो नाच इतिहासले धुलोमा मिलाइदिन्छ। यही शिक्षा र आदर्श हामीलाई हाम्रा ऐतिहासिक दस्ताबेजले दिएको छ।