सागको मुखमा अजितको दुर्भाग्य

सागको मुखमा अजितको दुर्भाग्य

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने लक्ष्यका साथ तयारीमा रहेका नेपालका चर्चित युवा धावक अजितकुमार यादवका लागि पहिलो साग नै खल्लो बन्ने भएको छ। सागको तयारी गरिरहेका अजितलाई अहिले हेपाटाइटिस ‘बी’ रोग लागेका कारण उनको साग सहभागिता अन्योलमा परेको हो।

साग छनोटअन्तर्गत गत शनिबार भएको प्रतियोगितामा पाँच हजार मिटर दौडमा सहभागी अजितले दौडकै क्रममा एक्कासि पेट दुखेपछि दौड त्यागेका थिए। ४२ सय मिटरसम्म अगाडि रहेका अजितले एक्कासि पेट दुख्यो भन्दै खेल छाडेपछि उनलाई तत्काल राष्ट्रिय खेलकुद परिषद् (राखेप)स्थित अस्पताल लगिएको थियो। चिकित्सकले हेपाटाइटिस ‘बी’ देखिएकाले उनलाई थप उपचारका लागि नर्भिक हस्पिटल जान सुझाएका थिए। उनी अहिले नर्भिकमा उपचार गराइरहेका छन्।

‘साग खेल्न पाउने र नपाउने निक्र्योल छैन। बन्द प्रशिक्षणबाट बाहिरिएको छु। स्वास्थ्यले साथ दिएमा चिकित्सकको सल्लाहअनुसार खेल्न पनि सक्छु। साग जित्ने लक्ष्यका साथ तयारी गरेको थिएँ। बीचमै नसोचेको दुर्भाग्य भयो,’ अजितले भने। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्णधारी अजित नेपालले आस गरेका खेलाडी हुन्। विभागीय टोली एपीएफ क्लबमा आबद्ध अजितको प्रदर्शन तीन हजार र पाँच हजार मिटर दूरीमा अब्बल छ। छनोट खेलमा पनि उनी ४२ सय मिटर दौडसम्म अगाडि नै थिए।

अजितको सम्भावनालाई ख्यालमा राखेर उनलाई सागको वैकल्पिक खेलाडीमा राखिएको प्रशिक्षक धनीराम चौधरीले बताए। ‘सम्भावना बोकेका खेलाडीले दौडकै क्रममा पेट दुख्यो भन्दै छाड्दा नरमाइलो लागेको छ। उनको प्रदर्शन राम्रो थियो। तर उनलाई हेपाटाइटिस ‘बी’ रोग लागेको सुन्दा केही आराम गर्नुपर्छ। सागका लागि अन्तिम छनोट खेल एक महिना पछि हुन्छ। चिकित्सकको सल्लाहअनुसार उनलाई खेलाउन पनि सकिन्छ,’ प्रशिक्षक चौधरीले भने।

साग पाँच हजार मिटर दौडमा दुई जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। छनोट खेलमा अजितसँगै गोपीचन्द्र पार्की, गजेन्द्र राई र हरि रिमालले प्रतिस्पर्धा गरेका थिए। अजितले खेल त्यागेपछि गोपीचन्द्र पहिलो र गजेन्द्र दोस्रो भएका थिए। अजित नेपालका कीर्तिमानी धावक हुन्। १८ वर्षीय अजितले गत वर्ष हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा तीन हजार मिटर दौडमा स्वर्ण जितेका थिए।

सप्तरीको राजविराज निवासी अजितले एसियाली युथ च्याम्पियनसिपमा निर्धारित दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए। उनले ४५ वर्षपछि नेपाललाई एसियाली एथलेटिक्समा पदक दिलाएका थिए। यसअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालका जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.