मेयरले रोके वडाको भुक्तानी
सिरहा : वडा/अध्यक्षसँगको आन्तरिक मतभेदका कारण नगरप्रमुखले वडाका योजनाको भुक्तानी रोकेका छन्। कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमानले ६ नम्बर वडाध्यक्ष जगदिश महतोको वडाका सम्पूर्ण योजनाको रकम भुक्तानी रोक्का गरेका छन्।
नगरपालिकाको केन्द्र सार्ने विषयमा आफ्नो पक्षमा साथ नदिएको र आर्थिक वर्ष ०७६/०७७ को नगरसभामा गत आव ०७५/०७६ को आय–व्यय वडाअध्यक्ष महतोले माग गरेपछि प्रमुख पासमानले भुक्तानी रोक्का गरेको बुझिएको छ। ०७६ वैशाख ८ गते नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई प्रमुख पासमानले नगरसभा अनुसार आर्थिक वर्ष ०७५/०७५ योजना सञ्चालन गर्न अधिकार प्रत्यायोजन गरेका थिए। त्यही पत्रमा भौतिक पूर्वाधार तथा लक्षित वर्गको योजना तथा कार्यक्रम सञ्चालन पश्चात टिप्पणी नगरप्रमुखसमक्ष पेश गर्न निर्देशन गरेका छन्। सोही अनुसार प्रमुख पासमानले वडा नम्बर ६ का विकास योजनाको भुक्तानी रोक्का गरेका छन्।
आव ०७४/०७५ का विभिन्न योजनाका २५ लाख ५० हजार र आव ०७५/०७६ को ४२ लाख रुपैयाँ भुक्तानी नदिएको वडाअध्यक्ष महतोले बताए। विकास योजनाहरुको सम्झौता, मूल्यांकन र अनुगमन भइसकेपछि नगरपालिकामा भुक्तानी रोक्का भएका छन्। उपभोक्ता समितिहरुलाई रकम नदिँदा आफूलाई पटक–पटक ताकेता गरिरहेको वडाअध्यक्ष महतोले बताए। काम सम्पन्न गरेर भुक्तानी लिन नगरपालिका जाँदा नदिएको पाहुना घर निर्माण उपभोक्ता समितिका अध्यक्ष विशेश्वर दासले बताए। ‘म पटक–पटक भुक्तानीका लागि नगरपालिकाा गएँ। नगरप्रमुख पासमानले वडाअध्यक्षका कारण भुक्तानी दिन नसकिने भन्दै फर्काए।’
काम सम्पन्न भएपछि अनुगमन गरी प्रतिवेदन नगरपालिकामा पेश गरिएको अनुगमन समिति संयोजक तथा उपप्रमुख ज्ञानु श्रेष्ठले बताइन्। समयमा काम सम्पन्न नगरेका कारण भुक्तानी रोक्का गरिएको नगरप्रमुख पासमानले बताए। ‘त्यो वडामा समयमा काम पनि भएको छैन। वडाध्यक्षले योजनाबिना नै काम गराएका छन्। त्यसरी मनपरी गराएको काम भएकाले भुक्तानी रोक्का भएको हो।’