भदौ २३ देखि सुपथ मूल्य पसल
काठमाडौं : सुपथ मूल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने उद्देश्यले सरकारले भदौ २३ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। आसन्न चाडपर्व दसैं, तिहार र छठ पर्वलाई लक्ष्य गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक १७ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।
मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीका अनुसार सुपथ मूल्य पसल सञ्चालन गर्ने विषयमा मंगलबार मन्त्रालयले निर्णय गरेको हो। काठमाडौं उपत्यकासहित देशभर ४२ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको छ। यो वर्ष पनि साल्ट ट्रेडिङ कर्पोरेसन, खाद्य व्यवस्था तथा व्यापार कम्पनी (नेपाल खाद्य संस्थान), दुग्ध विकास संस्थान र सहकारी पसलले संयुक्त रूपमा सुुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो।
केसीकाअनुसार सुपथ मूल्य पसलमार्फत प्रतिकिलो नुनमा दुई, चिनीमा पाँच, मोटा चामलमा पाँच, मसिनो चामलमा १०, खसीबोका र च्याङग्रामा १० रुपैयाँ छुट दिने निर्णय भएको छ। यसबाहेक डीडीसीको प्रतिकिलो घिउमा ५० र पनिरमा १० रुपैयाँ छुट दिइनेछ। यसका साथै गेडागुडी, दाल, मैदा, सुजीसहित केही थप अत्यावश्यक बस्तुमा पनि छुट दिइनेछ।
केसीकाअनुसार यो वर्ष पनि उपत्यकासहित विभिन्न स्थानमा ८० भन्दा बढी स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी (पहिले नेपाल खाद्य संस्थान) ले साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थान(डीडीसी) सँग संयुक्त रुपमा कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार (रामशाहपथ संयुक्त), थापाथली, नख्खुलगायत स्थानमा पसल सञ्चालन गर्न लागेको छ। यसबाहेक संस्थानले आफ्ना बिक्री केन्द्रबाट समेत छुट्टै यस्तो पसल सञ्चालन गर्ने तयारी गरेको छ।
साल्ट ट्रेडिङ कर्पोरेसनका व्यापार प्रमुख पंकज जोशीकाअनुसार साल्टले काठमाडौं, कोटेश्वर, कालिमाटी, सतुंगल, भक्तपुर, ललितपुर, बनेपा, बिर्तामोड, विराटनगर, राजविराज, लाहान, जनकपुर, वीरगञ्ज, हेटौंडा, नारायणघाट, पोखरा, बाग्लुङ, भैरहवा, सुर्खेत, नेपालगञ्ज, टिकापुर, धनगढी, महेन्द्रनगर, दिपायल, डडेलधुरासहित ३० स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ।
यसबाहेक साल्टले स्थानीय प्रमुख जिल्ला अधिकारी तथा उपभोक्ताको मागअनुसार दुर्गम क्षेत्रमा थप ३० स्थानमा पसल सञ्चालन गर्ने तयारी गरेको छ।
‘दुर्गम क्षेत्रमा ट्रकमा लगेर बिशेष दिनमा बिक्री गर्ने तयारी गरेका छौं,’ जोशीले भने। यसवाहेक साल्टले उपत्यकामा ६ मोबाइल भ्यान प्रयोग गरी उपभोक्तालाई सहुलियत मूल्यमा बस्तु बिक्री गर्ने जनाएको छ। सुपथ मूल्य पसल सञ्चालनका लागि यो वर्ष मन्त्रालयले बजेटमै कार्यक्रम समावेश गरी साल्टलाई डेढ करोड र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई एक करोड ७५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।