देउवा निवासमा कांग्रेस शीर्ष नेता
काठमाडौं : बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्डमा शीर्ष नेताबीच छलफल भएको छ।
दुई महिनासम्म चलेको केन्द्रीय समिति बैठक मंगलबार टुंगिएपछि कांग्रेस पदाधिकारीसहितका शीर्ष नेता देउवा निवास पुगेका हुन्। सभापति देउवाले केन्द्रीय समिति बैठकमा भएको सहमतिका लागि सबै नेतालाई धन्यवाद दिए।
देउवा निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, प्रवक्ता विश्वप्रकाश शर्मालगायत शीर्ष नेता सहभागी थिए।
बुधबार बिहानको अनौपचारिक छलफलमा वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीको जमघट थियो। कांग्रेसले दुई महिनासम्म चलेको केन्द्रीय समिति बैठकका निर्णय बुधबार सार्वजनिक गर्देछ। प्रवक्ता शर्माका अनुसार केन्द्रीय समिति बैठकका निर्णय दिउँसो ४ बजे सानेपामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक हुनेछन्।