यूएस ओपन टेनिस : सेमिफाइनलमा पुगिन् सेरेना

यूएस ओपन टेनिस : सेमिफाइनलमा पुगिन् सेरेना

न्युयोर्क : चर्चित स्विस खेलाडी रोजर फेडेरर ग्रान्डस्लाम टेनिस प्रतियोगिता यूएस ओपनको क्वार्टरफाइनलमै पराजित भएका छन्। तेस्रो वरीयताका फेडेररलाई बुधबार भएको खेलमा बुल्गेरियन खेलाडी ग्रिगर दिमित्रोभले हराएका हुन्। दिमित्रोभ पहिलो पटक यूएस ओपनको सेमिफाइनलमा पुगेका हुन्। पाँच सेटसम्म लम्बिएको उक्त खेल निकै प्रतिस्पर्धात्मक थियो।

अनुभवी खेलाडी फेडेररले पहिलो सेटको नतिजालाई ६—३ अंकले आफ्नो पक्षमा पारेका थिए। दोस्रो सेटको खेलमा २८ वर्षीय दिमित्रोभ ६—४ ले अगाडि बढे। तेस्रो सेटको नतिजालाई पुनः ६—३ ले आफ्नो पक्षमा पार्दै फेडेरर अगाडि बढेका थिए। त्यसपछि भने फेडेररले लय गुमाए। चौथो र पाँचौं सेटमा क्रमशः ६—४ र ६—२ को जित हात पार्दै दिमित्रोभ सेमिफाइनलमा पुग्न सफल भए।

दिमित्रोभले हालसम्म ग्रान्डस्लाम प्रतियोगितामा सेमिफाइनलभन्दा अगाडिको यात्रा तय गर्न सकेका छैनन्। उनी सन् २०१४ मा विम्बल्डन र सन् २०१७ मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पराजित भएका थिए। दिमित्रोभसँग पराजित भएपछि २१औं ग्रान्डस्लाम उपाधि जित्ने फेडेररको सपना चकनाचुर भयो।

फेडेररले हालसम्म पाँच पटक यूएस ओपन, आठ पटक विम्बल्डन, एक पटक फ्रेन्च ओपन र ६ पटक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। ३८ वर्षीय फेडेररले सन् २०१८ मा अस्ट्रेलियन ओपनका रूपमा अन्तिम ग्रान्डस्लाम उपाधि हात पारेका थिए। यूएस ओपनमा भने उनले सन् २००८ पछि उपाधि जित्न सकेका छैनन्।

पछिल्लो समय फेडेरर केही अस्वस्थ्य पनि रहँदै आएका छन्। उनी पिठ्यूँको समस्याबाट पीडित छन्। विश्व वरीयताको ७८औं स्थानमा रहेका दिमित्रोभले अब सेमिफाइनलमा रुसी खेलाडी ड्यानिल मेदभेदेभसँग प्रतिस्पर्धा गर्नेछन्। मेदभेदेभले पनि क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डकै स्टान वावरिन्कालाई ७—६ (६), ६—३, ३—६, ६—१ ले हराएका थिए।

महिला एकलतर्फ भने अमेरिकाकी सेरेना विलियम्स र युक्रेनकी एलिना भितोलिना सेमिफाइनलमा पुगेका छन्। आठौं वरीयतामा आसीन अनुभवी खेलाडी सेरेनाले क्वार्टरफाइनल खेलमा चीनकी वाङ क्विङमाथि ६—१, ६—० अंकको सजिलो जित हासिल गरिन्। ३७ वर्षीया सेरेनाले हालसम्म २३ वटा ग्रान्डस्लाम उपाधि जितिसकेकी छन्।

अघिल्लो वर्ष यूएस ओपनको फाइनलका कारण सेरेना विवादमा परेकी थिइन्। त्यतिबेला महिला एकलतर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाकाले सेरेनालाई हराएकी थिइन्। ओसाकासँग पराजित भएपछि सेरेनाले आफ्नो हारको दोष अम्पायरमाथि थोपरेकी थिइन्। उनले त्यतिबेला अम्पायरलाई ठगी गरेको र झूटो बोलेको आरोप पनि लगाएकी थिइन्। सोही कारणले हार स्विकार्न नसकेको भन्दै सेरेनाको आलोचना पनि भएको थियो।

सेरेनाले हालसम्म ६ पटक यूएस ओपन, सात पटक विम्बल्डन, तीन पटक फ्रेन्च ओपन र सात पटक अस्ट्रेलियन ओपनको उपाधि चुमिसकेकी छन्। उनले पछिल्लो पटक सन् २०१७ मा ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको उपाधि जितेकी थिइन्। उनी यसपटक २४औं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन्।

पाँचौं वरीयताकी भितोलिनाले ब्रिटिस खेलाडी योहाना कोन्टालाई ६—४, ६—४ को सोझो सेटमा हराइन्। २४ वर्षीया भितोलिना पहिलो पटक यूएस ओपनको सेमिफाइनलमा पुगेकी हुन्। ग्रान्डस्लाम प्रतियोगितामा यो उनको दोस्रो सेमिफाइनल यात्रा हो। उनी यसै वर्ष विम्बल्डनमा पनि सेमिफाइनलसम्म पुगेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.