कहिले हट्छ डेंगुको डर ?
बर्खामा लामखुट्टेको बिगबिगीसँगै देशभरैजसो डेंगु फैलिएको छ। पहिलोपटक १५ वर्षपहिला झापामा एक विदेशी नागरिकमा डेंगु देखा परेको थियो। यो हरेक वर्ष बढ्दै गएको छ। यसपालि अहिलेसम्म देशका ४२ जिल्लामा पुगेको सरकारी अध्ययनले देखाएको छ। तर, प्रभाव सबैतिर छ। झण्डै ३ हजार ४ सय व्यक्ति यसबाट प्रभावित भइसकेका छन्। केही महिनापहिला धरानबाट फैलिँदै गएको यो रोग अझै नियन्त्रणमा आएको छैन। सुरु भएको थलो धरानमा समेत अझै विकराल बनिरहेकै छ। निरन्तर फैलिँदो यसको स्वरूपले सर्वसाधारणमा त्रास फैलाएको छ।
डेंगु रोग नियन्त्रणबारे छलफल गर्न केही दिनअघि बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा रमाइला दृश्य देखिए। देशभर डेंगु फैलिँदै गएकामा कतै आफैं पो त्यसको सिकार भइयो कि भन्नेमा सांसदहरू आशंकित थिए। सरकारले भने आफू एक्लैले डेंगु नियन्त्रण गर्न नसक्ने लाचार जवाफ समितिमा दियो। यी अभिव्यक्तिबाट राज्य यसमा गम्भीरतापूर्वक नलागेको प्रस्टिन्छ। नियन्त्रणका उपाय खोजिएका छैनन्। यस रोगबारे पर्याप्त अवगत नहुँदा पीडितहरू स्वास्थ्य संस्थामा चेकजाँच गर्नुको सट्टा ‘पेनकिलर’ र ज्वरो निको पार्ने औषधि सेवन गरिरहेका छन्। यस्ता औषधिले रोग निको हुनेभन्दा पीडितको स्वास्थ्य अवस्था झन् बिग्रने गर्छ। खेलाँची गर्दा बिरामीको मृत्युसमेत हुने डर हुन्छ। सुुरुवाती चरणमै पहिचान भए सजिलै निको हुन सक्छ भन्ने सन्देशसमेत सर्वसाधारणसम्म पुग्न सकेको छैन। फलतः अज्ञानताकै कारण कोही गम्भीर अवस्थामा पनि वास्ता गर्दैनन् भने कतिपय सामान्य अवस्थामै चिन्तित हुन्छन्। यसबारे जनचेतना जगाउने दायित्व सरकार र सरकारी स्वास्थ्य संस्थाहरूको हो। त्यसमा अभाव खट्किएको छ।
डेंगुको मूल कारक लामखुट्टे हो। एडिस एजिप्टाई जातको लामखुट्टेले टोक्दा यो रोग लाग्ने गर्छ। यो लामखुट्टेले दिउँसो टोक्ने गरेको चिकित्सक बताउँछन्। यसबाट बच्न घरवरिपरि सफा गर्ने, खाल्डाखुल्डी पुर्ने र छतमा पानी जम्न नदिनेजस्ता उपायबारे सबैलाई थाहा छैन। यसका लागि आम सर्वसाधारणमा पानी जम्ने ठाउँलाई पुर्ने र लामखुट्टेका वासस्थान नष्ट गर्ने चेतना जगाउनैपर्छ। घरबाहिर बस्दा लामा बाहुला भएका लुगा लगाउने र झुल टाँगेर सुत्ने गर्यो भने लामखुट्टेबाट बच्न सकिन्छ। डेंगुका लागि सहरी र तराई क्षेत्र जोखिम स्थल हुन्। ढल, पानी, सडक निर्माणका लागि बाटो खन्ने र त्यत्तिकै छोड्ने गरेका खाल्डामा पानी जम्न गई लामखुट्टेको उत्पादन र विकास हुन जान्छ। सहरी क्षेत्रमा जताततै फालिने गाडी र मोटरसाइकलका टायरमा जम्ने पानी लामखुट्टेको वासस्थानका लागि उपयुक्त स्थान नै मानिन्छन्।
डेंगु नियन्त्रणका लागि आवश्यक बजेट नभएको लाचार जवाफ सरकारका विभिन्न निकायले दिइरहेका छन्। सरकारका निकायबीच आवश्यक सूचना व्यवस्थापन र समन्वयको अभाव देखिन्छ। किट छैन, उपचार छैन, चिकित्सकको अभाव छ जस्ता उत्तर जवाफदेहिता होइनन्। यो रोगका लागि नागरिकको ज्यान जोखिममा रहेका बेला बजेटको चिन्ता गरेर पन्छिनु जायज मान्न सकिन्न। डेंगु नियन्त्रणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, सरकारका सबै तहबीच समन्वय गरी एकीकृत कार्यक्रम गर्ने, विपन्नलाई डेंगुबाट बच्न झुल वितरण गर्नेजस्ता कार्य अविलम्ब सञ्चालन गर्नुपर्छ। घरका झ्यालढोकामा जाली लगाउने, बच्चालाई दिउँसो सुताउँदा पनि झुल प्रयोग गर्ने, करेसाबारी र गमलामा पानी जम्न नदिनेजस्ता जनचेतनामूलक कार्यक्रमको खाँचो छ।
डेंगु नियन्त्रणका लागि सरकारले नेपाली सेना र सशस्त्र प्रहरीलाई पनि परिचालन गर्ने जनाएको छ। सुरक्षा निकायको सक्रियतासँगै स्थानीय तहका पदाधिकारी, समाजसेवी, नागरिक समाज र जनता स्वयंलाई परिचालन गर्न सक्नुपर्छ। लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि र विभिन्न ‘मलम’ वितरण कार्यलाई निरन्तरता दिनुपर्छ। सरकार एक्लैले नसक्ने अवस्था आए स्वास्थ्यसम्बन्धी काम गरिरहेका दर्जनौं एनजीओ/आईएनजीओ परिचालन गरेर यसको नियन्त्रण गर्न जरुरी छ।