ब्रान्डेड सामग्रीको प्रदर्शनी

ब्रान्डेड सामग्रीको प्रदर्शनी

नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भदौ २५ गतेदेखि सातौं संस्करणको ‘फर्नेक्स २०७६’ आयोजना हुँदै छ। मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनबारे जानकारी दिने फर्नेक्स मेलाको उद्देश्य छ। यसै सन्दर्भमा संघका अध्यक्ष रुपेश प्रधानसँग गरिएको कुराकानीको अंश :

फर्निचर तथा फर्निसिङ मेला आयोजना गर्दै हुनुहुन्छ ? त्यसको उद्देश्य के हो ?

स्वदेश तथा विदेशमा उत्पादन भएका फर्निचर तथा फर्निसिङको सामान एउटै छातामुनि उपलब्ध गराउन मेला आयोजना गरिएको हो। मेलामा बजारमा भित्रिएका नयाँ प्रविधिलाई नजिकबाट नियाल्न सकिन्छ। बजारमा कस्ता प्रविधिका फर्निचर तथा फर्निसिङको बिक्री भइरहेको त्यो हेर्न पाइन्छ। इन्टेरियर डिजाइन, वास्तु, फर्निचर उद्योगसम्बन्धी जानकारी प्राप्त गर्न सकिन्छ।

मेलामै किन खरिद गर्ने ?

मेलामा ब्रान्डिङ सामग्रीको प्रदर्शनी हुन्छ। यहाँ गुणस्तरीय सामाग्री मात्र राखिन्छ। ग्राहकले एकै स्थानमा आवश्यक सम्पूर्ण बस्तु खरिद गर्न सक्छन्। स्वदेश तथा विदेशमा उत्पादित सामग्री सुपथ मूल्यमा खरिद गर्न सकिन्छ।

फर्निचर तथा फर्निसिङको बजार अवस्था कस्तो छ ?

फर्निचर तथा फर्निसिङको बजार बढ्दो क्रममा छ। प्रत्येक वर्ष १० देखि १५ प्रतिशतको हाराहारीमा बजार विस्तार भइरहेको छ। विकासोन्मुख राष्ट्र भएकाले पूर्वाधार विकासको क्रममा छ। पूर्वाधार निर्माणसँगै ठूलो संख्यामा फर्निचर तथा फर्निसिङको प्रयोग हुन्छ। बदलिँदो जीवनशैलीसँगै माग उच्च छ। यसको वार्षिक कारोबार ४० अर्ब रुपैयाँ बराबर छ।

नेपाल वनमा धनी छ। तर पनि ६० प्रतिशत फर्निचर तथा फर्निसिङ विदेशबाट आयात गर्नुपर्ने अवस्था छ। यसलाई सुधार गर्न के गर्न सकिन्छ ?

फर्निसिङमा लगभग आत्मनिर्भर भइसकेका छौं। कार्पेटमा ५/६ वटा उद्योग छन्। म्याट्रेक्स १२/१५ छन्। ढोर म्याट, सिरक, ढस्ना, तन्नामा आत्मनिर्भर छौं। फर्निचरमा भने आत्मनिर्भर हुन सकिएको छैन। फर्निचर उद्योग फस्टाउने गरी सरकारले नीति ल्याउन सकेको छैन। उद्योगीलाई सरकारले आधारभूत सहयोग पनि गर्न सकेको छैन।

कर, भन्सार, पूवार्धारलगायत समस्या छ। त्यसैले यो क्षेत्रमा लगानी गर्न व्यवसायी हिच्किचाइरहेका छन्। स्वदेशमा उत्पादन गर्नुभन्दा आयात गर्न सहज छ। त्यसैले धेरै व्यवसायीको ध्यान उद्योग खोल्नेभन्दा आयात गर्नेतर्फ नै छ।

मेलामा हुने कारोबारको लक्ष्य कति छ ?

मेला फर्निचर तथा फर्निसिङको ब्रान्डिङ गर्न हो। दसैंको मुखमा मेला आयोजना गरिएकाले १२÷१५ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेका छौं। फर्निचर तथा फर्निसिङ बिक्री गर्नुभन्दा पनि ग्राहकलाई सुपथ मूल्यमा स्तरीय सामग्री प्रदान गर्नु नै मेलाको लक्ष्य हो।

फर्निचर तथा फर्निसिङको क्षेत्रमा जनशक्तिको अवस्था कस्तो छ ?

हरेक क्षेत्रमा जस्तै यसमा पनि दक्ष जनशक्तिको अभाव छ। आधाभन्दा धेरै जनशक्तिका लागि भारतको भर पर्नुपरेको छ। स्वदेशी जनशक्ति धेरै विदेशमा छन्। जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न सरकारले प्रष्ट नीति बनाउन आवश्यक छ।

मेलाको प्रमुख आकर्षण के छ ?

मेलामा नविन प्रविधि तथा नयाँ सामग्री प्रदर्शनीमा राखिन्छ। यस वर्ष दुईवटा स्वदेशी कार्पेट उद्योग मेलाका आकर्षणका रूपमा छन्। भर्खरै सञ्चालनमा आएका जनता र हाइटेक कार्पेट। यी उद्योगले बजारमा बिक्री वितरण सुरु नभएका उच्च स्तरको कार्पेट राख्ने जानकारी गराएका छन्। स्वदेश तथा विदेशमा नयाँ प्रविधि तथा सिपबाट उत्पादित सामग्रीको पनि मेला छ।

अघिल्लो वर्षभन्दा अहिलेको मेला के हिसाबले भिन्न छ ?

यस वर्ष प्रवेश निःशुल्क गरिएको छ। यसले गर्दा फर्निचर तथा फर्निसिङ खरिद गर्न आउने ग्राहकका साथै नयाँ प्रविधिको अवलोकन गर्न आउने पनि बढ्नेछन्।

मेला दसैं लक्षित देखिएको छ। व्यापार चक्र यसबाट कति प्रभावित हुन्छ ?

६ वर्षदेखि मेला आयोजना हुँदै आएको छ। ग्राहकले मेलामै खरिद गर्ने भनेर पर्खिरहेका हुन्छन्। एकै थलोमा सम्पूर्ण सामग्री उपलब्ध हुने भएकाले व्यापार चक्रमा प्रभाव पार्दैन।

फर्निचर तथा फर्निसिङको इनोभेसनलाई प्रवद्र्धन गर्ने योजना के छ ?

सरकारसँग मिलेर इच्छुक व्यक्तिलाई सिपको तालिम लिइरहेका छौं।

सरकारसँग मिलेर विद्यालयस्तरबाटै सिपमूलक शिक्षा दिने लक्ष्य राखेका छौं। साथै उद्योगका लागि आवश्यक पूर्वाधार विकासमा सरकारको साथ मागिरहेका छौं। काठ वितरण प्रणालीलाई सहज गर्नेतर्फ काम गरिरहेका छौं।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.