दूधको मूल्य ६ रुपैयाँ बढ्यो
काठमाडौं : प्रशोधित दूधको मूल्य बढेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर दूधमा ६ रुपैयाँ बढाएको हाे।
दुग्ध विकास संस्थान (डीडीसी)काे सहमति रहेकाे यो मूल्य शनिबारदेखि देशैभर कार्यान्वयनमा आउनेछ। उपभोक्ताले प्रति लिटर दूधलाई अब ७६ रुपैयाँ तिर्नुपर्नेछ। हालसम्म प्रति लिटरलाई ७० रुपैयाँ उपभोक्ता मूल्य थियो।
मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीकाअनुसार कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले सिफारिस गरेको कार्यदलले दूधको मूल्य सम्बन्धी प्रतिवेदनमा सहमति प्रदान गरेको हो। कार्यदलले दुई साताअघि मौसममा आधारित प्रशोधित दूधको दुई प्रकारको मूल्य मन्त्रालयलाई सिफारिश गरेको थियो।
मन्त्रालयले ३ प्रतिशत फ्याट र ८ प्रतिशत चिल्लोपना रहितको ठोस पदार्थ (एसएनएफ) रहेकाे स्टाण्डर्ड दूधको प्रति लिटरमा ६ रुपैयाँ बृद्धि गर्न सहमति प्रदान गरेको डीडीसीका निमित्त महाप्रवन्धक शैलेन्द्र घिमिरेले जानकारी दिए।
‘मन्त्रालयले सहमति प्रदान गरेको मूल्य शनिबारदेखि मात्रै लागु हुन्छ,’ घिमिरेले भने,‘अन्य प्रकारको दूधको मुल्य भने आन्तरिक छलफलको आधारमा तोक्ने तयारी छ।’