कांग्रेस जागरण : कम बोल्ने, बढी सुन्ने

कांग्रेस जागरण : कम बोल्ने, बढी सुन्ने

काठमाडौं  : नेपाली कांग्रेस दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको तयारीमा जुटेको छ। पार्टीका संस्थापक नेता एवं पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०६ औं जन्म जयन्तीका दिन भदौ २४ गतेदेखि दोस्रो चरणको हिमाल, पहाड, तराई-मधेस (हिपतम) जागरण अभियान मुलुकभर एकैसाथ सुरु हुने कांग्रेसले जनाएको छ।

असोज ७ गते सम्पन्न हुने जागरण अभियान प्रदेश सभा निर्वाचन क्षेत्र केन्द्रित हुनेछ। मुलुकभर रहेका ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाउनेछ।

पहिलो चरणको कार्यक्रमको ढाँचाजस्तै यसपटक पनि वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘जननायक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा १०६ वटा बिरुवा रोपेर अभियानको देशव्यापी रूपमा उद्घाटन गरिनेछ,’ अभियानबारे जानकारी दिन बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले भने, ‘एकै दिन ३४ हजार ९ सय ८० बिरुवा रोपेर अभियानको प्रथम दिन पर्यावरणका लागि पार्टीका तर्फबाट योगदान पुर्‍याइनेछ।’

जागरण अभियानलाई अन्तक्र्रियात्मक बनाउन एउटा मात्र सभाको आयोजना गरिनेछ। असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन कार्यक्रम गरिनेछ। ‘त्यसबाहेक जागरण अभियानको यो चरणमा पार्टीका नेता एवं प्रतिनिधिहरूले बोल्ने भन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको छ,’ कार्यक्रमको स्वरुपबारे कांग्रेसको परिपत्रमा भनिएको छ। जागरण अवधिभर विशेष सामाजिक संवादअन्तर्गत सामाजिक विसंगतिविरुद्ध, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रिया गर्ने कांग्रेसले जनाएको छ।

पार्टी प्रवेश अभियान

जागरण अभियानलाई कांग्रेसले पार्टी प्रवेश कार्यक्रमका रुपमा पनि प्राथमिकता दिएको छ। पहिलो चरणमा ३१ हजार ६ सय ४२ जना विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेको जानकारी दिँदै पार्टी प्रवक्ता शर्माले दोस्रो चरणमा यो संख्या बढ्ने दाबी गरे। जागरण अभियानका क्रममा नेपाली जनसम्पर्क समितिहरूले राजदूतावास र कन्सुलेटमार्फत नेपाल सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेस गर्ने कार्यक्रम छ। समयावधि सकिएका जनसम्पर्क समितिहरूले केन्द्रीय कार्यसमितिको पछिल्लो निर्णयबमोजिम अधिवेशन तयारीका लागि आवश्यक प्रारम्भ गर्ने जनाइएको छ।

अन्तिम दिन हुने सभामा महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरण लगायत), महिला हिंसा, अलोकतान्त्रिक विधेयक र सरकारको कार्यशैलीविरुद्ध प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ। यसअघि वैशाख २५ गतेदेखि जेठ २५ मा पहिलो चरणको जागरण अभियान सम्पन्न भएको थियो। पहिलो चरणको जागरण अभियानमा क्रममा स्थानीय नेता कार्यकर्ताले केन्द्रमा रहेको गुटबन्दी अन्त्य गर्न केन्द्रीय प्रतिनिधिलाई सुझाएका थिए।

प्रतिनिधिको टुंगो लाग्दै

दोस्रो चरणको जागरण अभियान मुलुकभरका ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा आयोजना हुने भएकाले केन्द्रीय प्रतिनिधिको टुंगो अझै लागेको छैन। महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले ३३० केन्द्रीय प्रतिनिधि चयनको काममा जुटेका छन्। ‘सम्भवत : शुक्रबार सबै केन्द्रीय प्रतिनिधिको टुंगो लाग्छ होला,’ पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले भने, ‘ठूलो संख्यामा केन्द्रीय प्रतिनिधि चयन गर्नुपर्ने भएकाले अलि समय लागेको हो।’
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.