‘बाटो पनि दुखिया प्राणी हो’
काठमाडौँदेखि प्युठान पुग्न १२ देखि १३ घण्टा लाग्छ। मेरो घर प्युठान हो। गाडी लाइनमा लागेको धेरै भयो। सानैदेखि ड्राइभर बन्ने रहर थियो। सानो छँदा गाउँमा गाडी आउँदा मान्छेले ‘यत्रो गाडी कसरी चलाएको होला’ भनेर छक्क पर्थें। त्यही बेलादेखि म गाडीप्रति आकर्षित भएँ। ‘एक दिन म पनि यस्तै गाडी चलाउँछु’ भन्ने लाग्यो। तीन वर्षसम्म सहचालक भएर काम गरेँ। पछि मात्र चालक भएँ। गााडी लाइनमा लागेको एक वर्षपछि पैसा कमाउने रहरले विदेशतिर पनि गएँ। साउदी अरब गएँ। यहाँभन्दा त्यहाँ गाडी चलाउन निकै गाह्रो रहेछ। फर्केर फेरि आफ्नै देशमा गाडी चलाउन थालेँ।
घरखर्च चलाउने गाडी
गाडी चलाएरै घरखर्च चलेको छ। छोराछोरीको इच्छा पूरा गर्न सकिएको छ। गाडी साहूको हो। कामबाट सन्तुष्ट छु। शरीरले साथ दिँदासम्म यही काम गर्ने सोच छ। लामो यात्रा गर्नुपर्छ तर बाटोको बिजोक छ। बाटोको हालत हेरेर गाडी चलाउन मन लाग्दैन। नारायणघाट–मुग्लिनको बाटो त झनै खत्तम छ। जामको तनाव हुन्छ। गाडी ठूलो छ, बाटो सानो छ। बाटो पनि दुखिया प्राणी हो।
ट्राफिकले हैरान लगाउँछन्। गाडी एक्लै चलाएर हिँड्दा पनि दुइटा लाइसेन्स खोज्छन्। एक्लो ड्राइभरले कहाँबाट दुई वटा लाइसेन्स देखाउनु? गाडी साहूले भएको एउटा ड्राइभरलाई त राम्रोसँग तलबभत्ता दिन नसक्ने अवस्था छ, दुई–दुइटालाई कसरी दिन्छन् तलब?
बीचमा गाडी भाडा बढाउने कुरा उठेको थियो। त्यो कुरा त्यसै सेलाएको छ। अहिलेको भाडाले त गाडीमा तेल हाल्न पनि नपुग्ने अवस्था छ। बाटोका कारण गाडी धेरै बिग्रने गर्छ। पाटपुर्जाको भाउ उत्तिकै महँगो भएको छ। साहूलाई पैसा बुझाउनु कि गाडी बनाउनु कि तेल हाल्नु?
लोकदोहोरी मन पर्छ
गाडी चलाउँदा निद्रा लागेपछि लोकदोहोरी गीत सुन्ने गर्छु। मसँग लोकदोहोरी गीत टन्नै छन्। अरू गीत खासै मन पर्दैनन्। लोकदोहोरीको नयाँ गीत आयो कि ल्याएर बजाइहाल्छु। गाडी लाइनमा आएपछि धेरै ठाउँ घुम्न पाएँ। गाडी रिजर्भ भएर जाँदा मैले पनि नयाँ ठाउँ घुम्ने मौका पाउँछु। नेपालका धेरै ठाउँ घुमिसकेँ। घुमघाम गर्न पाउनु नै चालक हुनुकोे मज्जा हो।
प्रस्तुतिः आशक्ति