राजपरिवारले प्रयोग गरेका अखेटोपहार संरक्षण योग्य छैनन्

राजपरिवारले प्रयोग गरेका अखेटोपहार संरक्षण योग्य छैनन्

काठमाडौं : राजपरिवारले प्रयोग गरेका वन्यजन्तुको अखेटोपहार संरक्षण गरेर राख्नेभन्दा नष्ट गर्नुपर्ने अवस्थामा पुगेका धेरै भेटिएको छ। लामो समयदेखि वेवारिशे अवस्थामा छाडिँदा वन्यजन्तुका अधिकांश अखेटोपहार काम नलाग्ने अवस्थामा पुगेको हो। 

नारायणहिटी दरबार संग्राहलय, अनुमानढोका दरबार र सिंहदरबारको बेलायती बैठकमा राजपरिवारले सजावटका लागि राखेका वन्यजन्तुको अंग नष्ट गर्नुपर्ने धेरै देखिएको हो। 

अखेटोपहार व्यवस्थापनका लागि राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विभिन्न मन्त्रालय कर्मचारीलाई सम्मेलित गरेर बनाएको उपसमितिले दिएको प्रतिवेदनअनुसार तीन ठाउँमा २८ प्रजातिका वन्यजन्तुको १८४ वटा अखेटोपहार भेटिएको छ।

जसमध्ये सबैभन्दा धेरै नारायणहिटी दरबार संग्राहलयमा १३८ वटा अखेटोपहार छन्। त्यस्तै, हनुमानढोकामा २७ र बेलायती बैठकमा १९ वटा वन्यजन्तुका अंग रहेको समितिका संयोजक तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले जानकारी दिए। 

जसमध्ये नायणहिटीमा ११०, हनुमानढोकामा ५ र बेलायती बैठकमा ११ वटा वन्यजन्तुको अखेटोपहार नष्ट गर्नुपर्ने देखिएको उनले बताए। वन्यजन्तुको सिंह, हाड, दाह्रालगायत हड्डीजन्य अंग संरक्षण गर्न सकिने भए पनि छालाजन्य अंग भने नष्ट नै गर्नुपर्ने अवस्थामा पुगेको संयोजक भट्टराईले बताए।

भट्टराईको संयोजकत्वमा ११ सदस्य अखेटोपहार व्यवस्थापन समिति गठन भएको थियो। समितिले एक महिना लगाएर गरेको अध्ययनको क्रममा कतिपय अखेटोपहार नेपालमा नपाइने वन्यजन्तुको पनि रहेको उनले बताए। 

‘नेपालमा नपाइने प्रजातिका वन्यजन्तुको अखेटोपहार पनि छन्। यिनीहरू राजाले विदेश भ्रमण गर्दा ल्याएको वा कतैबाट उपहार आएको पनि हुनसक्छ’, उनले भने, ‘नेपालमा नपाइने वन्यजन्तुको अंगचाहिँ नष्ट गर्ने अवस्थामा भए पनि संरक्षण गर्नुपर्छ।’

नष्ट र संरक्षण गर्न चुनौती
समितिले काम लाग्ने र नलाग्ने दुवै अखेटोपहार छुट्याएर राखेको छ। नारायणहिटीको अखेटोपहार संग्राहलयको भण्डार कोठामा राखिएको छ। यस्तै, बेलायती बैठक र हनुमानढोकाको पनि त्यही ठाउँमा संरक्षण गर्नसक्ने र नष्ट गर्नुपर्ने दुवैलाई छुट्याएर राखिएको छ। 

नस्ट गर्नुपर्ने आखेटोपहार बोरामा बाँधेर शीलबन्दी गरिएको भट्टराईले बताए। तर, नष्ट गर्न र संरक्षण गर्न नै चुनौती भएको उनको भनाइ छ। ‘हामीले यसको व्यवस्थापन गर्ने काम गर्‍यौँ’, उनले भने, ‘तर, हामीलाई अब नष्ट गर्ने र संरक्षण गर्ने म्यान्डेट पनि छैन।’ 

नष्ट गर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षामन्त्रालय, गृह र संस्कृत तथा पर्यटनमन्त्रालय जोडिएका कारण वन मन्त्रालयले आफैँ गर्न नसक्ने उनले बताए। यसका लागि अन्य चार मन्त्रालयले संयोजन गर्नुपर्ने भट्टराईको भनाइ छ। 

यस्तै, संरक्षण गरेर राख्न सकिने अखेटोपहार संरक्षणमा पनि चुनौती थपिएको छ। कहाँ राख्ने भन्ने निश्चित नहुँदा जहाँबाट व्यवस्थापन गरियो त्यहीँ बोरामा बाँधेर राख्नुपरेको भट्टराईको भनाइ छ। ‘नारायणहिटीमा भण्डार कोठामा छ। अरूमा त जहाँ थियो त्यहीँ राखेका छौँ’, उनले भने, ‘राख्ने ठाउँ समेत छैन। यसरी राख्दा फेरि बिग्रनसक्ने सम्भावना रहन्छ।’

संरक्षण गर्न सकिने अखेटोपहार सर्वसाधरणको अध्ययनका लागि संग्राहलयमा राख्न सकिने उनले बताए। ‘नारायणहिटीको त्यहीँको संग्राहलयमा सर्वसाधरणले देख्ने र अध्ययन गर्नसक्ने गरी प्रदर्शनमा राख्न सकिन्छ’, उनले भने, ‘त्यस्तै अध्ययन र अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशालालाई पनि दिन सकिन्छ।’

तर, विधि विज्ञान प्रयोगशालाले पनि संरक्षण गरेर राख्न सक्ने सबै अखेटोपहार लान नसक्ने स्पष्ट पारेको छ। आफूहरूसँग राख्ने ठाउँ र सुरक्षा अभाव हुँदा सबै लान नसक्ने विधि विज्ञान प्रयोगशालाका प्रमुख गणेश थापाले बताए। ‘हामी नेपालमा नपाइने वन्यजन्तुको अखेटोपहार लगेर अध्ययन अनुसन्धानका लागि राख्नसक्छौँ। अरू त हामीसँग पनि पर्याप्त ठाउँ छैन। सुरक्षा व्यवस्था पनि छैन’, उनले भने, ‘चार जना सशस्त्र वा नेपाली सेना सुरक्षाका लागि उपलब्ध गराउने भएचाहिँ हामी लानसक्छौँ।’

नारायणहिटी दरबार संग्राहलयमा पनि प्रदर्शनका लागि राख्ने समितिको योजना छ। संग्राहलयले पनि प्रदर्शनका लागि राख्ने इच्छा देखाएको छ। तर, त्यहीँ भएका केही अखेटोपहार पनि बिग्रने अवस्थामा पुगेको संग्राहलय प्रमुख अदैयतप्रकाश श्रेष्ठले जानकारी दिए। 

‘हामीकहाँ रहेको अखेटोपहार पनि बिग्रँदै गएको छ। यो क्रमशः कुरुप हुँदै गएको छ’, उनले भने, ‘संरक्षणका लागि सरकारलाई आवश्यक निर्देशन दिन यो समितिमा निवेदन पनि दिएका छौँ।’

पुनः प्रयोग गर्न मिल्ने आखेटोपहार सुरक्षित गर्न र नष्ट गर्नुपर्नेलाई तत्काल नष्ट गर्न प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वास समितिले प्रधानमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र पठाउने निर्णय पनि गरेको छ। 

समितिको शुक्रबारको बैठकले सम्बन्धित मन्त्रालयसँग सहकार्य गरेर नष्ट गर्नुपर्नेलाई तत्काल नष्ट गर्न र सुरक्षित गजर्नुपर्नेको पनि कहाँ राख्ने भन्ने निर्णय गर्न ध्यानाकर्षण पठाउँने निर्णय भएको समिति सभापति रामनारायण बिडारीले जानकारी दिए। यस्तै, नारायणहिटी संग्राहलयमा प्रदर्शनमा राखिएको अखेटोपहार संरक्षणका लागि पनि भट्टराई संयोजक भएकै समितिलाई जिम्मेवारी दिइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.