मिलेसम्म रिलेसन, नभए साइबर अपराध

मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं : महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् ।

उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ ।

‘मलाई यौनसम्बन्धका लागि मात्रै उसले प्रयोग गर्‍यो’, महाशाखाका एसपी सुशीलसिंह राठौरसमक्ष गत साता किशोरी भन्दै थिइन्, ‘यसका त धेरै केटी रहेछन् । म विवाह गर्ने योजनाअनुसार रिलेसनमा बसेकी थिएँ तर अब बस्दिनँ ।’ उनको कुरा सुनेपछि युवकले जवाफ फर्काए, ‘मलाई यसले आफ्नो जात ढाँटी । परिवारलाई सम्झाउँछु भन्दा पनि मसँग निहुँ खोज्छे ।’

प्रहरीमा पुग्नुअघि ती युवक र किशोरी छुट्टै बस्न थालेका थिए । अचानक एक दिन युवकले किशोरीको मोबाइलमा अश्लील फोटो पठाए । १६ वर्षकी ती किशोरीले जबर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दिएकी छन् ।

नुवाकोटका विवाहित युवाले काठमाडौंकी युवतीसँग फेसबुकमा चिनजान गरे । आफू अविवाहित रहेको र राम्री युवती पाए घरजम गरी अस्ट्रेलिया जाने बताए । युवतीलाई विदेशको मोहले तान्यो । असार दोस्रो साता सुन्धारामा भेटे । दुई रात सँगै बिताए । युवक शौच गएका बेला युवतीले उनको मोबाइलमा धेरै युवतीको अश्लील फोटो देखिन् । उनले यसबारे सोध्दा युवकले धम्की दिए, ‘यी फोटा गुगलबाट डाउनलोड गरेको हुँ । बढी बोलिस् भने तेरो पनि फोटो खिचेको छु । सार्वजनिक गरिदिन्छु ।’

युवतीले महाशाखामा उजुरी दिएपछि ती युवक पक्राउ परे । नुवाकोटमा पहिल्यै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली उनलाई लिन महाशाखा पुगेको थियो । प्रहरी अनुसन्धानका अनुसार ती युवकले अर्की दुई युवतीलाई पनि अस्ट्रेलियाको प्रलोभन देखाएर यौनतृष्णा मेटेका थिए ।

यस्तै, गायक एवं मोडल विमल अधिकारीले म्यासेन्जरमा आएको लिंक खोल्न खोज्दा उनको फेसबुक ह्याक भयो । उनी महाशाखाको शरणमा पुगे । साइबर युनिटले अध्ययन गर्दा ह्याकरले ‘फिसिङ’मार्फत फेसबुक ह्याक गरेको पाइएको थियो । कलाकार क्षितिजा शाक्य र सञ्चारकर्मी सविना कार्कीका फेसबुक पनि उसरी नै ह्याक भए । मिस तामाङ रञ्जिता तामाङको फेसबुक पेज ह्याकरले ह्याक गर्‍यो । पेजमा अश्लील भिडियो पोस्ट भयो । त्यसबारे प्रहरीले पत्ता लगायो ।

साइबरसँग सम्बन्धित उजुरी लिएर पीडित प्रहरीमा दैनिक आउँछन् । घटनाको गाम्भीर्य हेरी प्रहरीले सम्झाइबुझाइ गरी पनि पठाउँछ । युवतीको अस्मितासँग गासिएका घटनामा भने मुद्दा चलाइँदै आएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्ष प्रहरीमा साइबरसम्बन्धी २ हजार २९ उजुरी आएका थिए । सबैभन्दा बढी फेसबुकसँग सम्बन्धित थिए ।

उजुरी गर्न आउने पीडितमा सबैभन्दा बढी २० देखि ३० वर्ष उमेरका युवायुवती छन् । १ हजार ७ सय ४० मध्ये ३९.९२ प्रतिशत अर्थात् ८ सय ९ उजुरी यही उमेर समूहकाले दिएका छन् । त्यसपछि ३० देखि ४० वर्षका व्यक्ति साइबरका उजुरी लिएर महाशाखा पुग्ने गरेका छन् । सबैभन्दा कम ४० देखि ६० वर्ष उमेरका व्यक्ति पीडित देखिएका छन् ।

‘फेसबुक र युट्युबले धेरै विकृति ल्याए । गोपनीयता भन्ने रहेन’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘जसलाई जे मन लाग्यो त्यही फेसबुकमा पोस्ट गरिदिने प्रवृत्ति बस्यो ।’ उनका अनुसार किशोरकिशोरीमा देखिएको मोबाइलको लतले साइबर उजुरी आउने क्रम बढेको छ । ‘ फेसबुकमा साथी बन्यो । भेट्यो । सँगै पनि बस्यो । पछि के कुरामा चित्त बुझ्दैन अनि अश्लील फोटो पठायो’, उनी भन्छन्, ‘प्रहरीमा रीतपूर्वकको जाहेरी आएपछि अनुसन्धान गर्नै पर्‍यो । अधिकांश घटनाको निष्कर्षमा केटाकेटी दुवैको गल्ती देखिन्छ ।’ समयमै सामाजिक सञ्जाललाई नियमन गर्न नसके यसले धेरै विकृति ल्याउने उनको बुझाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.