‘बैंकमा राखेको आफ्नै पैसा निकाल्न समस्या’

‘बैंकमा राखेको आफ्नै पैसा निकाल्न समस्या’

काठमाडौं : ठूला चाडपर्वको मुखमा नेपाल राष्ट्र बैंकले एटीएमबाट पैसा झिक्ने सीमा घटाएको छ। अब एक पटकमा २० हजार र एक दिनमा ६० हजारभन्दा बढी रकम एटीएमबाट निकाल्न पाइने छैन। यसअघि एक पटकमा २५ हजार र एक दिनमा १ लाख रुपैयाँसम्म निकाल्न सक्ने व्यवस्था थियो।

त्यसमाथि पनि बैंकहरूले यस्तो सीमा आफूखुसी घटाउन सक्ने छुट राष्ट्र बैंकले दिएको छ। ‘बैंक तथा वित्तीय संस्थाले नगद व्यवस्थापन भौगोलिक अवस्था, सुरक्षा व्यवस्था र विशेष परिस्थितिलाई ध्यानमा राखेर तोकिएको रकमको सीमा घटाउन सक्ने’ राष्ट्र बैंकको परिपत्रमा उल्लेख छ। यस्तो व्यवस्थाले निक्षेपकर्तालाई बैंकमा रोखेको पैसा झिक्न समस्या पार्न सक्ने बैंकरले बताएका छन्।

‘कुनै बैंकले मसँग पैसा छैन, त्यसकारण तिमीलाई दिनमा २–५ हजारमात्रै दिन्छु भन्न पनि पाउँछ’, एक बैंकर भन्छन्। यसअघि यसरी सीमा घटाउने सुविधा बैंकलाई थिएन। राष्ट्र बैंकले पैसा निकाल्न पाउने न्यूनतम सीमा ५ सय रुपैयाँ राखेको छ। यसले बैंकलाई एक पटकमा ५ सयमात्रै निकाल्न पाउने व्यवस्था गर्न पनि छुट दिन्छ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा बढ्दो तरलता अभाव र नगद सञ्चितिको समस्या पर्न थालेको छ। त्यस्ता बैंकको चासोलाई समेत सम्बोधन गर्ने ‘उत्कृष्ट मौका’ को रूपमा प्रयोग गरिएको एक बैंकर बताउँछन्। ‘यस्तो निर्देशनले जनताले बैंकमा राखेको आफ्नै पैसा निकाल्न समस्या पर्छ’, उनले भने। एटीएम प्रणालीको सर्भरमा साइबर हमला गरेर चिनियाँले ३ करोड ५४ लाख रुपैयाँ लुटेको प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो।

तर राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले भने संक्रमणकालीन व्यवस्थाका रूपमा यस्तो बाटो अपनाइएको बताए। ‘जर्मन बैंकको क्षतिलाई पनि हेरेर हामीले निक्षेपकर्ताको सम्पत्ति सुरक्षा गर्न यस्तो प्रावधान ल्याउनुपर्ने अवस्था बन्यो’, उनले भने। गत साता जर्मनीको वल्डेनबर्गिच ल्यान्ड्स बैंक (ओएलडी) का २ हजार ग्राहकको खाताबाट ब्राजिलियन ह्याकरले १५ लाख यूरो (करिब १९ करोड रुपैयाँ) चोरेका थिए। उनीहरूले अत्याधुनिक ‘चिप एन्ड पिन’ प्रविधिमा चल्ने मास्टरकार्डबाट यति ठूलो रकम लुटेका छन्।

अर्थमन्त्री डा. युवराज खतिवडाले सूचना प्रविधिले ल्याउने जोखिम व्यवस्थापन गर्न सजग हुनुपर्ने बताए। बिहीबार नेपाल आर्थिक पत्रकार समाजसँगको छलफलमा उनले भने, ‘अहिले कसैको खाताको रकम काटिएन भन्दैमा जोखिम छैन भन्ने कुरा हुन्न। त्यसमा हामीले राष्ट्र बैंक र सरोकारवालासँग छलफल गरिसकेका छौं।’ उनले १८ दिन अघि नै साइबर सुरक्षामा समस्या हुन सक्ने भन्दै आफूले राष्ट्र बैंकलाई सतर्क गराएको बताए।

राष्ट्र बैंकका अधिकारीले पनि यसरी एटीएमबाट पैसा निकाल्ने सीमा घटाउनेबारे अर्थ मन्त्रालयसँग अनौपचारिक छलफल भएको बताएका छन्। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले पनि यस्तो सीमा घटाउनुपर्ने बारेमा छलफल भएको बताए।

राष्ट्र बैंकले ग्राहकलाई असर नपरोस् भनेर पीओएस मेसिनमार्फत् हुने भुक्तानीलाई सहज बनाएको बताएको छ। सानो डिभाइसमा कार्ड घोटेर भुक्तानी गर्ने यस्तो प्रणालीमा यसअघि लाग्दै आएको सेवाशुल्क खारेज गरिएको कार्यकारी निर्देशक मिश्रले बताए। ‘कुनै पनि डिपार्टमेण्टल स्टोर, मार्ट, होटेल, पसललगायत मर्चेन्टबाट ‘प्वाइन्ट अफ सेल (पीओएस)’ मेसिनमार्फत् कारोबार गर्दा ग्राहकसँग कुनै पनि किसिमको अतिरिक्त शुल्क लिन नपाइने’ व्यवस्था राष्ट्र बैंकले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.