भ्रमण वर्ष २०२० : सडक सुधार गर्न निर्देशन

भ्रमण वर्ष २०२० : सडक सुधार गर्न निर्देशन

काठमाडौं : नेपाल भ्रमण वर्ष २०२० लाई सफलतापूर्वक सम्पन्न गर्न सडक पूर्वाधारमा जोड दिनुपर्ने प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सदस्यले जोड दिएका छन्।

सरकारले भ्रमण वर्षका लागि एक सय पर्यटकीय गन्तव्य पहिचान गरेको छ। ‘ती पर्यटकीय गन्तव्यसँग पुग्ने सडक पूर्वाधार छैन’, समितिकी सभापति कल्याणीकुमारी खड्काले भनिन्, ‘सडकबिना पर्यटक कसरी गन्तव्यमा पुग्छन् ? ’ सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पहिचान गरेको पर्यटकीय गन्तव्यसँग पर्यटन पुर्‍याउने सडक निर्माणमा उनले जोड दिइन्। समितिले शुक्रबार भ्रमण वर्ष २०२० लाई सफलताका साथ सम्पन्न गर्न निर्धारण भएको पर्यटकीय गन्तव्य स्थलहरूसम्म पुग्ने सडक मार्गको अवस्थाका सम्बन्धमा भौतिक पूर्वाधार तथा यातायात र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेको थियो।

समितिका सदस्य सांसदले सडकको दुरावस्थाले भ्रमण वर्ष प्रभावित हुन सक्ने आशंका व्यक्त गरेका थिए। सांसद दामोदर भण्डारीले भ्रमण वर्ष सफलतापूर्वक सम्पन्न गर्न विगतमा भएका ठेक्का लागि प्राथमिकतासाथ अघि बढाउनुपर्ने बताए। ‘निर्माणको प्रक्रियामा रहेका सडकको ठेक्का छिटो लगाउनु पर्‍यो। मुलुकमा संघीय व्यवस्था छ। संघ, प्रदेश र स्थानीय तहले सडक निर्माण गरिरहेका छन्’, भण्डारीले भने, ‘तीनै तहबीच समन्वय गरेर निर्माण कार्य अघि बढाउनुपर्छ।’ सरकारी निकायबीच समन्वय अभावका कारण विकास निर्माणमा ढिलाइ भइरहेको उनले बताए।

सांसद रगंमति शाहीले पर्यटक एयरपोर्टबाट ओर्लिएर ट्याक्सी चढ्दादेखि नै ठगिने गरेकोतर्फ समितिको ध्यानाकर्षण गराइन्। सरकारले रारा ताललाई एक सय गन्तव्यमा राखेको छ। तर रारासँग पुग्न पर्यटकलाई समस्या छ। सरकारले कर्णालीका पर्यटकीय स्थानमा सडक पुर्‍याउनेतर्फ ध्यान नदिए भ्रमण वर्षबाट त्यहाँका जनताले लाभ लिन नसक्ने उनले बताइन्।

सरकारले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आठ जिल्लामा गुरुयोजना सञ्चालन गरेको दुर्गा पौडेलले जानकारी दिइन्। ‘त्यसका लागि रकम पनि छुट्याइएको छ। तर त्यसको उचित प्रयोग हुन सकेको छैन। समय सीमा तोकेर अनुगमन गर्नुपर्छ’, उनले भनिन्। सांसद टेकबहादुर बस्नेतले निर्माण भएका सडकमा पानी निकासका लागि ढलको व्यवस्था नभएकाले सडक टिकाउ नभएको बताए। यस्तै हिमाल, पहाड, तराईमा निर्माण हुने सडकको मापदण्ड कायम हुनुपर्नेमा उनले जोड दिए।

‘यात्रुको चाप नहुने पहाडी इलाकामा चार लेनको सडक प्रस्ताव गरिएको छ। यसले पर्यावरण बिगार्ने गरेको छ’, बस्नेतले भने, ‘आवश्यकताको आधारमा सडकको सीमा निर्धारण हुनुपर्छ।’ सांसद् रामबहादुर बिष्टले काठमाडौंमा सडक पूर्वाधार राम्रो नभएको बताए। ‘काठमाडौं नजिकका पर्यटकीय गन्तव्य जाने सडक राम्रा छैनन्’, बिष्टले भने, ‘सडकको दूरावस्थाका कारण पर्यटकको समय लम्बाउन सकिएको छैन।’

विदेशी नेता आउँदामात्र सडक पिच गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सांसद मिना श्री झाले बताइन्। ‘सडकको दूरावस्थाले जनता सास्तीमा यात्रा गर्न बाध्य छन्। बौद्ध पर्यटकीय स्थल पनि हो’, शर्माले भनिन्, ‘सडकका कारण पर्यटक त्यहाँ जान सकिरहेका छैनन्।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले सडकमार्गबाट पर्यटनलाई पर्यटकीय गन्तव्यसँग पुर्‍याउन सकिने अवस्था नहेको बताए। ‘केही सडक कालोपत्रे भएका छन् तर पर्यटकलाई सुविधा दिने गरी सडक विस्तार भएको छैन’, अधिकारीले भने, ‘हवाईमाध्यमबाट जेनतेन पर्यटन धान्ने अवस्थामा पुगिसकेका छौं।’ तर सडक पूर्वाधार आवश्यकताअनुसार विकास हुन नसकेको उनको आरोप छ।

सडककै कारण भ्रमण २०२० प्रभावित नहुने भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको दाबी छ। ‘राजमार्गमा समस्या छैन। काठमाडौंका सडकमा समस्या छन्’, सचिव कार्कीले भने, ‘अन्य क्षेत्रका सडक राम्रो अवस्थामा छ।’ काठमाडौंका सडक हेरेर मात्र प्रश्न उठेको उनको भनाइ छ। भ्रमण वर्ष सुरु हुन चार महिना बाँकी छ। उक्त अवधिमा काठमाडौंका सडक पनि सुधार गर्ने उनले प्रतिवद्धता जाहेर गरे। चाबहिल–साँघु, कलंकी–नागढुंगा र च्यामासिंह–नगरकोट सडक भ्रमण वर्षअघि सम्पन्न हुने उनको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.