केपी–वामदेव : ‘दोस्ताना’ को सम्बन्ध

केपी–वामदेव : ‘दोस्ताना’ को सम्बन्ध

ओलीले गौतमको पछिल्लो जन्मदिनमा बालुवाटारमा बोलाएर ‘केक’ काटेर सरप्राइज दिएनन् मात्रै, त्यसपछि नियमित बालुवाटारमा निम्त्याएर डिनरसमेत गराउँदै आएका छन्।


आठ महिनाअघिसम्म नेकपाभित्र केपी ओली र वामदेव गौतमको सम्बन्ध झण्डै–झण्डै ‘सम्बन्ध–विच्छेद’ कै अवस्थामा थियो। धेरैलाई लागेको थियो– केपी र वामदेव अब मिल्न सक्दैनन्। तर, गौतम अहिले ओलीकै ‘दाहिने हात’ जस्तै बन्न पुगेका छन्। उपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीले गौतमलाई टेलिफोनबाटै निम्त्याएर शुक्रबार उनीसँगै स्वदेश फर्किए। अघिल्लोपटक ओली उपचारपछि स्वदेश फर्कंदा गौतम पुष्पगुच्छा लिएर स्वागतका लागि विमानस्थल पुगेका थिए।

गौतमलाई खुसी पार्न ओलीले विधानमै नभएको उपाध्यक्ष पदको ‘बक्सिस’ दिएका छन्। ओलीको प्रस्तावमा स्थायी समितिले अनुमोदन गरेपछि गौतम नेकपाको उपाध्यक्ष बन्नेछन्।

ओलीसँगको सम्बन्धबारे एक प्रसंगमा नेता गौतमले भनेका थिए, ‘केपी ओली कस्तो मान्छे हो भन्ने कुरा बाहिर भनेर जान्नेभन्दा पनि म आफैंले जानेको व्यक्ति हो। दुःखको बेलाको साथी ! दुःखका बेलाको सम्बन्ध अरू कसैले तोड्न सक्दैन। केपीसँग त मेरो सम्बन्ध त्यही दुःखका बेलाको ‘दोस्ताना’ हो।’

पहिलो भेट जेलमा

केपी–वामदेवबीचको पहिलो भेट २०३४ सालमा भएको थियो। झापा आन्दोलनका क्रममा ओली पक्राउ परेर काठमाडौंको सेन्ट्रल जेलको ‘गोलघर’ मा थिए। मुक्ति मोर्चाको राजनीति गर्दा वामदेव पछि पक्राउ परे २०३३ सालमा। उनी भैरहवा जेलबाट काठमाडौं सारिएपछि केपी र वामदेवका बीचमा पहिलोपटक भेट भएको थियो।

‘केपीसँग मेरो पहिलोपल्ट भेट उहाँ जेल (सेन्ट्रल) को सेल (गोलघर) भित्र बसेको बेला भएको हो। मलाई पनि भैरहवाबाट सेन्ट्रल जेलमा ल्याइएपछि भएको हो’, पहिलो भेट सम्झँदै वामदेवले एक अन्तर्वार्तामा भनेका थिए।

केपी–वामदेव सेन्ट्रल जेलमा ७÷८ महिना मात्र सँगै रहे। एउटै जेलभित्र रहे पनि यी दुई नेताका बीचमा सधैं भेटघाट भने हुँदैनथ्यो। जेलभित्रको पनि जेल (जसलाई गोलघर पनि भनिन्छ) मा ओली, राधाकृष्ण मैनाली, मोहनचन्द्र अधिकारी, क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठ सँगै थिए। वामदेवलाई भने गोलघरमा राखिएको थिएन।

केपी र वामदेवसँगै जेलमा रहेका राधाकृष्ण (आरके) मैनाली सम्झन्छन्, ‘एउटै जेलभित्र रहे पनि वामदेवजी सामान्य वार्डमा र हामी केपीसहित गोलघरमा थियौं, जेलभित्रै सीधा–सीधा कुरा गर्न पाइँदैनथ्यो, खाना खाने बेलामा देखभेट हुने र उभिएर कुराकानी हुन्थ्यो, धेरैजसो जेलभित्रै पनि हामीले चिठी आदान–प्रदान गरेर कुराकानी गथ्र्यौं।’

मैनालीका अनुसार, त्यसबेला जेलभित्रै कुराकानी गर्न केपी–वामदेवहरूले तातोपानी राख्ने थर्मस, खानेकुरालगायतमा प्रहरीको आँखा छलेर चिठी आदान–प्रदान गर्थे। ओली त्यसबेला पनि बिरामी भएका कारण ख्याउटे थिए। उभिएर कुराकानी गर्न सक्ने अवस्थामा थिएनन्।

‘ओलीजी छोटा–छोटा चिठी लेख्थे वामदेवलाई। वामदेवले पनि चिठी पठाउँथे’ मैनाली भन्छन्, ‘अहिले त वामदेव फूर्तिला देखिन्छन्, झन् त्यो बेला उहाँको फूर्तिलोपन धेरै थियो, उहाँ खोजीनीति गर्ने, उत्सुकता राख्ने स्वभावका हुनुहुन्थ्यो, सक्रिय थिए, त्यही भएर पनि हाम्रो राम्रो दोस्ती जमेको थियो।’ ७–८ महिना केपी–वामदेव एउटै जेलमा रहेपछि बाक्लिएको सम्बन्ध प्रहरीलाई चित्त बुझेन। उनीहरूको सम्बन्ध टुटाउनकै लागि वामदेवलाई दमौली जेलमा सारियो। त्यसबेला ओली निरन्तर १४ वर्ष र गौतम २ वर्ष फरक–फरक जेलमा बसेका थिए।

वामदेव ओलीभन्दा झण्डै चार वर्ष जेठा

उमेरका हिसाबले नेकपा सचिवालयका नौ सदस्यमध्ये सबैभन्दा पाका उमेरका नेता हुन्– वामदेव गौतम। २००५ साल असार ५ मा प्युठानमा जन्मिएका वामदेव केपीभन्दा ठ्याक्कै उमेरमा ३ वर्ष ८ महिना ६ दिन जेठा छन्। केपी २००८ साल फागुन ११ मा तेह्रथुममा जन्मिएका थिए। उमेरमा पाका भए पनि गौतम हट्टाकट्टा छन् अन्य नेताका तुलनामा। तत्कालीन एमालेले बनाएको राजनीतिमा उमेर हद नेकपा बनेपछि पनि कार्यान्वयनमा आएको भए वामदेव पार्टीबाट ‘रिटार्यड’ सूचीमा हुन्थे। तर, एकतापछि यो प्रावधान पार्टी विधान र नियमावली दुवैबाट ‘गायब’ भयो। त्यसको फाइदा अहिले वामदेवलाई भएको छ।

ओली गृहमन्त्री, उपप्रधानमन्त्री हुँदै अहिले दोस्रो ‘इनिङ’ का रूपमा सिंहदरबारको बागडोर सम्हालिरहेका छन्। समकालीन कम्युनिस्ट नेतामध्ये वामदेव भने प्रधानमन्त्री बन्न पाएका छैनन्। यद्यपि, उनले पनि पटक–पटक मन्त्री, उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका छन्। सुरुमा फरक धारमा भए पनि मुक्ति मोर्चा र कोअर्डिनेसन केन्द्र एकै भएपछि यी दुई नेता एउटै पार्टीमा आबद्ध हुन पुगेका थिए।

ओलीभन्दा गौतम पार्टीको केन्द्रीय समितिमा अगाडि पुगेका थिए। तत्कालीन मालेले जेलमा रहेका नेतालाई पार्टी केन्द्रमा नराख्ने नीति बनाएका कारण ओलीभन्दा गौतम पहिले पार्टी केन्द्रीय समितिमा पुगेका थिए।

२०४४ सालमा १४ वर्ष लामो जेल जीवन भोगेर निस्केपछि मात्र ओली पार्टीको केन्द्रीय समितिमा पुगेका थिए। वामदेव लडाकु स्वभावका छन्। दुस्साहसपूर्ण निर्णय लिन परे पनि हिच्किचाउँदैनथे। यो स्वभाव केपीमा पनि छ। केपी कुनै पनि कुराको छिटो–छिटो तर्क गर्न सक्ने क्षमता राख्छन्। मदन भण्डारी सँगै रहँदा यी दुई नेताका बीचमा पार्टीमा कुनै विवाद भएन। भण्डारी जीवित रहँदासम्म दाया–बाया ओली र गौतम नै हुन्थे। भण्डारीले केपीलाई पार्टीको ‘मस्तिष्क’ र वामदेवलाई ‘शरीर’ भएको बताउने गरेको त्यसबेलाका समकालीन नेताहरू बताउँछन्। ओली २०७१ यता भने पार्टीको केन्द्रीय नेतृत्वमा पनि छन्।

पार्टीबाट निकालिदिने मदन भण्डारीको चेतावनी

२०४७ सालमा तत्कालीन नेकपा माले र माक्र्सवादीका बीचमा पार्टी एकता भयो। मालेतिर रहेका केपी–वामदेवलाई एकतापछि माक्र्सवादीका नेताहरूबाट ‘हिमुलेसन’ भएको, माक्र्सवादीका नेताहरूले आफूहरूलाई ‘डोमिनेट’ गर्न थालेको महसुस भइरहेको थियो। ओली–गौतमलाई यो कुरा चित्त बुझिरहेको थिएन। त्यसबेला ओली ग्वार्काेमा डेरा लिएर बस्थे। ओलीले आफ्नै डेरामा वामदेव, अमृत बोहोरा र गुरु बराललाई छलफलका लागि बोलाएर माक्र्सवादीसँगको एकता भाँडौं भन्ने प्रस्ताव राखे।

ओलीको त्यस्तो प्रस्तावपछि बोहोरा कुरै नसुनी निस्किए। गुरु बराल पनि सुने–नसुने झैं गरी बाहिरिए। केपी–वामदेवले आफूहरू दुईजना मात्रै भए पनि सबैतिर भड्काउने योजना बनाए। केपीको डेरामा त्यसबेला ल्यान्डलाइन टेलिफोन थियो । ओलीले पूर्वतिर र वामदेवले पश्चिमतिर कुरा गरेर पार्टी एकता भड्काउने योजना बनाए।

पार्टी एकता भड्काउन ओली–गौतम लागेको रिपोर्ट त्यसबेलाका पार्टी महासचिव मदन भण्डारीले सुइँको पाए। एक दिन पार्टी कार्यालयमा दुवै नेता पुगेका बेला भण्डारीले आफ्नो कार्यकक्षमा बोलाएर झाँकेको स्वयं गौतम स्मरण गर्छन्।

‘मदन भण्डारीले हामीलाई बोलाएर ‘ए कमरेडहरू, तपाईंहरूले पार्टी एकता भाँड्न लाग्नुभएको छ रे। ठाउँठाउँमा फोन गरिराख्नुभएको रहेछ, यस्तो काम बन्द गर्नुस् !’ भन्नुभयो। हामीले कहाँ भाँड्ने ? भन्दै ढाँट्यौं। तर, हामी एकता भाँड्नै लागिरहेका थियौं’ त्यसबेलाको घटना सम्झँदै वामदेवले एक सन्र्दभमा भनेका थिए, ‘फेरि दुई दिनपछि महासचिव (मदन भण्डारी) ले हामीलाई कार्यालयमा बोलाएर भन्नुभयो, ‘तपाईंहरूलाई म सिरियस्ली भन्दै छु, अस्ति भनेपछि पनि बन्द गर्नु भएन, अझै जारी राख्नुभएको छ। भोलिसम्म पनि त्यस्तो काम बन्द गर्नु भएन भने पर्सि वक्तव्य निकालेर तपाईंहरू दुवैलाई पार्टीबाट निष्कासन गर्छु।’ त्यसपछि एकता भाँड्न रोकिएका थियौं।’

महाकाली विवादमा ‘वारपार’

मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधनपछि पार्टी महासचिवको जिम्मेवारीमा आएका थिए माधव नेपाल। पार्टी केन्द्रीय समितिले नेपाललाई महासचिव बनाएको थियो। तर, गौतम नेपाललाई छैटौं महाधिवेशनअघि नै महासचिवबाट हटाउन लागेका थिए। त्यसबेला झलनाथ खनाल, साहना प्रधान, सीपी मैनालीलगायत नेताहरूको साथ गौतमलाई थियो।

उनीहरूले ओलीलाई पार्टी महासचिवको अफर गर्दै नेपालविरुद्ध मोर्चा कस्न खोजेका थिए। तर ओलीले त्यसबेला गौतमलाई साथ दिएनन्। उनले नेपालकै पक्षमा आफूलाई उभ्याएको ओलीनिकट नेकपाका एक केन्द्रीय सदस्यले बताए।

त्यहीबेला महाकाली सन्धिका विषयमा तत्कालीन एमालेभित्र चर्काे विवाद भयो। २०५३ सालमा एकीकृत महाकाली सन्धिलाई सदनबाट पारित गर्नेनगर्नेमा एमाले दुई चिरा भयो। केपी, माधव नेपालहरू पारित गर्ने पक्षमा र वामदेव, सीपी मैनालीहरू पारित गर्न नहुने पक्षमा कित्ताकाट भए। पार्टीमा यो विषयमा मत विभाजन नै भयो। एकमतले मात्र पारित गर्ने पक्षको जित भयो। त्यही कारण तत्कालीन एमाले विभाजन हुन पुग्यो।

महाकाली सन्धि राष्ट्रघात भएको भन्दै साहना प्रधान, वामदेव, सीपीहरूले नयाँ पार्टी बनाए– नेकपा माले। ‘खास सैद्धान्तिक विवाद नै थिएन, खासगरी त्यो बेला ओली र गौतमको इगो विवादका कारण पार्टी विभाजनसम्म हुन पुग्यो’, नेकपाका ती केन्द्रीय सदस्यले भने। तर, त्यो पार्टी विभाजन लामो समय टिकेन। २०५४ माघमा नेकपा माले गठन गर्न पुगेका वामदेव फेरि २०५८ फागुनमा मूलघरमै फर्किए। गौतम मूल घरमा फर्किने बेलामा ओलीले पार्टीमा फरक मत राखेका थिए।

मनमोहन अधिकारीको नौमहिने अल्पमतको सरकारका बेला पार्टीका नेताहरू माधव नेपालदेखि केपी ओलीसम्म सरकारमा गए भने वामदेव पार्टीमै रहे। त्यसबेला गौतमलाई पार्टी जिम्मेवारी सम्हाल्ने गरी विधानमै नभएको उपमहासचिव बनाइयो। पछि सरकार पार्टीबाट हटेपछि गौतमलाई उपमहासचिव पदबाट राजीनामा दिन केपी–माधव दुवैले दबाब दिएका थिए। तर, उनले असन्तुष्टि जनाउँदै उपमहासचिव र कन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिए। त्यसबेला पार्टीले गौतमले दिएको उपमहासचिव पदको राजीनामा मात्र स्वीकृत गरेको थियो।

वामदेवलाई कारबाही गर्न ओलीकै प्रस्ताव

२०६२ सालमा तत्कालीन विद्रोही माओवादीका अध्यक्ष प्रचण्ड, बाबुराम भट्टराईलगायत नेतासँग रोल्पामै पुगेर वामदेव र युवराज ज्ञवालीले तत्कालीन एमालेका तर्फबाट ‘छबुँदे सम्झौता’ गरेका थिए। त्यो सहमति एमालेभित्र विवादमा पर्‍यो।

वामदेवलाई पार्टीमा कारबाही नै गर्नुपर्ने प्रस्ताव केपी ओली र विष्णु पौडेलले राखेका थिए। पार्टीसँग सल्लाह नै नगरी हतियार उठाएको पार्टीसँग वामदेवहरूले सहमति गरी एमालेलाई समाप्त पार्न खोजेको आरोप ओलीको थियो। विश्वभरका राजनीतिक पार्टी र देशले माओवादीलाई कसरी हेर्छन्, अब आफूहरूलाई पनि त्यसैगरी हेर्ने भए भन्दै ओली र पौडेलले वामदेवलाई कारबाही गर्नुपर्ने प्रस्ताव पार्टीमा राखेका थिए।

त्यहीबेला पार्टीले बोलाएको कार्यकर्ता भेलामा पनि गौतममाथि कारबाहीको प्रस्ताव आयो। १४ वटा अञ्चल प्रतिनिधिको टिममध्ये झण्डै नौवटा समूहले गौतमलाई कारबाही गर्न माग गरेर भेलामा मत राखेका थिए।

पछि पार्टी महासचिव माधव नेपालले नै आफूले गौतमलाई माओवादीसँग वार्तामा पठाएको र आफूसँगैको सहमतिमा रोल्पा सम्झौता भएको बताएपछि गौतम त्यसबेला कारबाहीबाट बचेका थिए।

‘त्यसबेला झलनाथ खनाललाई पनि वामदेवले गर्न नहुने काम गरे, तर पनि कारबाहीबाट भने जोगाउनुपर्छ। त्यसमा कांग्रेसलाई पनि जोडनुपर्छ भन्ने लागेको रहेछ। पछि माधव नेपाल स्वयंले आफ्नो योजनामा वामदेवले रोल्पा सम्झौता गरेको बताएपछि उहाँ कारबाहीबाट जोगिनुभएको थियो’, नेकपाका एक नेताले बताए।

खटपट कम छैनन

ओली–गौतमका बीचमा त्यसपछिका दिनमा तत्कालीन माओवादीलाई हेर्ने दृष्टिकोणमा पनि खटपट हुने गरेको थियो। गौतम माओवादीप्रति नरम र ओली गरम थिए। ओली माओवादीलाई ‘उग्रवामपन्थी’ भन्दै खरो आलोचना गर्थे। प्रचण्ड पहिलोपटक प्रधानमन्त्री भएका बेला भएको प्रधानसेनापति कटवाल प्रकरणपछि माधव नेपाल प्रधानमन्त्री भए। तर, माओवादीले नेपाल नेतृत्वको सरकारलाई ‘कठपुतली’ को संज्ञा दिँदै आन्दोलन गर्‍यो। माधव नेपाललाई सडकबाटै अपदस्थ गर्ने भन्दै माओवादीले त्यसबेला देशभरका नेता–कार्यकर्ता जमघट गराई काठमाडौंमा शक्ति प्रदर्शनसमेत गर्‍यो।

सुशील कोइराला प्रधानमन्त्री भएका बेला उपप्रधान तथा गृहमन्त्रीको पद गौतमलाई दिलाउनेबाहेक भद्र सहमतिमा ओली टिकेनन्। त्यसपछि भने ओलीसँग गौतमको सम्बन्ध चिसिएको थियो।

त्यही बेला वामदेवले माधव नेपालले राजीनामा दिएर निकास दिनुपर्ने भन्दै ६० जना नेताहरूको हस्ताक्षरसहितको ज्ञापन पार्टीका तत्कालीन अध्यक्ष झलनाथ खनाललाई बुझाएका थिए। तर, वामदेवले पार्टीमा बुझाएको त्यो ज्ञापनपत्र पार्टीमा दर्ता हुन नपाउँदै प्रचण्डनिवास र माओवादीको कार्यालयबाट सडकमा फोटोकपीका रूपमा बाँडिएपछि गौतम पार्टीमा थप आलोचित बनेका थिए। ओलीले त्यसबेला नेपाललाई दह्रो आड दिएका थिए। ओली–गौतम विवाद त्यसबेला पनि चर्केको थियो।

वामदेवनिकट नेकपाका केन्द्रीय सदस्य बलराम बास्कोटाको भनाइमा ओली–गौतमबीचको सम्बन्ध कहिलेकाहीं ठाकठुक देखिए पनि अन्तर्यमा भने सौहार्दपूर्ण नै देखिँदै आएको छ।

‘सेन्टर जेलमा चिनजानबाट सुरु भएको उहाँहरूको सम्बन्ध घटनाविशेषका आधारमा उतारचढावपूर्ण नै देखिन्छ।’ बास्कोटा भन्छन्, ‘आठौं महाधिवेशनमा वामदेव कमरेड झलनाथका पक्षमा उभिएपछि केपी कमरेड पराजित हुनुभयो। नवौंमा फेरि दुवै नेता एक ठाउँमै रहनुभयो। उहाँहरूको मिलनले नै केपी कमरेडलाई पार्टी अध्यक्ष, संसदीय दलको नेतादेखि प्रधानमन्त्रीसम्म बन्ने अवसर मिलेको थियो।’

गौशालाको त्यो सहमति

नवौं महाधिवेशनका बेला केपी–वामदेवबीच भित्री सहमति बनेको थियो। माधव नेपालको विपक्षमा मोर्चाबन्दी गर्ने गरी काठमाडौंको गौशालास्थित मदन भण्डारी फाउन्डेसनको कार्यालयमा ओली पक्षका नेता र वामदेव पक्षका नेताहरूबीच भद्र सहमति बनेको थियो।

त्यसपछि संसदीय दलको चुनावदेखि पार्टीको नवौं महाधिवेशनसम्म केपी वामदेव एकै रथका सारथि बनेका थिए। गौशालाको त्यो भद्र सहमतिका बेला गौतम पक्षबाट उनीसहित किरण गुरुङ, हरि पराजुली, बलराम बास्कोटा, दलबहादुर राना, केशवलाल श्रेष्ठ, रवीन्द्र अधिकारीलगायतका नेता र ओलीका तर्फबाट ओलीसहित अहिलेका राष्ट्रपति विद्या भण्डारी र विष्णु पौडेललगायत नेताहरू सहभागी थिए।

वामदेवले संसदीय दलको नेतामा झलनाथको साटो केपी ओलीलाई सघाउने, महाधिवेशनमा पार्टी अध्यक्षमा पनि ओलीलाई साथ दिने, ओलीले पार्टी अध्यक्ष बनेपछि वामदेवलाई संसदीय दलको नेताको जिम्मेवारी हस्तान्तरण गर्ने, ओली प्रधानमन्त्री बनेमा कार्यवाहक अध्यक्षको जिम्मा पनि वामदेवलाई नै दिने र त्यसपछिको महाधिवेशनमा गौतमलाई नेतृत्व हस्तान्तरण गर्ने गरी ओली र गौतमका बीचमा भद्र सहमति भएको नेताहरू बताउँछन्।

त्यसबेला ओलीले गौतमलाई ‘एक व्यक्ति एक पद’ को कार्ड फ्याँकेका थिए। सोही सहमतिअनुसार ओली संसदीय दलको नेता बने, खनाल हारे। पार्टी अध्यक्ष पनि बने, प्रधानमन्त्रीसमेत बने ओली। तर सुशील कोइराला प्रधानमन्त्री भएका बेला उपप्रधान तथा गृहमन्त्रीको पद गौतमलाई दिलाउनेबाहेक भद्र सहमतिमा ओली टिकेनन्। त्यसपछि भने ओलीसँग गौतमको सम्बन्ध चिसिएको थियो।

गत प्रतिनिधिसभा चुनावमा एमाले–माओवादी गठबन्धनमा चुनाव लड्दा पनि गौतम बर्दियाबाट पराजित भए। आफ्नो हारमा पार्टीभित्रकै अन्तर्घात देखेका वामदेवले अन्तर्घातीलाई कारबाही नगरेको भन्दै ओलीसँग रिसाएका थिए।

पार्टी एकतापछि उपयुक्त जिम्मेवारी नदिइएको, शक्तिशाली विकास प्राधिकरण गठन गरेर आफूलाई जिम्मेवारी दिन गरेको आग्रहसमेत अस्वीकार गरेको, उपचुनावमार्फत चुनाव लड्न खोज्दा पनि ओलीकै कारण आफूलाई बद्नाम गर्न खोजिएको भन्दै ओलीसँग वामदेवले सम्बन्ध नै पार लगाउन खोजेका थिए।

गत पुसको पार्टी स्थायी समिति बैठकमै गौतमले ‘एक व्यक्ति एक पद’ को कुरा उठाएर ओलीलाई एक रोज्न चुनौती दिएका थिए। पार्टीमा उनले फरक दस्ताबेज नै लेखेका थिए। सरकारले काम गर्न नसकेको आरोप पनि लगाए। त्यसपछि भने ओली र गौतमको सम्बन्धमा निकै चिसोपना छाएको थियो। गौतम पार्टीका अर्का अध्यक्ष प्रचण्ड, माधव नेपाललगायत नेताहरूसँगको हिमचिममा जोडिए।

प्रचण्ड, माधव नेपाल र गौतमका बीचमा छुट्टै गोप्य सहमतिसमेत भएको चर्चा नेकपाभित्र चल्यो। त्यसपछि भने ओलीले वामदेवलाई फेरि फकाउन थालेका थिए। ओलीले गौतमको पछिल्लो जन्मदिनमा बालुवाटारमा बोलाएर ‘केक’ काटेर सरप्राइज दिएनन् मात्रै, त्यसपछि नियमित बालुवाटारमा निम्त्याएर डिनरसमेत गराउँदै आएका छन्। उपचुनाव लड्न खोज्दा बद्नाम गराउन खोजेका गौतमलाई ओलीले कास्कीको उपचुनावमा लड्ने भए पार्टीले जिताउने गरी उम्मेदवार बनाउने प्रस्तावसमेत गरिसकेका छन्।

मिल्दो–जुल्दो स्वभाव

कम्युनिस्ट आन्दोलनभित्र मात्रै होइन, नेपालको राजनीतिमासमेत यी दुई पात्र चर्चित छन् । दुवैका स्वभाव र शैली मिल्दाजुल्दा देखिन्छन् । ओली र गौतम दुवै ‘हक्की’ स्वभावका छन् । दुवैले आफ्ना कुरा खुलस्त मात्रै राख्दैनन्, परेका बेला तत्कालै ‘बोल्ड डिसिजन’ गर्न पनि हिच्किचाउँदैनन् ।

कुनैबेला मदन भण्डारीले भन्नेगर्थे, –‘पार्टीको नेतृत्वमा वामदेव नभए पार्टी लुलो हुन्छ, मुख्य जिम्मेवारी नै बामदेवलाई दिए पार्टी धुलो हुन्छ ।’ सायद त्यही भएर पनि होला, पाखा लगाइएका गौतमलाई फेरि ओलीले रोजेका छन् । मदनले भनेजस्तै ओलीका लागि गौतम अहिले आवश्यकता बनेका छन् ।  

ओलीका छोराछोरी छैनन् । गौतमका २ छोरी र १ छोरा छन् । दुवैले खासै धेरै पढेका छैनन । दुवैले एसएसली सरहको शिक्षा मात्रै प्राप्त गरेका छन्।

यी दुई नेताका विगत एकैठाँउ बसेर सँगै रक्सी खानेदेखि सँगै रुनेसम्मको छ । गौतमले एक अन्र्तवार्ताका क्रममा ओलीसँगको सम्बन्धलाई पारिवारिक सम्बन्धकै रुपमा अथ्र्याउँदै भनेका थिए – ‘केपीसँग त पारिवारिक जस्तो सम्बन्ध भयो । एउटै परिवारको भइयो । एउटै परिवार भएपनि जोडकोणमा केही–केही फरक परिहाल्छ । केपीसँगको सम्बन्ध त्यस्तै हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.